• शुक्रबार, १४ बैशाख, २०८१
  • ०४:२५:३२
  • नेपालीको अभिमत

फिचर

देशैभरि वर्षा हुँदा सुदूरपश्चिममा किन भएन ?

इन्द्रसरा खड्का

सोमबार, १३ असार, २०७९

छामको मेल्लेख गाउँपालिकाका वीरबहादुर खड्काका आँखा हिजोआज आकाशतिरै बढी केन्द्रित छन् । कालो बादल लाग्दा मनमा आशा पलाउँछ, बादल केही बेरमै हराएर जान्छ अनि फेरि मनमा निराशा छाउँछ । जेठमै रोपाइँ भइसक्नुपर्ने खेतमा असारको आधाआधीसम्म पनि हुन नसक्दा उहाँलाई निकै पीर परेको छ । “कहिले सिमसिम पानी पर्छ उत्तिखेरै रोकिन्छ । कहिले मुसलधारे पानी पर्छ, एकैछिन खोलामा बाढी आउँछ, भोलिपल्ट त्यो पानी सुक्छ । पर्याप्त पानी नहुँदा खेत रोप्नै पाइएन । अब त बीउ पनि सुक्छ कि भन्ने पीर परिसक्यो,” उहाँ भन्नुहुन्छ ।

वीरबहादुरका रोपाइँ गर्नुपर्ने चार वटा खेत छन् । अहिलेसम्म बल्लतल्ल एउटामा सकियो । “हरेक दिन खोलामै बास हुन्छ । पानी पर्ला र रोपाइँ गरौंला भन्दै कुरेर रातिसम्मै बसे पनि त्यत्तिकै फर्कनुपर्छ,” उहाँ दुखेसो पोख्नुहुन्छ । 

अछाम जिल्लामा अहिलेसम्म २० प्रतिशत मात्र रोपाइँ सकिएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख छपेन्द्र शर्मा समयमै पानी नपर्दा किसानले रोपाइँ गर्न नपाएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “रोपाइँ गर्न नसक्नुको समस्या त थियो नै, उम्रेका अरू बाली पनि सुक्ने अवस्थामा पुगिसकेका छन् ।”

वीरबहादुरको जस्तै पीर बाजुराको बुढीगंगा–५ की विस्ना थापालाई पनि छ । भएका दुई खेतको रोपाइँ गर्न पाउनुभएको छैन । “समयमा पानी नपर्दा सिमखोलामा पानी बढेन । खोलामा पानी नबढ्दा रोपाइँ हुन सकेन । पहिले–पहिले असारको पहिलो साता रोपाइँ सकिइसक्थ्यो । अहिले असारको दोस्रो साता सकिनलाग्दासम्म पनि पानी परेको छैन । अब त बीउ नै सुक्ने अवस्था पुगिसक्यो,” विस्नाले भन्नुभयो । 

पश्चिम पहाडका आकाशमा दिनहुँजसो कालो बादल आउँछ । कहिले अलि–अलि पानी परेर हराउँछ भने कहिले यत्तिकै हराउँछ । मध्य वर्षासम्म पनि पानी नपरेपछि वीरबहादुर जस्ता किसानका दिन आकाशमै हेरेर बित्ने गरेका छन् ।

सुदूर पहाडका वीरबहादुर र विस्ना जस्ता हजारौं किसानलाई पानी नपर्दा अहिले यही पीर परेको छ । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा मेशिनबाट पानी तानेर रोपाइँ गर्ने सुविधा भए पनि पहाडी भेगमा यो सुविधा छैन । खेती लगाउने समयमा पानी नपर्दा यसको असर उत्पादनमा देखिनेछ । अछामका पत्रकार शिवराज ढुंगाना पानी नपर्दा किसानले रोपाइँ गर्न नपाएको र यसको असर अर्थ व्यवस्थामा गएर ठोक्किने बताउनुहुन्छ ।

पानी पर्दैन, सबैलाई खेत रोप्न हतार छ । किसानहरू पानीको जोहो गर्न दिन, रात खोलामा बस्छन् । खोलामा बगेको पानी बुझबाझ गरेर कुलोमा झार्छन् । त्यही पानी अरूले प्रयोग गरिदिंदा एक–आपसमा झगडा पर्छ ।

मनसुन शुरू हुनुअघि प्रि–मनसुनको वेला नेपालमा लगातार पानी पर्‍यो । वेलैमा पानी पर्दा सुदूरपश्चिमका किसानले हतार–हतार धानको बीउ राखे । तर, जब रोपाइँ गर्ने वेला भयो पानी पर्न रोकियो । अहिले पानी नभएर रोपाइँ गर्न पाएका छैनन् । सिंचाइको सुविधा भएका ठाउँमा रोपाइँ भए पनि आकाशे पानीको भर पर्नुपर्ने अधिकांश भागमा हुन सकेको छैन ।

अछाम र बाजुरामा जस्तै बैतडीमा पनि पानी नपर्दा रोपाइँ हुन नसकेको बैतडीका पत्रकार भगीरथ अवस्थीले बताउनुभयो । सिंचाइको सुविधा भएको पाटन क्षेत्रमा रोपाइँ भए पनि अन्य भागमा हुन नसकेको उहाँ बताउनुहुन्छ । यस्तै समस्या बझाङ, दार्चुला लगायतका जिल्लामा पनि छ ।

पानीकै कारण कलह

पानी पर्दैन, सबैलाई खेत रोप्न हतार छ । किसानहरू पानीको जोहो गर्न दिन, रात खोलामा बस्छन् । खोलामा बगेको पानी बुझबाझ गरेर कुलोमा झार्छन् । त्यही पानी अरूले प्रयोग गरिदिंदा एक–आपसमा झगडा पर्छ । सार्वजनिक कुलोको पानी सबैले चलाउन पाउनुपर्ने भन्दै दिनहुँ गाउँमा कलह बढ्ने गरेको स्थानीयको भनाइ छ ।

“रोपाइँ गर्न सबैको बाँकी छ । खोलामा बगेको थोरै पानीले एकैचोटि रोपाइँ गर्न पुग्दैन । अनि सबैले हतार गर्दा पानीकै लागि झगडा पर्छ,” अछामकै अर्का किसान रंगबहादुर साउदले भन्नुभयो । नेपालमा मनसुन भित्रिएको २० दिन भइसक्दा पनि देशको पश्चिमी भागमा अझै पर्याप्त पानी परेको छैन । जसका कारण बर्खे बाली प्रभावित हुन थालेको छ ।

डोटीमा रहेको मौसम फिल्ड कार्यालय दिपायलका मौसम विज्ञान सहायक सन्तोष भट्टराईले गएको वर्ष यो समयमा ठूलो वर्षा हुन थालिसकेको भए पनि यसपटक अझै पानी नपरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “कहिलेकाहीं सिमसिम पानी परे पनि ठूलो वर्षा अहिलेसम्म भएको छैन । गएको वर्ष असार १ गते ४४.२ मिलिमिटर वर्षा भएको थियो तर अहिले असार १२ सम्म पनि वर्षा भएको छैन ।”

पश्चिमी वायुले मनसुनलाई गण्डकीमै रोक्यो
प्रतिभा मानन्धर, वरिष्ठ मौसमविद्

नेपालमा मनसुन भित्रिने आधिकारिक मिति जुन १३ हो । यो पटक जुन ५ मा भित्रियो । उक्त मनसुन गण्डकी प्रदेशमा आइसकेपछि पश्चिमतिरका तीन प्रदेशमा पश्चिमी वायु हावी भयो । जसका कारण मनसुन सुदूरपश्चिमतिर जान सकेन । अबको एक/दुई दिनमा त्यहाँ मनसुन पुग्ने सम्भावना छ ।

कुनै पनि वर्षको मनसुन अर्को वर्षको मनसुनसँग मेल खाँदैन । कुनै वर्षको मनसुन पूर्वबाट भित्रिएर पूर्वमै पानी नपरेको विगत छ भने कुनै वर्ष आज पूर्वबाट भित्रिएर पर्सि पश्चिम पुगेको अवस्था पनि छ । यो हावाको गति, वेग कस्तो छ भन्ने कुरामा पनि भर पर्छ ।

गण्डकी प्रदेशसम्म पुगेको मनसुनलाई सुदूरपश्चिमको पश्चिमी वायुले उता जान दिएन । त्यही भएर त्यता पानी नपरेको हो । अबको केही दिनमै त्यो हावा माथि सरेर बिस्तारै हट्दै जान्छ ।

अहिले मनसुनभन्दा सक्रिय पश्चिमी वायु रहेकोले मनसुन पश्चिम पुग्न नसकेको हो । सुदूरपश्चिममा कहिलेकाहीं परेको पानी पनि यसैको प्रभावले हो । अब यो हप्ताबाट मनसुन सुदूरपश्चिम पुग्छ । पानी नपरेर रोपाइँ कुरिरहेकाहरूले यो हप्ताको शुरूआतीबाट रोपाइँ गर्न पाउनुहुन्छ । पश्चिमी वायु भनेको जाडो महिनामा सक्रिय हुने वायु हो । मनसुनको वेला पूर्वबाट पश्चिमतर्फ हावा बहन्छ भने मनसुनभन्दा अरू समयमा पश्चिमबाट पूर्वतर्फ बहने हुन्छ । मनसुनी वायुको प्रभाव नभएमा मनसुनी सिजनमा पनि पश्चिमबाट हावा बहन्छ किनभने पृथ्वीको जुन गोलाइ छ त्यसबाट हाम्रो देशको भागमा पश्चिमबाट हावा बहने हुन्छ ।

नेपालभन्दा अलिमाथि चीनतिर पश्चिमको हावा सरिसकेपछि मात्रै मनसुनी वायु स्थापित हुन सक्छ । गण्डकी प्रदेशसम्म पुगेको मनसुनलाई सुदूरपश्चिमको पश्चिमी वायुले उता जान दिएन । त्यही भएर त्यता पानी नपरेको हो । अबको केही दिनमै त्यो हावा माथि सरेर बिस्तारै हट्दै जान्छ ।

इन्द्रसरा खड्का

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

सोमबार, १३ असार, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved