• शनिबार, ८ बैशाख, २०८१
  • ०२:४८:३५
  • नेपालीको अभिमत

व्यक्ति-कथा

कान्छाराम : सडकमा धकेलिएको एउटा जीवन

इन्द्रसरा खड्का

मंगलबार, १० जेठ, २०७९

मैलो कमिज, ठाउँ–ठाउँमा च्यातिएको पाइन्ट, टाउकोमा कालो टोपी, एक हातमा लट्ठी तथा अर्को हातले बोरा च्याप्दै, बोतल टिप्दै हिंडिरहनुभएका एक वृद्ध, घरी सडक किनारमा थुपारिएको फोहोर छामछुम पार्नुहुन्छ, घरी सडक किनारका झार ओल्टाइपल्टाइ हेर्नुहुन्छ । पानी खाएर फालिएको बोतल पायो कि टिपेर बोरामा राख्नुहुन्छ । यो दृश्य आइतबारको हो ।

आइतबार दिउँसो १२ बजेतिर काठमाडौंको कोटेश्वर चोकबाट बोतल टिप्दै हिंड्नुभएका उहाँ सडकको किनारै किनार जडिबुटीतिर लाग्नुभयो । अनि त्यहाँबाट फर्केर तिनकुनेतिर जानुभयो । तीनकुनेस्थित सडकमा सामान बेच्दै आउनुभएका एक व्यापारीले ‘बाजे खानुस्’ भन्दै एउटा बिस्कुट हातमा थमाइदिनुभयो । उहाँ सडक किनारमा बोरा राख्दै बिस्कुट खानतिर लाग्नुभयो । वृद्धलाई पछ्याउँदै हिंडेको यो पंक्तिकारलाई ती वृद्धसँग कुरा गर्न मन लाग्यो ।

“बस्न त कहिले पुलमुनि, कहिले सडकको किनार जता पनि ढल्न सकिन्छ । तर, पेटभरि खान नपाउँदा भने निकै छटपटी हुन्छ ।”

उहाँको नाम रहेछ कान्छाराम तामाङ । घर काभ्रेको चौरी, उमेर ६५ वर्ष । चार वर्ष भएछ उहाँले यसरी सडकमा बोतल टिप्दै हिंडेको र सडककै बास भएको । चार वर्ष अघिसम्म मजाले गृहस्थी जीवन यापन गरिरहनुभएका उहाँलाई रहरले नभई बाध्यताले सडकमा पुर्‍याएको रहेछ ।

यसरी भयो सडकको बास

कान्छारामको एक छोरी, दुई छोरा र श्रीमतीसहितको परिवार थियो । उहाँ काठको काम गर्नुहुन्थ्यो । अहिले जस्तो प्रविधि भित्रिइसकेको थिएन । गाउँमा कसैको घर बनाउँदा वा कुनै भवन बनाउँदा सबैभन्दा पहिले उहाँलाई खबर हुन्थ्यो । उहाँसँगै काम गर्ने साथीहरूको समूह नै थियो । काम गरे वापत् पारिश्रमिक पनि राम्रै आउँथ्यो । घरपरिवार राम्रोसँग चलेको थियो ।

बिस्तारै प्रविधिको विकास हुँदै गयो । मान्छेले गर्नुभन्दा मेशिनबाट काम गर्दा सहज र छिटो काम हुन थालेपछि कान्छारामको काठ चिर्ने काम कम हुँदै गयो । यही बीचमा थाहा नपाएको रोगले थिचिएकी श्रीमतीको मृत्यु भयो । एक छोरा र एक छोरीको पनि मृत्यु भयो । बाँकी बचेको अर्को छोरा बिहे गरेर अलग भयो । 

कान्छारामसँग न श्रीमती, न छोराछोरी, न काम ! उहाँ एक्लिनुभयो । कुराकानीका क्रममा आँखाभरि आँसु पार्दै उहाँ भन्नुहुन्छ, “घरभरि परिवार भएको म आज कोही नभए जस्तो एक्लो छु । छ न त दाइभाइहरू पनि छन् । तर, आफूसँग शक्ति र कमाइ नभएपछि कोही आफ्नो नहुँदो रहेछ ।”

श्रीमतीको मृत्यु भइसकेपछि आजभन्दा १० वर्ष पहिले उहाँ काठमाडौं आउनुभयो । शुरूमा फूल बेच्ने काम गर्नुभयो । नर्सरीबाट फूल लिएर घर–घरमा बेच्न जाँदा काम राम्रै चलेको थियो । दिनभरि फूल बेच्दा कहिले दिनमै हजार त कहिले ६/७ सय रुपैयाँ हुन्थ्यो । जडिबुटीमा सानो कोठा लिएर बस्नुभएको थियो । “खान–बस्न पुगेकै थियो । तर, जब कोरोनाका कारण लकडाउन भयो । यसले मलाई सडकमा पुर्‍यायो,” कान्छाराम भन्नुहुन्छ ।

कोभिड–१९ नियन्त्रणका लागि सरकारले २०७६ चैतबाट देशव्यापी लकडाउन गर्‍यो । यसका कारण काम छुटेका कान्छारामलाई कोठाभाडा तिर्न र खानाको समस्या भयो । यसपछि शुरू भयो सडकमा बास । उहाँ भन्नुहुन्छ, “अरू काम केही पाइएन । पेटमा भोक लाग्थ्यो । यो काम कसैसँग माग्नु पनि नपर्ने, अनि यही शुरू गरें ।”

उहाँ दिनभरि जम्मा पारेका बोतल नजिकैको कवाडी खानामा लानुहुन्छ र किलोको १५ रुपैयाँका दरले बेच्नुहुन्छ । कहिले साँझ–बिहान खान पुग्ने गरी पैसा आउँछ, कहिले चाहिं हुँदैन । “बस्न त कहिले पुलमुनि, कहिले सडकको किनार जता पनि ढल्न सकिन्छ । तर, पेटभरि खान नपाउँदा भने निकै छटपटी हुन्छ,” कान्छाराम सडक जीवनको भोगाइ सुनाउनुहुन्छ ।

जेष्ठ नागरिकलाई दिने भत्ताको उमेर घटाउन माग

जेष्ठ नागरिकलाई दिइने भत्ता ७० वर्षबाट घटाएर ६० वर्ष पुर्‍याइयोस् भन्ने कान्छारामको माग छ । “सरकारले ७० वर्ष पुगेपछि मात्र वृद्धभत्ता दिन्छ तर मान्छेलाई ६० वर्षसम्म बाँच्नै धौ पर्छ । ६० वर्षमै वृद्धभत्ता दिने नियम भएको भए मलाई सडकमा भौंतारिनु पर्दैनथ्यो,” उहाँ भन्नुहुन्छ ।

“सरकारले ७० वर्ष पुगेपछि मात्र वृद्धभत्ता दिन्छ तर मान्छेलाई ६० वर्षसम्म बाँच्नै धौ पर्छ । ६० वर्षमै वृद्धभत्ता दिने नियम भएको भए मलाई सडकमा भौंतारिनु पर्दैनथ्यो ।”

राज्यले जेष्ठ नागरिकलाई सम्पदा भन्छ तर सम्पदा जोगाउनमा भने ध्यान गएको पाइँदैन । कान्छाराम जस्तै उमेर ढल्केकाहरू सडकमै गुजारा गरेका धेरै भेटिन्छन् । उसो त केपी शर्मा ओली प्रधानमन्त्री छँदा काठमाडौंका सडकका बस्ने असहाय/अशक्तहरूलाई व्यवस्थापन गर्ने प्रतिबद्धता गर्नुभएको थियो । तर, अहिले पनि यहाँका सडकमा बालबालिकादेखि वृद्धसम्मको भिड उत्तिकै छ ।

राजनीतिप्रति जानकार छन् कान्छाराम

सडकमा बसे पनि कान्छारामलाई नेपालको राजनीतिबारे ज्ञान छ । देशमा चुनाव लागेको र अहिले परिणाम आइरहेको कुरा पनि उहाँलाई थाहा छ । पहिलेका चुनावमा उहाँले भोट पनि खसाल्नुभएको छ । तर, उहाँलाई कुनै पनि दलका नेता मन पर्दैनन् ।

कान्छारामलाई जिन्दगीको दौरानमा सडकमा आउनुपर्ला भन्ने कल्पनासम्म पनि थिएन । आफ्नो गाउँ र घर छोडेर काठमाडौंका गल्ली चहार्दा उहाँलाई विरक्त लाग्छ । बुढो शरीर कटकटी दुख्छ । उहाँ भन्नुहुन्छ, “सरकारले जेष्ठ नागरिकको लागि उपचारको व्यवस्था लगायत के के व्यवस्था गरेको छ भन्छन् तर म वृद्धको जीवन यसरी बितिरहेको छ । मेरा लागि न परिवार आफ्नो भयो, न सरकार !”

जीवन संघर्ष र भोगाइ रहेछ भन्दै आफ्नो अनुभव सुनाउनुहुने उहाँ यसरी सडकमा भौंतारिइरहनु भन्दा बरु छिटो जीवन समाप्त भए हुन्थ्यो भन्नुहुन्छ । “जीवनको कुन मोडमा कहाँ पुगिन्छ भन्ने पत्तो हुँदैन रहेछ । काभ्रेको मैले काठमाडौंको सडकमा यसरी रुमल्लिएर बस्नुपर्छ भन्ने लागेको थिएन । आखिर जीवन यस्तै न रहेछ !” उहाँ विरक्तिनुहुन्छ ।

इन्द्रसरा खड्का

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

मंगलबार, १० जेठ, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved