• बिहीबार, १३ बैशाख, २०८१
  • ०५:०३:३२
  • नेपालीको अभिमत

कारोबार

राजनीतिमा नयाँ आउने पुस्ताको धैर्यता नपुगेको हो ?

इन्द्रसरा खड्का

बुधबार, २८ बैशाख, २०७९

हिले हरेक क्षेत्रबाट राजनीतिमा आउनेहरूको लर्को छ । कोही नयाँ पार्टी खोल्दै त कोही स्वतन्त्रबाटै भए पनि राजनीतिमा आइरहेका छन् । जोश र जाँगरका साथ राजनीतिमा आउँदा युवाहरूको समर्थन उर्लन्छ । पालिकामा वा देशमै यस्तो गर्छु, उस्तो गर्छु भन्ने गहन किसिमका प्रतिबद्धता आउँछन् । आम नागरिकमा नयाँ अनुहारबाट केही काम भइहाल्छ कि भन्ने आशा पनि पलाउँछ । तर, त्यो जोश जाँगर राजनीतिमा आएर चुनावमा सफल नभएको भोलिपल्टदेखि सेलाउन थाल्छ ।

काठमाडौं महानगरमा स्वतन्त्रबाट उम्मेदवार बन्नुभएका बालेन साह अहिले निकै चर्चामा हुनुहुन्छ । बालेनको ‘क्रेज’ भोलिका दिनमा बढ्ला वा सेलाउँदै जाला त्यो भविष्यले नै बताउला । तर, उस्तै जाँगर बोकेर यसअघिको चुनावमा रिङभित्र छिरेका तथा उत्तिकै ‘क्रेज’ बटुलेका कतिपय युवा भने यसपालि मैदानमा देखिंदैनन् ।

आफूलाई वैकल्पिक शक्ति भनेर चिनाउँदै आएको साझा पार्टीले २०७४ सालको चुनावमा काठमाडौं महानगरमा नेपाल सरकारका पूर्व सचिव किशोर थापालाई उम्मेदवार बनायो । शहरी योजना र हाउजिङ विज्ञ जस्तो मेयरको उम्मेदवार पाउँदा कतिपय मतदातामा उत्साह पनि थपियो । यो उत्साहको प्रतिफल चुनावी परिणाममा पनि देखियो । पुराना पार्टीहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लाई टक्कर दिंदै थापाले १८ हजार चार सय ९६ मत प्राप्त गर्नुभयो । तर, नतिजा भने उहाँको पक्षमा आएन । नआएकै कारण हुनसक्छ; नयाँ ऊर्जा र जोशका साथ उदाउनुभएका थापा पाँच वर्षमै मैदानबाट पछि हट्नुभयो । यस पटकको चुनावमा उहाँ कतैबाट उम्मेदवार हुनुहुन्न ।

साझाले जस्तै २०७४ सालको चुनावमा विवेकशील नेपाली दलले पनि नयाँ तथा युवा उम्मेदवार खडा गर्‍यो । पुराना पार्टीको विकल्पमा आफू भएको भन्दै काठमाडौं महानगरको उपमेयरमा रञ्जु दर्शनालाई उठायो । बोलीमा निकै दम राख्ने युवा उम्मेदवार रञ्जुले अहिले बालेनले जस्तै चर्चा पाउनुभयो । सामाजिक सञ्जालमा पनि हजारौं युवाले  समर्थन जनाए । चुनावी परिणाम आफ्नो पक्षमा नआए पनि रञ्जुले २३ हजार चार सय ३९ मत ल्याउनु भएको थियो । उहाँ पनि यस पटकको चुनावमा मैदानमा हुनुहुन्न ।

हाम्रो यो व्यवस्थामा एक जना व्यक्तिले जति राम्रो एजेण्डा ल्याए पनि अर्कोले स्वामित्व ग्रहण गरिसकेको स्थिति छैन र ग्रहण गर्ने अवस्था पनि छैन । ग्रहण गराउन सक्ने सामथ्र्य पनि त्यो स्वतन्त्र व्यक्तिमा रहेन । तसर्थ; त्यसले कालान्तरमा कुनै परिणाम ल्याउन सक्दैन ।

एक किसिमले भन्नुपर्दा अघिल्लो चुनावमा पराजय भोगेपछि यस पटक किशोर थापा र रञ्जु दर्शना दुवै जना पाखा लाग्नुभयो । उहाँहरूको अपेक्षा गरेर बसेका मतदाता निराश बने । नागरिकले विश्वास गरेका थापा र दर्शना मैदानबाट हट्दा थुप्रैको मनमा एउटा प्रश्न उब्जिएको छ– राजनीति गर्नेहरूमा किन धैर्यता हुँदैन ?

यो प्रश्नको जवाफमा किशोर थापा भन्नुहुन्छ, “एउटै मान्छे पटक–पटक उठिरहने, एउटै मान्छेको मात्र वर्चस्व भइरहने, नयाँ नेतृत्वलाई आउनै नदिने जुन राजनीतिक संस्कार छ, हामीले पनि त्यसैलाई सघाउन त भएन । त्यसैले नयाँलाई पालो दिएर र म पछाडि बसेर सहयोग गर्ने काम गरिरहेको छु । मैले पार्टी छोडेको छैन, पार्टीमा गर्ने काम गरिरहेको छु ।”

आफ्नो उमेर धेरै भइसकेको र चुनावी दौडधुप पनि गर्न नसक्ने भएकाले उम्मेदवारी नदिएको थापाको भनाइ छ । उहाँ थप्नुहुन्छ, “पाँच वर्षअघि केही गर्छु भनेर मैदानमा गएको थिएँ, तर पदमा पुग्न सकिएन । पदमा पुगेको भए केही गरेर देखाइन्थ्यो । अब उमेर पनि ढल्किंदै गयो । एउटै व्यक्तिले पटक पटक प्रयास गरिरहनुभन्दा नयाँलाई अगाडि बढ्न सहयोग गरिरहेका छौं ।”

‘धैर्यता नभएको हो र ?’ भन्ने प्रश्नमा धैर्यता नभएको नभई राजनीति भनेको धेरै व्यक्तिको अपेक्षा व्यवस्थापन गर्ने थलो भएकोले अपेक्षा व्यवस्थापन गर्दा एउटै व्यक्ति नदोहोरिएको थापाको भनाइ छ ।

राजनीतिक विश्लेषक इन्दु तुलाधर राजनीति गर्ने मान्छेमा धैर्यता नहुने हो भने हालत सबैको उस्तै हुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “अहिले जो वैकल्पिक भनेर आउनुभएको छ, उहाँहरूमा आफ्नो जीवनप्रतिको दृष्टिकोण के हो भन्ने कुरामा नै प्रष्ट नभएको देखियो । अर्को कुरा; विकल्प मात्र भन्दा पनि कस्तो किसिमको विकल्प हो भन्नेमा स्पष्ट धारणा बनाउन नसकेको हो कि भन्ने लाग्छ । जसले गर्दा उहाँहरूमा धैर्यता नभएको देखिन्छ ।”

नेपाली मतदाताको मनोवृत्ति विकल्प खोज्ने तर नयांलाई झ्वाट्ट पत्याइ हाल्न पनि नसक्ने देखिन्छ । तसर्थ, पूराना पार्टी र नेताहरूको विकल्पमा आउन चाहेको नयां पुस्ताले यो कुरा बुझ्न जरूरी भएको हो त ? यो प्रश्नको जवाफ खोज्ने बेला भयो कि !

राजनीतिमा धैर्यता महत्त्वपूर्ण हुन्छ

इन्दु तुलाधर
राजनीतिक विश्लेषक 

राजनीतिमा वैकल्पिक धार आउनु भनेको सकारात्मक हो । तर, यस्ता पार्टी र व्यक्तिलाई शक्ति भन्ने कि नभन्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । जो व्यक्ति त्यो ढंगले आउन खोज्छ उसको जीवनको उद्देश्य र उसले केको लागि राजनीतिमा आउन खोजेको हो त्यो प्रष्ट हुनुपर्छ । अहिले जो वैकल्पिक भनेर आउनुभएको छ वा  आउन खोज्नुभएको छ, उहाँहरूमा जीवनको दृष्टिकोण के हो भन्ने कुरा नै प्रष्ट नभएको देखियो । अर्को कुरा; विकल्प मात्र भन्दा पनि कस्तो किसिमको विकल्प हो भन्नेमा स्पष्ट धारणा बनाउन नसकेको हो कि भन्ने लागेको छ । यी र यस्ता पक्षलाई केलाउँदा उहाँहरूमा धैर्यता नभएको भन्ने देखिन्छ । 

यो एउटा पक्ष भयो । अर्को पक्षबाट हेर्दा; जो व्यक्ति विकल्पका रूपमा भनेर आइरहेको छ, त्यो व्यक्तिमा स्पष्टता भएन भने समस्या हुन्छ । एउटा चुनावबाटै स्थापित हुन्छु भन्ने सोच राखेर आउने, दुई/चार दिन देखिने र त्यसपछि हराउनेलाई विकल्प वा वैकल्पिक भन्न मिल्दैन । जस्तै; समाजमा भइरहेको भ्रष्टाचार अन्त्यको लागि भन्दै कुनै व्यक्ति वा पार्टीले लक्ष्य राख्छ भने त्यो एकै पटकमा समाधानमा हुने कुरा होइन । यसका लागि निरन्तरको प्रयास चाहिन्छ । जसले यात्रा नै पूरा गर्न सक्दैन, त्यसलाई कसरी वैकल्पिक भन्न सक्छौं !

अहिले स्वतन्त्र रूपमा उम्मेदवारी दिनेहरूको संख्या पनि उस्तै छ । हामीले दलीय व्यवस्थाको कुरा गरिसकेपछि स्वतन्त्रहरू जतिसुकै राम्रा भए पनि उहाँहरूको जबाफदेहीता के हो ? को प्रति हो ? भन्ने कुरा उठ्छ । किन भने हामीले लोकतन्त्र भन्ने एउटा प्रणालीलाई लागू गरिसकेपछि लोकतन्त्रमा जहिले पनि बहुमतको कुरा आउँछ । अल्पमतको एजेण्डालाई सम्मान गर्दै बहुमतको निर्णयलाई कार्यान्वयन गरेर जाने भन्ने हो नि त अहिलेको व्यवस्था । हाम्रो यो व्यवस्थामा एक जना व्यक्तिले जति राम्रो एजेण्डा ल्याए पनि अर्कोले स्वामित्व ग्रहण गरिसकेको स्थिति छैन र ग्रहण गर्ने अवस्था पनि छैन । ग्रहण गराउन सक्ने सामर्थ्य पनि त्यो स्वतन्त्र व्यक्तिमा रहेन । तसर्थ; त्यसले कालान्तरमा कुनै परिणाम ल्याउन सक्दैन ।

स्वतन्त्र व्यक्तिको जबाफदेहीता कसैप्रति पनि रहँदैन । त्यसैले ऊ जितेरै गए पनि उसको भूमिका प्रभावहीन हुन्छ । चाहेर पनि वा नचाहेर पनि हाम्रो यथार्थता यही हो ।

राजनीति गर्नेमा धैर्यता सबैभन्दा महत्वपूर्ण हुन्छ । हामीले अहिलेको नेतृत्वलाई किन मन पराइरहेका छेनौं भने उहाँहरूमा धैर्यता छैन । उहाँहरूमा धैर्यता छैन भन्ने कुरा कसरी पनि पुष्ट हुन्छ भने यो चुनावपछि उहाँहरू अर्को चुनाव पनि कुर्न सक्नु हुन्न । यो चुनावमा हारेर के भयो त अर्को चुनावमा लडेर पनि आफ्ना एजेण्डा स्थापित गर्छु भन्ने धैर्यता राख्न सक्ने नेता मैले कोही पनि देखेको छैन । जसले गर्दा जसरी पनि चुनाव जित्नुपर्छ र जसरी पनि संस्थामा टिकिराख्नुपर्छ तथा रापताप मैले मात्र लिनुपर्छ भन्ने जुन किसिमको सोच छ, त्यसले उहाँहरूमा धैर्यता छैन भन्ने देखाइरहेको हुन्छ । यही धैर्यता नहुँदा चुनाव भनेको शक्ति र पैसामा केन्द्रित भएको छ । यसले गर्दा पार्टीभित्रै पनि इमान्दार मान्छेले म चुनाव लड्न सक्दिनँ भन्ने हिसाबले बाहिर आउनुपर्ने अवस्था आएको छ ।

अहिले जसले ठूलो स्वरमा बोल्न सक्छ, जसले षडयन्त्र गर्न सक्छ, त्यसलाई मात्र नेता मान्ने जुन छवि हामीले  बनाइरहेका छौं, त्यसले पनि राजनीति फोहोर हुँदै गएको छ । एउटा नेता भनेको सहानुभूति होइन, कि समानुभूति राख्न सक्ने हुनुपर्छ । समानुभूति राख्न सक्ने नेता भइदिएको भए उसमा धैर्यता पनि हुन्थ्यो । सहनशीलता पनि हुन्थ्यो । अरूलाई स्विकार्न सक्ने, अरूको दुःखलाई आफ्नो दुःख ठान्न सक्ने, त्यो अनुरुप योजना ल्याउन सक्ने र त्यही अनुसार नीति ल्याउन सक्ने हुन्थ्यो ।

इन्द्रसरा खड्का

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

बुधबार, २८ बैशाख, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved