• बुधबार, १२ बैशाख, २०८१
  • २३:५६:२५
  • नेपालीको अभिमत

फिचर

फेरिंदो बागमती किनार : कतै पार्क, कतै व्यायाम स्थल

इन्द्रसरा खड्का

मंगलबार, १४ असार, २०७९

“नझुक्किनुहोला यो विदेश हो कि भनेर । बागमती नदीको किनारमा पार्कसँगै यस्ता निःशुल्क शारीरिक अभ्यास गर्ने ठाउँ पनि छन् । तपाईं हामी सबै इमान्दारीपूर्वक लाग्यौं भने नेपाललाई पर्यटनको पहिलो रोजाइको देश बनाउन सकिन्छ,” आइतबार बागमती सरसफाइ महाअभियानकी अभियन्ता लक्ष्मी पौडेलले फोटो सहित फेसबुकमा स्टाटस राख्नुभयो । उहाँले राख्नुभएको उक्त फोटो काठमाडौंस्थित तिनकुनेको पुल नजिकै रहेको बागमती किनारमा बनाइएको व्यायम स्थलको हो ।

तिनकुनेको भीएस निकेतन स्कूलको वारिपट्टी बागमती किनारमा आजभन्दा केही वर्ष पहिले फोहोरको थुप्रो थियो । त्यहाँ आवत–जावत गर्नेलाई नाक थुनेर हिंड्नुपर्थ्यो । बाटोमा हिंड्नेलाई मात्र होइन, बागमती किनारको छेउमा व्यवसाय गरेर बस्नेहरूलाई पनि उत्तिकै समस्या थियो । बाटो हिलैहिलो, नदी उस्तै फोहोर ! बागमती र विष्णुमती नदीका किनारका अधिकांश भागमा यस्तै थियो । फोहोरको डंगुर, वर्षमा हिलैहिलो, हिउँदमा धुलैधुलो । तर, अहिले ती ठाउँ चिल्ला सडक मात्र होइन; मनोरञ्जन र शारीरिक व्यायाम गर्ने स्थल बनेका छन् ।

काठमाडौं उपत्यकामा विनाश मात्र होइन, विकासका काम पनि भइरहेका छन् । यसको उदाहरणको लागि बागमती नदीको किनारलाई मान्न सकिन्छ । केही वर्षअघिसम्म फोहोरको थुप्रो, झाडीले ढाकेको गन्हाउने किनाराहरू विस्तारै सफा मात्र होइन, हरियाली पार्क बन्न थालेका छन् ।

काठमाडौं उपत्यकामा विनाश मात्र होइन, विकासका काम पनि भइरहेका छन् । यसको उदाहरणको लागि बागमती नदीको किनारलाई मान्न सकिन्छ । केही वर्षअघिसम्म फोहोरको थुप्रो, झाडीले ढाकेको गन्हाउने किनाराहरू विस्तारै सफा मात्र होइन, हरियाली पार्क बन्न थालेका छन् ।

छेउमा पिपलको रुखसहितको ठूलो चौतारी, नजिकै शारीरिक अभ्यास गर्ने ठाउँ अनि सँगै छ पानीको ट्यांकी पनि । यो दृश्य तिनकुनेस्थित बागमती किनारमा रहेको आलोकनगर पार्कको हो । यो पार्क काठमाडौं क्षेत्र नम्बर १, सांसद विकास कोषको आर्थिक वर्ष २०७६/७७ को बजेटबाट आलोकनगर मन्दिर व्यवस्थापन समितिले निर्माण गरेको हो । आइतबार दिउँसो त्यहाँ पुग्दा पिपलको रुखको छहारीमा मानिसहरू बसिरहेका थिए । शारीरिक व्यायाम गर्ने ठाउँ भने बन्द थियो । व्यायाम स्थल साँझ र बिहान मात्र खुल्ने रहेछ ।

कोटेश्वरका मनोज खड्गी हरेक बिहान ‘वाक’मा निस्कनुहुन्छ । कहिले जडिबुटी हुँदै लोकन्थली पुगेर फर्कने र कहिले तिनकुने हुँदै बानेश्वर पुगेर फर्कने उहाँ हिजोआज तिनकुनेको बाटो प्रयोग गर्नुहुन्छ र फर्कंदा यस व्यायाम स्थलमा छिर्नुुहुन्छ । पहिले जिमखाना जाने उहाँलाई अहिले जिमखाना धाउनुपर्ने बाध्यताबाट छुटकारा मिलेको छ । “पैसा पनि नलाग्ने, व्यायाम पनि गर्न पाइने । वरिपरि रुख भएकाले स्वच्छ हावा पनि खान मिल्ने, राम्रो छ यो ठाउँ । तर, क्षेत्रफल अलि सानो भएकाले धेरै मान्छे भएको समयमा पालो पाउन मुश्किल हुन्छ,” मनोज भन्नुहुन्छ ।

तिनकुनेका विक्रम खत्रीको पनि बिहान उठेर दौडने ठाउँ यही हो । उहाँ हरेक बिहान बागमतीको किनारै किनार शंखमुल पुगेर फर्कनुहुन्छ ।

‘मर्निङ वाक’ गर्नेहरूलाई मात्र होइन, आजभोलि यो ठाउँ व्यापार गर्नेहरूलार्ई पनि उत्तिकै लाभप्रद छ । पहिले फोहोरको थुप्रो हुन्थ्यो, दुर्गन्धले गर्दा मान्छे आउनै गाह्रो मान्थे । तर आजभोलि भने बिहान र साँझमा भिड नै लाग्छ । स्थानीय रमेश श्रेष्ठ भन्नुहुन्छ, “बागमतीको किनारमा अहिले ठूलठूला रुख छन् । पार्क पनि छ । त्यसैले दिउँसो छहारीमा बस्न र साँझतिर हावा खान आउने मान्छेको लर्को लाग्छ ।”

नदी किनारमा पार्क बनेर सफा भएजस्तै वर्षायामको समय भएकोले नदी पनि यतिखेर दुर्गन्धरहित छ । हिउँदमा भुइँमै बिलाउने गरी कालो गन्हाउने पानी बग्ने बागमती र विष्णुमती यतिवेला भने किनारासँग पौंठेजोरी खेल्दै बगिरहेका छन् ।

एकताका हिउँदमा पनि सङ्लो पानी बग्ने उपत्यकाका यी नदीहरू शहरीकरणसँगै गन्हाउने ढलमा परिणत भएका हुन् । घर–घरको भान्छाबाट निस्कने फोहोर पानी र शौचालय नदीमा मिसिन थाले । मान्छेको चाप बढेसँगै घरको अरू फोहोर समेत नदीमै फालिंदा नदीको पानीलाई बग्नै गाह्रो हुनेगरी फोहोरले रोक्न थाल्यो ।

बागमती र विष्णुमती लगायत उपत्यकाका नदीहरू अति नै फोहोर भएपछि सफाइको कुरा चल्यो । २०७५ जेठ ५ मा बागमती सफाइ महाअभियान नै चल्यो । पछिल्लो समय नदी सफा राख्नुपर्छ भन्नेतर्फ जनचासो पनि बढ्दै गएको छ । आशा गरौं, उपत्यकाका नदीहरू प्राकृतिक स्वरुपमै फर्किउन्, कलकल कञ्चन पानी नदीमा बहोस् ।

एकताका केशव स्थापितले भनेजस्तै नदीमा माछा पाल्न नसके पनि पछिल्लो समय नदी–किनारा भने परिवर्तन भएका छन् । ठाउँ–ठाउँमा पार्क निर्माण भइरहेका छन् ।

एकताका केशव स्थापितले बागमतीलाई सफा बनाएर माछा पाल्ने र किनारामा पार्क बनाएर पर्यटन प्रवर्द्धन गर्ने काठमाडौंवासीलाई सपना देखाउनुभएको थियो । उहाँले भनेजस्तै नदीमा माछा पाल्न नसके पनि पछिल्लो समय नदी–किनारा भने परिवर्तन भएका छन् । ठाउँ–ठाउँमा पार्क निर्माण भइरहेका छन् ।

शंखमुलमा रहेको च्यासल खेलमैदान नजिक सुन्दर हरियाली पार्क छ । हरिया बोटविरुवा, विभिन्न थरिका फूलले उक्त ठाउँ निकै मनोमोहक देखिन्छ ।

पहिले झाडी र फोहोरले ढाकेको यस ठाउँमा पार्क निर्माण भएपछि बिहान र साँझ योगा, ध्यान गर्नेहरूको भिड लाग्छ भने दिउँसो पनि मान्छेहरूको चहलपहल निकै देखिन्छ ।

शंखमुल पार्कको पारिपट्टि एनआरएनएले निर्माण गरेको अर्को पार्क पनि उत्तिकै सुन्दर छ । शंखमुलदेखि तिनकुनेको आलोकनगरसम्म मात्र थुप्रै पार्क निर्माण भएका छन् । ती पार्कभित्र आँप, आरुदेखि लिएर विभिन्न फलफूलका बोटबिरुवा छन् । गोकर्णदेखि तिलगंगा क्षेत्रमा पनि उत्तिकै पार्कहरू निर्माण भइरहेका छन् ।

बागमती सरसफाइ महाअभियानकी अभियन्ता डा. लक्ष्मी पौडेल अहिले बागमतीले रंग फेरिरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिले बागमती नदीका यी किनारामा हिंड्न समेत सकिंदैन्थ्यो । विद्यालयदेखि होटेलहरू प्नि बन्द भइसकेका थिए । यतिसम्म कि नदी गन्हाएकै कारण धेरै स्थानीयले जग्गा समेत छोडेर गए । तर अहिले यही ठाउँमा मान्छेको भिड लाग्छ ।”

सफाइको ४ सय ७६औं हप्तामा छौं
किशोर सिंह शाह
अभियन्ता, अधिकार सम्पन्न बागमती सफाइ अभियान

बागमती, विष्णुमती लगायतका नदीको सफाइ गर्दै आइरहेको अधिकार सम्पन्न बागमती सफाइ महाअभियानले नदीको सरसफाइ गर्दै आएको जेठ ५ गते ९ वर्ष पुगेको छ । काठमाडौं महानगर लगायत विभिन्न संघसंस्था आबद्ध यो महाअभियानका अभियन्ताहरूले हरेक हप्ताको शनिबार बागमती नदीको सफाइ गर्ने गर्दछन् । ‘हप्ताको दुई घण्टा राष्ट्रको नाममा’ भन्दै प्रत्येक शनिबार बिहान सफाइ गर्ने गरिएको छ । 

यो अभियानका अभियन्ताहरूले सरसफाइसँगै अतिक्रमण भएका सरकारी जग्गामा पार्क निर्माण गर्नेदेखि लिएर स्थानीयलाई जनचेतना जगाउने काम पनि गरिरहेका छन् । सरकारीदेखि गैह्रसरकारी संघसंस्थाका व्यक्ति आबद्ध यो अभियानले अहिलेसम्म बागमती नदीभित्रबाट निकालेर २० हजार मेट्रिक टन फोहोर व्यवस्थापन गरिसकेको छ । यसको अलावा बागमती किनारमा बोटबिरुवा रोप्ने, पार्क निर्माण गर्ने काम पनि गरिरहेको छ ।

बागमती किनारमा एनआरएनएले पनि ठाउँ–ठाउँमा पार्कहरू निर्माण गरी बागमतीलाई स्वच्छ बनाएको छ । अहिलेसम्म बागमती किनारका २५ भन्दा बढी ठाउँमा पार्क निर्माण भएका छन् ।

बागमती किनारमा एनआरएनएले पनि ठाउँठाउँमा पार्कहरू निर्माण गरी बागमतीलाई स्वच्छ बनाएको छ । अहिलेसम्म बागमती किनारका २५ भन्दा बढी ठाउँमा पार्क निर्माण भएका छन् । त्यस्तै; मनोहरा नदीको किनार र बागमती नदी किनारको एक ठाउँमा गरी दुई ठाउँमा निःशुल्क रूपमा शारीरिक अभ्यास गर्न मिल्ने ठाउँ निर्माण गरिएका छन् । यो अभियानको उद्देश्य नदीको पानीलाई पहिलेको जस्तो सफा बनाउने, नदीका किनारामा रुख रोपी हरियाली बनाउने तथा फोहोर हुन नदिने हो । यसका लागि सरकार र हरेक जन उत्तिकै जिम्मेवार हुनुपर्ने देखिन्छ । अहिले हामीले सफाइसँगै फोहोरको व्यवस्थान कसरी गर्ने भन्नेबारे नागरिकलाई सम्झाइरहेका छौं । अतिक्रमण भएका ठाउँलाई पनि फर्काउने काम गरिरहेका छौं ।

इन्द्रसरा खड्का

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

मंगलबार, १४ असार, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved