• शनिबार, ८ बैशाख, २०८१
  • ०२:१७:२८
  • नेपालीको अभिमत

खेतीकिसानी

प्रदेश-१ लाई चिया विशेष क्षेत्र घोषणा गर्न माग

नेपालमत

सोमबार, १३ असार, २०७९

झापा- प्रदेश नं १ लाई चिया विशेष क्षेत्र घोषणा गर्न सरोकारवालाहरुले माग गरेका छन् । 

आज बिर्तामोडमा चिया उत्पादक, चिया किसान, ट्रेड युनियन तथा चिया श्रमिक र चिया विकास बोर्डका प्रतिनिधि सम्मिलित संवाद समूहले आयोजना गरेको कार्यक्रममा चिया क्षेत्रका विषयगत समस्याबारे छलफल गर्दै समस्याको दिगो समाधान गर्न सबै पक्ष मिलेर सामूहिकरूपमा अघि बढ्ने प्रतिबद्धता जनाइएको छ ।

विदेशी मुद्रासमेत आर्जन गर्ने प्रदेश १ कै मुख्य नगदे बालीका रूपमा रहेको चिया क्षेत्रका समस्याहरुप्रति सबै सरोकारवाला गम्भीर भएको जनाएका छन् ।

नेपाल ट्रेड युनियन महासङ्घ प्रदेश १ का उपाध्यक्ष सन्तकुमार राईले प्रदेश १ लाई चिया विशेष क्षेत्र घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले वार्षिक रु चार अर्बभन्दा बढीको नेपाली चिया विश्व बजारमा निर्यात हुँदै आए पनि सरकारको प्राथमिकतामा चिया क्षेत्र पर्न नसकेको गुनासो गर्नुभयो ।

नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष सुरेशकुमार मित्तलले विदेशी मुद्रा भित्र्याउने चिया क्षेत्रलाई प्राथमिकतामा राखेर सरकारले विशेष सुविधा दिनुपर्नेमा यसअघि दिइएका अनुदान पनि कटौती हुदै जानु दुःखद भएको बताउनुभयो ।

ट्रेड युनियन तथा चिया मजदुर नेताहरुले चिया क्षेत्रमा श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागू नहुँदा श्रमिकको अवस्था दयनीय भएको उहाँको भनाइ छ । चिया क्षेत्र बचाउन चिया उद्योगी र किसानलाई सहयोग गर्न आफूहरु तयार रहेको प्रतिबद्धता जनाउँदै ट्रेड युनियन तथा चिया मजदुर नेताहरुले उद्योगीका प्रतिनिधिसमक्ष श्रमिकले पेटभर खाएर काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन् । 

चिया तथा कफी विकास बोर्ड मातहतका बगानमा आगामी आर्थिक वर्षदेखि श्रम ऐन र सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्ने राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय झापाका निमित्त प्रमुख सुमन त्रिखत्रीले बोर्डका तर्फबाट प्रतिबद्धता जनाउनुभएको छ । उहाँले सरकारले  बोर्डअन्तर्गत सातवटा बगान सञ्चालनमा रहेको जानकारी दिनुभयो ।

चिया क्षेत्रको समग्र समस्याको दिगो समाधानका लागि मन्त्रीसहितको सहभागितामा बृहत् छलफल गर्ने र उक्त कार्यका लागि चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडले आवश्यक समन्वय र सहजीकरण गर्ने सरोकारवालाबीच सहमति भएको छ ।

छलफलमा नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष मित्तल, कोषाध्यक्ष विनयराज पोखरेल, साना किसान चिया उत्पादक सहकारीका हर्कबहादुर तामाङ, अखिल नेपाल ट्रेड युनियन महासङ्घ प्रदेश १ का इञ्चार्ज भुपाल सापकोटा, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष यज्ञप्रताप अधिकारी, नेपाल चिया बगान श्रमिक सङ्घका अध्यक्ष दीपक तामाङ, अखिल नेपाल चिया मजदुर सङ्घका अध्यक्ष सीता सापकोटालगायतले आफ्ना धारणा राख्नुभएको थियो । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved