ललितपुर, ग्वार्कोकी लक्ष्मी कोजुलाई पानी पर्दा स्कुटी चलाउन डर लाग्छ । गएको वर्ष आँखै अगाडि मोटरसाइलसहित चालक ढलमा पसेको देख्नुभएकी उहाँलाई पानी परेर सडक जलमग्न हुनेबित्तिकै त्यही घटना याद आउँछ । लक्ष्मीको माइतीघर भक्तपुरको सूर्यविनायक हो । माइतीको रोपाइँका लागि उहाँ ग्वार्कोबाट भक्तपुर जाँदै गर्दा उक्त दर्दनाक घटना देख्नुभएको हो ।
भक्तपुर जाने क्रममा कौशलटार पुगेपछि ठूलो पानी पर्यो । स्कुटर चलाउनै नसकिने गरी पानी परेपछि उहाँ त्यहीं रोकिनुभयो । एक घण्टामा पानी रोकिएपछि उहाँ अगाडि बढ्नुभयो तर सूर्यविनायकको बीच सडकमा ठूलो खोला बगिरहेको थियो । गाडी चलाउनै नसकिने अवस्था रहेकोले अरू मानिस जस्तै उहाँ पनि सडक किनारामै रोकिनुभयो ।
त्यतिवेलै एक जनाले उक्त भेलमा मोटरसाइकल लैजानुभयो तर उहाँ मोटरसाइकलसहित ढलमा पस्नुभयो । दुःखको कुरा; आँखै अगाडि ढलमा पसेको उक्त व्यक्तिलाई उद्धार गर्न सक्ने अवस्था समेत भएन । उहाँ त्यहीं वेपत्ता हुनुभयो । यो दुःखद घटना सुनाउँदै लक्ष्मी भन्नुहुन्छ, “उपत्यकाका सडक निकै जोखिममा छन्, ठाउँ–ठाउँमा ठूलठूला भ्वाङ छन् । ढलको माथि न त ढकन लगाइएको हुन्छ न त लगाइएका ढकन पनि राम्रोसँग मिलेका छन् । मलाई त सडकमा अलिकति पानी हुनेबित्तिकै हिंड्न साह्रै डर लाग्छ ।”
काठमाडौं, कलंकीका प्रवेश महर्जनलाई पनि वर्षामा गाडी चलाउन जोखिम लाग्छ । उहाँ भन्नुहुन्छ, “सधैं हिंडेको बाटो भए कहाँनेर खाल्डो छ भन्ने थाहा हुन्छ तर कहिल्यै नहिंडेको बाटोमा भने कहाँ खाल्डो छ कहाँ छैन भनेर केही थाहै हुँदैन । म पनि दुई/तीन पटक यस्तै खाल्डोमा परेर लडेको छु ।”
प्रहरीको तथ्यांक अनुसार गत पाँच वर्षको अवधिमा सडकमा भएका खाल्डोमा परी १४ जनाको मृत्यु भएको छ । सडकका बीचको खाल्डोमा परेका ४८ जनामध्ये १४ जनाको ज्यान गएको हो ।
लक्ष्मी र प्रवेश जस्तै सास्ती उपत्यकामा सवारी चलाउने धेरैले भोग्नुपर्छ । सवारी हाँक्नेलाई मात्र होइन पैदल यात्रीलाई पनि उत्तिकै जोखिम छ । गत वर्ष काठमाडौंको कपनमा सडकमा हिंड्दै गरेका बालक चिप्लेर ढलमा खस्नुभयो । मुसलधारे पानी परिरहेको वेला ढलमा खस्नुभएको उहाँ वेपत्ता हुनुभयो । ६ दिनपछि ललितपुरको महाँकल गाउँपालिकास्थित बागमती नदीमा शव भेटियो । उपत्यकाका सडकमा ढलको राम्रो व्यवस्थापन नहुँदा बर्सेनि यसैगरी धेरैले ज्यान गुमाउनुपरेको छ ।
काठमाडौं उपत्यकामा बर्सेनि यस्ता घटना भइरहे पनि सम्बन्धित निकायको ध्यान गएको पाइँदैन । उसो त उपत्यकाका सडक व्यवस्थापनका लागि विभिन्न निकायले काम गरिरहेका छन् । ढल व्यवस्थापनका लागि पनि सरकारी तथा गैरसरकारी संस्था उत्तिकै छन् तर उनीहरूले एकअर्कालाई मात्र देखाउने गरेका छन् । खानेपानी तथा ढल व्यवस्थापन विभागका सूचना अधिकारी वीरेन्द्र कँडेल काठमाडौं महानगरमा बाहक भक्तपुर र ललितपुरमा ढल व्यवस्थापनको लागि विभागले काम गरिरहेको बताउनुहुन्छ । कँडेलका अनुसार काठमाडौं महानगरमा रहेको ढल व्यवस्थापनका लागि काठमाडौं महानगरपालिका, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र एकीकृत बागमती सभ्यता आयोजनाले काम गरिरहेका छन् । विभागले काम गरिरहेको भक्तपुर, ललितपुर र कीर्तिपुरमा पनि उत्तिकै चुनौती रहेको उहाँको भनाइ छ । ढल व्यवस्थापनका लागि जिम्मा पाएका सरकारी निकायसँग कुरा गर्दा एकले अर्काेलाई देखाउँदै पन्छन खाजेको पाइन्छ ।
इन्जिनियर सुवास मल्ल प्राविधिक हिसाबले हेर्दा उपत्यकाको सडक निकै जोखिमयुक्त रहेको बताउनुहुन्छ । सम्बन्धित निकायले विकास निर्माणका क्रममा गरेको लापरवाहीले सर्वसाधरणको ज्यान गइरहेको उहाँको भनाइ छ । “सडक निर्माण गर्दा, खानेपानीको पाइप, विद्युत्को तार बिच्छ्याउँदा ठूलठूला खाल्डा परेका हुन्छन् । ती काम त्यत्तिकै अधुरा छोड्दा सडक जलमग्न भएको वेला खाल्डो छ भनेर थाहा हुँदैन अनि मानिस त्यसैमा खस्छन् । जसका कारण नागरिकले अनाहकमा ज्यान गुमाउनुपरेको छ,” उहाँ भन्नुहुन्छ ।
काठमाडौं महानगरपालिकाका भौतिक पूर्वाधार विभाग प्रमुख रामबहादुर थापा महानगरले ढल व्यवस्थापनको लागि काम गरिरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “महानगरभित्रका सडकमा देखिएका खाल्डाखुल्डी पुर्न भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा आइसकेकाले सानातिना खाल्डा पुर्ने र ढल व्यवस्थापनको लागि हामीले छुट्टै काम गरिरहेका छौं ।” ढलमै परेर नागरिकले ज्यान गुमाउनु दुःखद भएको भन्दै उहाँ पानी परेको वेला यात्रा गर्दा सचेत हुनुपर्ने बताउनुहुन्छ ।
हामीले ढल निर्माण गर्दा ढलबाट खोलासम्म निर्वाध रूपले पानी जाने गरी मिलाएका हुँदैनौं । ढलको मुखमा तारजाली राखेका हुन्छौं । जहाँ फोहोर अड्किएर टालिएको हुन्छ अनि वर्षाको पानी ढलमा जान नपाएर सडकबाटै बग्छ ।
शहरी पूर्वाधार विज्ञ सूर्यराज आचार्य सडकमा ढल व्यवस्थापनले निम्त्याउने समस्यामा राज्य नै मुख्य जिम्मेवार रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “एउटा त हाम्रो प्रणालीकै समस्या छ । अर्को; जे–जति वर्षाको पानी निकास हुने संरचना छ त्यसको मर्मत–सम्भार भएको छैन । कतिपय ठाउँमा ढलको ढक्कन खुला राखिएका हुन्छन् अनि बाढी आयो भने मान्छेको ज्यानै समेत जाने घटनाहरू हरेक वर्ष भइरहेका छन् ।” निर्माणाधीन सडक वा ढकन नलगाइएका यस्ता ढलका मंगलमा संकेतसम्म राखिएको हुँदैन । ढल निर्माण गर्दा ढकन नलागाएर छोड्नु नै मुख्य समस्या रहेको विज्ञहरूको भनाइ छ ।
प्रहरीको तथ्यांक अनुसार गत पाँच वर्षको अवधिमा सडकमा भएका खाल्डोमा परी १४ जनाको मृत्यु भएको छ । सडकका बीचको खाल्डोमा परेका ४८ जनामध्ये १४ जनाको ज्यान गएको हो ।
प्रहरी प्रधान कार्यालय नक्सालका प्रवक्ता विष्णु कुमार केसी सडक क्षेत्रका विकास निर्माणका काम गर्दा सावधानी नअपनाउँदा धेरैको ज्यान जाने गरेको बताउनुहुन्छ । यो वर्ष पनि उपत्यकाका सडक उत्तिकै जोखिमपूर्ण रहेकाले पानी परिरहेको वेला यात्रा गर्दा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
ढल निर्माणको डिजाइनमै समस्या छ
सूर्यराज आचार्य, शहरी पूर्वाधार विज्ञ
उपत्यकामा वर्षाको पानी निकास गर्ने निकाय नै छैन । जसरी अहिलेको फोहोर पानीको ढलको निकास हुन्छ त्यस्तै वर्षाको पानीको निकास गर्न शहर अनुसारको सञ्जाल हुनुपर्ने हो । तर, हाम्रोमा सडकको छेउछाउ पेटीको तल वर्षाको पानी जाने ढल बनाउँछौं । उक्त ढलबाट खोलासम्म निर्वाध रूपले पानी जाने गरी मिलाएका हुँदैनौं । ढलको मुखमा तारजाली राखेका हुन्छौं । जहाँ फोहोर अड्किएर टालिएको हुन्छ अनि वर्षाको पानी ढलमा जान नपाएर सडकबाटै बग्छ । यसकारण हाम्रो ढल निर्माणको डिजाइनमै समस्या छ । हामीले डिजाइन प्रणालीमा ध्यान दिन सकेका छैनौं ।
अर्कोतर्फ; भएका यी नै संरचनामा पनि उचित मर्मत सम्भार हुन सकेको छैन । ढलबाट गएको पानी बीचमा अड्किएको फोहोरका कारण रोकिएको हुन्छ अनि फेरि बाटोमै निस्कन्छ । एक त ढल निर्माणको डिजाइनमै समस्या त्यसमाथि भएका संरचनामा पनि उचित मर्मत सम्भार नहुँदा समस्या बढेको हो । हरेक वर्ष वर्षा लाग्नु अगावै ढलको बीच–बीचमा अड्किएका फोहोर मात्रै निकाल्ने हो भने पनि धेरै हदसम्म समस्याको समाधान हुन्छ ।
त्यस्तै; कतिपय ठाउँमा मर्मत सम्भारका नाममा ढलको ढकन निकालेर खुला राखिएको हुन्छ अनि बाढी आएको वेला मान्छेको ज्यानै समेत जाने घटनाहरू बेर्सेनि भइरहेका छन् ।
प्रविधिको विकाससँगै विकसित देशहरूमा कस्तो चलन छ भने वर्षाको पानी ढलमा गएर त्यसलाई रिचार्ज गर्ने प्रविधिहरू छन् । तर, हाम्रोमा भने डिजाइन निर्माणदेखि लिएर त्यसको मर्मत–सम्भारमा ठूलो लापरवाही छ ।
हाम्रो एउटा समस्या के छ भने ढल निर्माण हुँदा कर्मचारी संयन्त्र तदारुकताका साथ लाग्छ तर मर्मत सम्भारमा कसैको ध्यान जाँदैन ।
विशेषगरी काठमाडौं उपत्यकाको कुरा गर्दा; यहाँ उच्च ठाउँमा बस्ती छ, ढल निर्माण गर्दा पानीले आफैं आफ्नो बाटो खोजेर जान सजिलो छ तर यहाँ त्यस्तो हुँदैन । कपनकै कुरा गर्ने हो भने त्यहाँ पानी बगेको हुँदैन जमेको हुन्छ । ढलचाहिं सडकमा नदी जस्तो बगेको हुन्छ । काठमाडौं जस्तो ठाउँमा डुबान र वर्षाको पानीको समस्या नै नहुनुपर्ने विषय हो ।
सडकको तल बनाउनुपर्ने पानी बग्ने संरचनाहरू बनेका छैनन् । यहाँ प्राविधिक लापरवाही छ । व्यवस्थित निकासमा ध्यान गएको पाइँदैन । शहरीकरणमा समस्या होइन तर जथाभावी शहरीकरण, पूर्वाधारविनाको शहरीकरण मूल समस्या हो ।
हाम्रो एउटा समस्या के छ भने ढल निर्माण हुँदा कर्मचारी संयन्त्र तदारुकताका साथ लाग्छ तर मर्मत सम्भारमा कसैको ध्यान जाँदैन । त्यस्तै एक निकाय र अर्को निकायबीच समन्वयको अभाव छ । यस सम्बन्धमा कानूनमै त्रुटि छ । कानूनले सबै निकायलाई अलग–अलग तरिकाले काम गर्ने व्यवस्था गरेको छ ।
यस्तै; अर्को कमजोरीका रूपमा हाम्रो महानगरका जनप्रतिनिधिहरू छन् । वडाध्यक्षहरू, मेयरले बाटो हिंड्दाखेरी देख्नुहुन्छ नि त्यो तर व्यवस्थापनको हिसाबले समाधान गर्ने काम गर्नुहुन्न । कर्मचारी, राज्य संयन्त्रदेखि राजनीतिक जनप्रतिनिधिहरूमा उदासीनता छ । यो पनि एउटा समस्या हो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य स्वच्छताका बारेमा उपभोक्ताले आफूले खानेकुराको स्तर (लेबल) हेर्न अति आवश्यक हुने स्वास्थ्य विज्ञ बताउँछन्। लेबल ख्याल नगरी कतिपय उपभोक्ताले...
बुटवल - बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा ६ अर्ब १८ करोड ७५ लाखको लगानीमा एक हजार दुई सय शय्याको नयाँ १० तले आधुनिक अस्पताल भवन बन्ने...
रामबाबु कार्की बिहानै उठेर आमाबुवालाई ब्युझाँउदा बाहिर सिरसिर बतास चलिरहेको थियो । पानी पर्ला जसरी आकाश अन्धकार देखिन्थ्यो । आमा दुर्गा कुमारी कार्कीलाई २०५९ साल जेठ २०...
वातावरण तथा पर्यावरणविद्हरुले मधेसमा पानीको सङ्कट गहिरिँदै गएकाले समयमै उचित व्यवस्थापनमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ। कदम नचालेमा मधेसमा पानीको सङ्कट आउनसक्ने चेतावनी दिनुभएको छ। जनकपुरधाममा जारी...
नेपालको एक मात्र घुमन्ते फिरन्ते समुदाय हो राउटे समुदाय । जङ्गलमा फिरन्ते जीवन बिताउँदै काठका कोशी मदुस बनाएर गाउँमा गएर अन्न पातसँग साटेर जीविका धान्ने...