• मंगलबार, १४ असार, २०७९
  • १८:३४:०१
  • नेपालीको अभिमत

फिचर

के समाजसेवा गर्ने बाटो राजनीति मात्र हो ?

इन्द्रसरा खड्का

बिहीबार, २२ बैशाख, २०७९

सन्न स्थानीय तहको निर्वाचनका लागि ७५३ पालिकाबाट १ लाख ४० हजार ८ सय ५९ जनाको उम्मेदवारी परेको छ । जसमध्ये ८९ हजार २ सय ३७ पुरुष र ५५ हजार ६ सय २२ महिला छन् । मतदाताको घर–घरमा पुगी भोट मागिरहेका यी उम्मेदवारलाई ‘तपाईंको यात्रा राजनीतिमा किन ?’ भनेर सोद्धा प्रायः सबैको एउटै जवाफ आउँछ– समाजसेवा गर्न ।

उम्मेदवारहरू मात्र होइन, विभिन्न क्षेत्रका चर्चित व्यक्तित्वहरू वेला–वेलामा विभिन्न पार्टीमा प्रवेश गरेका समाचार सुनिने गर्छन् । उनीहरूलाई पनि ‘राजनीतिमा किन ?’ भनेर प्रश्न गर्‍यो भने उही जवाफ आउँछ– समाजसेवा ।

यस्तै व्यक्तित्वमध्ये कलाकारहरू भुवन केसी, स्वस्तिका खड्का र रवीन्द्र खड्का गत मंगलबार नेपाली कांग्रेसमा प्रवेश गर्नुभयो । पार्टी प्रवेशपश्चात् कांग्रेस सभापति शेरबहादुर देउवासँग खिचेको फोटो सामाजिक सञ्जालमा निकै भाइरल भयो । फोटोमा मानिसहरूका विभिन्न खालका टिप्पणी आए । स्वस्तिका खड्काले त ‘अब राजनीति मार्फत समाजसेवा गर्ने भन्दै फेसबुकमा लामोे स्टाटस नै राख्नुभएको थियो ।

“राजनीतिमा आएर समाजको सेवा गर्छु भन्नु बहाना मात्र हो । भ्रष्टाचार गरेर छोटो समयमा धेरै सम्पत्ति जोड्न सकिन्छ भनेर राजनीतिमा आउनेहरूको संख्या बढेको छ ।”

कलाकारहरू ‘समाजसेवा गर्ने’ भन्दै राजनीतिमा लागेको नयाँ कुरा भने होइन । केही समयअघि नायिका करिश्मा मानन्धर नेकपा (एमाले)मा प्रवेश गर्नुभयो । एमालेमा प्रवेश गर्दै गर्दा मानन्धरले ‘अब कलाकारिताबाट मात्र नभई राजनीतिबाट समेत सामाजिक सेवा गर्ने बताउनुभएको थियो । नायिका रेखा थापा राप्रपामा र गायिका कोमल वली एमालेमा पहिले नै आबद्ध भइसक्नुभएको छ । कलकारिताबाट मात्र होइन; शिक्षण, चिकित्सा लगायत अन्य क्षेत्रबाट पनि राजनीतिमा आउनेको सूची लामै छ ।

नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेशप्रसाद खरेलले जागिरबाट अवकाशपछि नेपाल सुशासन पार्टी दर्ता गर्नुभयो । स्थानीय तहको चुनावका लागि काठमाडौंको मेयरमा लड्ने हल्ला चले पनि उम्मेदवारी भने दिनुभएन । उम्मेदवारी दिने हल्ला चलेको वेला नेपालमतसँग कुरा गर्दै खरेलले समाजमा भएको भ्रष्टाचर हटाउन र समाजको सेवा गर्न अबको यात्रा राजनीति भएको बताउनुभएको थियो ।

दुई/चार दिन गाउँमा गई राहत वितरण गरेको भन्दै फोटो राखेर समाजको सेवा गरेको भन्नेदेखि उमेरमा सरकारी जागिर वा अन्य काम गरी अवकाशपछि राजनीतिमा लागेर समाजसेवा गरेको भन्नेहरू समाजसेवाको लागि राजनीतिमा लागेको नभई निहित स्वार्थपूर्तिका लागि लागेको आम जनमानसको बुझाइ छ ।

स्थानीय तहको चुनावमा मात्र होइन, यो भन्दा पहिले सम्पन्न भएका पार्टी महाधिवेशनहरूमा प्रतिनिधि भएर आएका अधिकांश युवाको जवाफ पनि ‘समाजसेवा गर्न राजनीतिमा लागेको’ भन्ने नै थियो ।

‘के समाजको सेवा गर्ने बाटो राजनीति मात्र हो त ?’ हामीले यो प्रश्न समाजशास्त्री डा. दिलिपकुमार मल्ललाई सोधेका थियौं । उहाँको जवाफ छ, “समाजसेवा गर्न भन्दा पनि शक्तिको केन्द्रीकरण गर्न र चर्चामा आउन यो क्षेत्रमा आउनेको संख्या बढेको छ । अहिले समाजसेवाको नाममा स्वार्थपूर्तिको लागि राजनीतिमा लाग्नेहरूको संख्या धेरै छ ।”

मल्ल थप्नुहुन्छ, “अरू पेशाभन्दा राजनीतिमा शक्ति हुन्छ । शक्ति हुँदा उसले धेरै कुरा सजिलै हातमा लिन सक्छ र आफ्नो प्रभुत्व जमाउन सक्छ । त्यसैले अन्य पेशा छोडेर यो क्षेत्रमा आउनेको लर्को लागेको छ ।”

त्यस्तै; नेपालको राजनीतिका सम्बन्धमा अनुसन्धान गर्दै आउनुभएका मनिष झा समाजसेवा गर्नलाई राजनीतिमा आउनुपर्छ भन्ने कुरालाई स्वीकार्नुहुन्न । राजनीतिविना समाजसेवा गरिरहनुभएका महावीर पुन र अनुराधा कोइरालाको उदाहरण दिंदै साँच्चिकै समाजको सेवा गर्नेहरूले राजनीतिबाट टाढै रहनुपर्ने उहाँ बताउनुहुन्छ । “राजनीतिमा आएर समाजको सेवा गर्छु भन्नु बहाना मात्र हो । भ्रष्टाचार गरेर छोटो समयमा धेरै सम्पत्ति जोड्न सकिन्छ भनेर राजनीतिमा आउनेहरूको संख्या बढेको छ,” झा भन्नुहुन्छ ।

छोटो समयमा भइरहेको पार्टी त्याग–परित्यागले पनि समाजसेवाका लागि राजनीतिमा आएको भन्ने कुरा झुट सावित भएको मान्न सकिन्छ ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि निस्वार्थ भावनाले समाजसेवा गर्ने मान्छेलाई समाजको सेवा गर्न राजनीतिमा आउनै नपर्ने बताउनुहुन्छ । समाजसेवा गर्छु भनेर राजनीतिमा आएका अधिकांश मानिसहरू समाजसेवा होइन धन आर्जनको लागि आएको उहाँको बुझाइ छ । “छोटो तरिकाले पैसा कमाउने मात्र होइन सुरक्षित रहने उपाय पनि राजनीतिमै छ । पैसा टन्न कमाउने, कर तिर्न नपर्ने र भोगविलास पनि गर्न पाउने जुन परिपाटी बसेको छ, उहाँहरूमध्ये धेरैको दाउ त्यही नै हो,” आचार्य भन्नुहुन्छ ।

राजनीतिमा आउने जुनसुकै क्षेत्रका व्यक्ति समाजसेवा नभई अवसरको लागि आउने गरेको धेरैको बुझाइ छ । कलाकारकै कुरा गर्ने हो भने पनि केही वर्ष पहिले बाबुराम भट्टराईको नयाँ शक्तिमा आबद्ध नायिका करिश्मा मानन्धर केही वर्षमै नेकपा (एमाले)मा प्रवेश गर्नु र पहिले प्रचण्डसँग छमछमती नाच्ने रेखा थापा पछि राप्रपामा प्रवेश गर्नुले सेवाभन्दा अवसरका लागि राजनीतिमा आउने गरेको सजिलै अनुमान लगाउन सकिन्छ ।

समाजशास्त्री डा. मल्ल छोटो समयमा भइरहेको पार्टी त्याग–परित्यागले पनि समाजसेवाका लागि राजनीतिमा आएको भन्ने कुरा झुट भएको मान्न सकिने बताउनुहुन्छ । शक्ति र चर्चाका लागि यो क्षेत्र रोज्ने गरेको उहाँको ठम्याइ छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको समाजशास्त्र केन्द्रीय विभागका प्रमुख डा. टिकाराम गौतम भने राजनीति नै सामाजिक सेवा हो कि होइन भन्नेमा प्रश्न उठेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जो मान्छेले समाजको, समाजमा पछाडि परेका वर्गको सेवा गर्न चाहन्छ, उसले फरक पहिचान अथवा स्थितिको अपेक्षा गर्दैन । उसले निस्वार्थ भावले सेवा गरेको हुन्छ । तर, अहिलेको राजनीतिलाई हेर्दा निस्वार्थ भन्ने नै छैन । त्यहाँ कुनै पद गाँसिएको छ, प्रतिष्ठा गाँसिएको छ, पैसा गाँसिएको छ । अनि; ठूलो खालको एउटा सञ्जाल जोडिएको छ । त्यसकारण राजनीति सामाजिक सेवा हो कि होइन भन्नेमै प्रश्न छ ।”

इन्द्रसरा खड्का

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

बिहीबार, २२ बैशाख, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved Site by : i-Tech Nepal