• शनिबार, ८ बैशाख, २०८१
  • १६:३९:२२
  • नेपालीको अभिमत

खेतीकिसानी

व्यावसायिक अकबरे खुर्सानीबाट ६ करोड ५० लाख आम्दानी

नेपालमत

सोमबार, १३ असार, २०७९

भोजपुर– व्यावसायिक अकबरे (डल्ले) खुर्सानी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ । बजारमा माग राम्रो भए पनि खुर्सानी खेतीमा कृषकको आकर्षण बढेको हो ।
    
भोजपुर नगरपालिकाको बोखिम, दावाँ, भैँसीपङ्खा, पोखरे र रामप्रसाद राई गाउँपालिकाको दलगाउँ, भुल्के, टेम्केमैयुङ गाउँपालिकाको, खावा, कोट, गोगने लेखर्क, अन्नपूर्ण नागीलगायत ठाउँमा खुर्सानीको खेती हुने गरेको छ । 

त्यस्तै षडानन्द नगरपालिका, अरुण, हतुवागढी, आमचोक, साल्पासिलिछो गाउँपालिकाको विभिन्न ठाउँमा पनि खुर्सानीको खेती हुने गरेको छ । 

७१९ हेक्टर जमिन खुर्सानीको उत्पादनशील क्षेत्र रहेको कृषि ज्ञानकेन्द्र भोजपुरले जनाएको छ । अहिले ५९० हेक्टर क्षेत्रमा यसको खेती भइरहेको केन्द्रको भनाइ छ । विशेष गरेर जिल्लाको पौवादुङमा गाउँपालिकाले यसको पकेट क्षेत्र निर्धारण गरेर कृषकलाई यसको खेतीमा प्रोत्साहन गरेको छ ।

गएको याममा गाउँपालिकामा खुर्सानी बिक्रीबाट रु छ करोड ५० लाख बढी रकम भित्रिएको गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले बताउनुभयो । 

गत वर्ष तीन रोपनीमा खेती हुँदै आएकामा त्यसमा वृद्धि भएर अहिले चार हजार पाँच रोपनी क्षेत्रमा अकबरे खुर्सानीको खेती भइरहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । खुर्सानी खेती गर्न इच्छुक कृषकलाई गाउँपालिकाले अनुदानसँगै प्राविधिक सहयोगसमेत गर्दै आएको छ ।

गाउँपालिकामा गएको याममा तीन लाख ५० हजार किलोग्रामको हाराहारीमा खुर्सानी उत्पादन भएको गाउँपालिकाको भनाइ छ । खेतीमा विस्तार भएकाले यस वर्ष उत्पादनमा अझ वृद्धि हुने गाउँपालिका शाखा प्रमुख राईले जानकारी दिनुभयो ।

गाउँपालिकाभित्रका १५० जना बढी कृषकले यसको व्यावसायिक खेती गर्दै आएका छन् । आलो खुर्सानी उत्पादनको सुरुको चरणमा रु ३५० देखि ४०० सम्म र धेरै उत्पादन भएपछि रु १५० देखि २५० सम्ममा बिक्री हुने स्थानीय कृषकको भनाइ छ । 

किसानले उत्पादन गरेको खुर्सानी ठेकेदारले घरमा नै आएर लैजाने गरेका छन् । यहाँको खुर्सानी, धरान, विराटनगर, झापा, काठमाडौँलगायत ठाउँमा निर्यात हुने गरेको छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved