• शुक्रबार, ७ बैशाख, २०८१
  • १४:३४:५७
  • नेपालीको अभिमत

सन्दर्भ

नवीन्द्रराज जोशीलाई मस्तिष्कघात हुँदाको रात

ओम राजभण्डारी

सोमबार, १४ चैत, २०७८

त्यसबेला हामी दुवै विज्ञान विषयका विद्यार्थी थियौं । म अमृत साइन्स कलेज (अस्कल)मा आईएस्सी पढ्दै थिएँ । ऊ पनि त्रिचन्द्र कलेजमा आईएस्सी नै पढ्दै थियो । म झोंछे, यङ्गालको, ऊ यट्खाको । यो २०३५ सालको कुरा हो । त्यसै वर्ष तिहारमा नवीन्द्र र मेरो चिनजान भएको थियो ।

त्यसपछि हामीबीच भेटघाट र सरसल्लाह भइरहन्थ्यो । मैले बीएस्सी पनि अस्कलमै गरें । उसले त्रिचन्द्रबाटै बीएस्सी गर्‍यो । २०३९ सालमा त्रिचन्द्र कलेजको स्ववियू निर्वाचनमा नेविसंघबाट दीपक गिरी अध्यक्ष र नवीन्द्रराज जोशी सचिवका उम्मेदवार थिए । उता, म नेविसंघ अस्कल इकाईको सक्रिय कार्यकर्ता थिएँ । गोवर्धन राना अस्कलका निकै चर्चित नेता थिए । चुनावको सिलसिलामा त्रिचन्द्रका साथीहरूलाई अस्कलमा आमन्त्रण गरेर बास्केट बल ग्राउन्डमा कार्यक्रम आयोजना गरेका थियौं । उक्त कार्यक्रम भाँड्न सरस्वती क्याम्पसतिरका अखिलका विद्यार्थीले हामीमाथि आक्रमण गरेपछि हानाहान र कुटाकुट भएको थियो । आक्रमणकारीहरूको निशाना गोवर्धन भए पनि ऊ त्यसबाट बच्न सफल भयो तर दीपक गिरीमाथि खुकुरी प्रहार हुँदा उसको टाउकोमा ठूलो चोट लागेको थियो । रगताम्मे गिरीलाई हामीले ट्याक्सीमा राखेर वीर अस्पताल पुर्‍यायौं । 

त्यसपछि सम्पन्न स्ववियू निर्वाचनमा अस्कलमा नेविसंघका अध्यक्षका प्रत्यासी गोवर्धनले जिते । त्रिचन्द्रका अध्यक्षका प्रत्यासी दीपकले हारे, तर सचिवमा नवीन्द्रले बाजी मारे । त्यो निर्वाचन नै नवीन्द्रलाई राजनीतिमा चर्चित बनाउने प्रमुख घटना बन्न पुग्यो । धाराप्रवाह राजनीतिक भाषण गर्न सक्ने उसको कलादेखि हामी मन्त्रमुग्ध हुन्थ्यौं । त्यसपछि ऊ राजनीतिमा यस्तरी लाग्दै गयो कि त्यसबाहेक उसले दायाँ–बायाँ केही सोचेन । म भने राजनीतिमा सामान्य जानकारी राखे पनि पेशा, व्यवसायतिरै बढी ध्यान दिन थालें । तैपनि हामीबीच आपसी भेटघाट र छलफल भने भई नै रहन्थ्यो ।

२०४९ सालको स्थानीय निर्वाचनमा उसले काठमाडौं नगरपालिकाको उपप्रमुखको टिकट पायो । हामी सबैले उसलाई निःस्वार्थ भावले सहयोग गर्‍यौं । उसले जित्यो पनि । चुनाव जिते पनि ऊ कहिल्यै ठूलो पल्टिएन । जनताको घरदैलोमा पुगेर सुख–दुःखमा साथ दियो ।

म उसलाई भन्ने गर्थें, ‘तिमी राजधानी काठमाडौंको मान्छे । यति धेरै लोकप्रिय युवा छौ, इमान, जमान र निष्ठा बचाउँदै स्वच्छ छवि कायम गरेर अगाडि बढ्दै गयौ भने तिम्रो राजनीतिक भविष्य सुन्दर छ ।’ मेरो भावनामा ठेस लाग्न नदिन नवीन्द्र मेरो कुराकानी र सल्लाहलाई महत्त्वसाथ लिने गर्थ्यो । म थप सचेत र सावधान गराउने उद्देश्यले भन्ने गर्थें, ‘हेर नवीन्द्र, तिमी अहिलेसम्म एकदम सही छौ । लोकप्रिय छौ । तिमीलाई देशभरका प्रजातन्त्रवादीहरूले विश्वास गर्छन् । यसलाई तिमीले जोगाउन सक्नुपर्छ । राजनीतिलाई कमाई–धमाईको माध्यम बनाएर बदनाम भयौ भने चाहिं तिम्रो र मेरो सम्बन्ध रहने छैन । अहिले जस्तै इमानदार भइरह्यौ भने म तिमीलाई सक्दो साथ दिइरहनेछु ।’

२०४६ सालमा जनआन्दोलन शुरू हुँदा उसले नेविसंघ महामन्त्रीको हैसियतमा देशैभरका युवाहरूलाई नेतृत्व प्रदान गरेको थियो । आन्दोलनको सफलतासँगै बहुदल पुनर्स्थापना भएपछि ऊ राजनीतिमा झन् माझिंदै गयो । साथीभाइहरूसितको सम्पर्क र सम्बन्धमा उसले कुनै कमी आउन दिएन । ऊ र म भेट भइरहन्थ्यौं । ऊ प्रायः अरूसित सल्लाह नगरी केही पनि निर्णय झट्ट गरिहाल्दैनथ्यो । सोची, विचार गरी मात्र निर्णय लिने उसको स्वभाव मलाई मन पर्थ्यो । 

२०४९ सालको स्थानीय निर्वाचनमा उसले काठमाडौं नगरपालिकाको उपप्रमुखको टिकट पायो । हामी सबैले उसलाई निःस्वार्थ भावले सहयोग गर्‍यौं । उसले जित्यो पनि । चुनाव जिते पनि ऊ कहिल्यै ठूलो पल्टिएन । जनताको घरदैलोमा पुगेर सुख–दुःखमा साथ दियो । जनताबाट पनि अपार माया पाइरह्यो । केही न केही नयाँ गरौं भन्ने उसको सोच देखिन्थ्यो । त्यही हुटहुटीले होला उसले सर्वोच्च नेता गणेशमान सिंह जीवितै हुनुहुँदा उहाँको नाउँमा प्रतिष्ठान खोल्ने सोच बनाएर छलफल चलायो । मसँग पनि यसबारे कुराकानी गर्‍यो । उसको प्रस्ताव मन परेपछि यसमा पूरापूर साथ र सहयोग गरें । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले पछि ‘वीर गणेशमान’ सिनेमा बनायो । त्यो पनि सफल भयो ।

नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको जीवनीमा आधारित चलचित्र ‘वीर गणेशमान’ को एउटा पोस्टर ।

हामी उसलाई भित्रबाट सहयोग गरिरहेका थियौं, ऊ राजनीतिक यात्रामा इमानका साथ अगाडि बढिरहेको थियो । काठमाडौं महानगरपालिकाको उपप्रमुखको जिम्मेवारी पनि सफलतासाथ निर्वाह गर्‍यो । हामी उसलाई २०५४ सालको स्थानीय निर्वाचनमा काठमाडौं महानगरको प्रमुख भएको देख्न चाहन्थ्यौं, तर पार्टीले टिकट दिएन । ऊ केही दिन वेचैन देखियो । हामी त्यो वेचैनीबाट मुक्त हुनका लागि एकदिन ककनीतिर गयौं । हामीले उसलाई ‘यो मात्रै अवसर होइन, राजनीतिमा यस्ता अवसर धेरै आउँछन् तर अब आउने अवसरलाई कसरी आफ्नो पक्षमा पार्ने भनी सोच्नुपर्छ । गुमेको अवसरलाई चिन्ता गरेर केही हुँदैन’ भन्यौं । ‘आवेशले आफैंलाई गुमाउँछ, धैर्यले संसार जिताउँछ’ भन्ने उसले नबुझ्ने कुरै थिएन । केही दिनपछि ऊ फेरि साबिककै अवस्थामा फर्किहाल्यो । आखिर राजनीतिक व्यक्तित्व न हो ऊ ।

हामीले उसलाई भन्यौं, ‘अब तिमी राजनीतिक रूपमा अलि फुर्सदिलो भयौ । तिमीले गणेशमान सिंह अध्ययन प्रतिष्ठानमा बढी समय दिनुपर्छ । समसामयिक विषयमा विभिन्न क्षेत्रका जानकारहरूलाई भेला गराएर बहस र छलफल गराउनुपर्छ ।’ उसले प्रतिष्ठानको मञ्च प्रयोग गरेर बौद्धिक बहस र छलफललाई अगाडि बढाउन थाल्यो । त्यसले पनि नवीन्द्रको व्यक्तित्वमा थप निखार ल्याउन सघायो भन्ने लाग्छ । माओवादी द्वन्द्वको त्यो अप्ठेरो समयमा पनि उसले जनताको घरदैलो गर्न भने छाडेन । 

२ असोज २०५४ मा लौहपुरुष गणेशमान सिंहको निधन भयो । जुन दिन लौहपुरुष बित्नुभयो त्यही दिन नवीन्द्र जापानको विमानस्थलमा ओर्लेको थियो । ओर्लेकै दिन उसले मलाई फोन गरिहाल्यो । मैले उसलाई ‘यहाँ गणेशमान सिंह बित्नुभयो, त्यसैले तिमी अर्को उडानबाट नेपाल फर्क’ भनें । ऊ त्यही विमानस्थलबाट अर्को उडान समातेर तत्काल नेपाल फर्किएपछि गणेशमान सिंहको अन्त्येष्टिमा हामी सहभागी भयौं । 

ऊ हाम्रो नेता थियो, हामी उसका सहयोगी । पार्टीभित्र नेताहरूबीच मनमुटाव बढ्दा पार्टी विभाजन हुन्छ कि भनी चिन्तित हुन्थ्यो । नभन्दै, २०५९ असारमा पार्टी विभाजन हुनपुग्यो । त्यसबेला हामीले अब के गर्ने, कसरी अगाडि बढ्ने भनी सल्लाह गर्‍यौं । हाम्रो एउटै मत थियो–काठमाडौंको राजनीतिमा प्रकाशमान सिंह दाइ जता हुनुहुन्छ त्यतै रहनु उचित हुन्छ । ऊ पनि नेपाली कांग्रेस प्रजातान्त्रिकतिरै उभियो । प्रकाश दाइसित मिलेरै राजनीति अगाडि बढाउने नीति अंगीकार गर्दै अगाडि बढिरह्यो ।

१९ माघ २०६१ मा राजा ज्ञानेन्द्रले राज्यसत्ता हात लिएपछि दलहरू एक भए । दोस्रो जनआन्दोलन उठ्यो । त्यसमा पनि हामी सहभागी भयौं । ऊ आन्दोलनको अगुवाइ गर्दै सडकमा जान्थ्यो, म भने आन्दोलनको पक्षधरका नाताले भित्रभित्र सहयोग गर्थें । जनआन्दोलन सफल भयो । २०६४ चैतमा सम्पन्न संविधानसभा निर्वाचनमा उसले टिकट पायो । हामी एकै क्षेत्रमा थियौं । मैले उसलाई जे सकिन्छ पूरा सहयोग गरें । उसले चुनाव जित्यो र संविधानसभामा एकदम राम्रो भूमिका खेल्यो । उसको राजनीतिक इमान र सफलता देखेर म एकदम खुशी थिएँ । उसले चुनाव जितेपछि सबैभन्दा पहिले सगुन दिने मै थिएँ । २०६६ सालमा म नेपाल उद्योग वाणिज्य महासंघको सदस्य निर्वाचित भएपछि उसैले सबैभन्दा पहिला मलाई सगुन दिएर सम्मान गरेको थियो ।

२०६७ सालमा हुन गइरहेको पार्टीको १२औं महाधिवेशनअघि सभापतिका प्रत्यासी सुशील कोइराला र शेरबहादुर देउवाबीच दूरी बढेपछि उसले त्यसलाई कम गर्ने सोच बनायो । एकदिन उसले बूढानीलकण्ठको मेरै निवासमा कोइराला र देउवालाई आमन्त्रण गरेर मिलनबिन्दुको खोजी गरेको देख्दा मलाई लाग्यो– नवीन्द्र पार्टीमा मेलमिलापको बलियो खम्बा हो ।

हामी यति नजिकका साथी थियौं कि बेला बेलामा पारिवारिक रूपमा कहिले उसको घरमा त कहिले मेरो घरमा भेला भएर खाना खाने र सुख–दुःखका कुरा साटासाट गर्ने गर्थ्यौं ।

२०६७ सालमा हुन गइरहेको पार्टीको १२औं महाधिवेशनअघि सभापतिका प्रत्यासी सुशील कोइराला र शेरबहादुर देउवाबीच दूरी बढेपछि उसले त्यसलाई कम गर्ने सोच बनायो । एकदिन उसले बूढानीलकण्ठको मेरै निवासमा कोइराला र देउवालाई आमन्त्रण गरेर मिलनबिन्दुको खोजी गरेको देख्दा मलाई लाग्यो– नवीन्द्र पार्टीमा मेलमिलापको बलियो खम्बा हो । प्रजातन्त्रको बफादार सिपाही हो । आफ्नो साथीको प्रजातन्त्रको सबलीकरणको सत्प्रयास देख्दा म ज्यादै खुशी भएको थिएँ ।  

यति हुँदाहुँदै पनि मुलुकको राजनीति चाहे जति सहज र सङ्लो हुन नसक्दा ऊ ज्यादै चिन्तित हुन्थ्यो । कसरी प्रजातान्त्रिक र राजनीतिक संस्कार विकास गर्ने होला भनी छलफल गरिरहन्थ्यो । २०६९ सालमा संविधान नै नलेखी संविधानसभा विघटन गराइयो । फेरि राजनीतिक अन्योल र अस्थिरता सिर्जना हुन पुग्यो । २०७० साल मंसिरमा दोस्रो पटक संविधानसभाको निर्वाचन हुने भयो । उसलाई हाम्रो क्षेत्रबाट टिकट दिइयो । हामी सबै एकजूट भएर उसलाई जितायौं । यही सभाले सुशील कोइरालाको नेतृत्वमा संविधान लेख्यो । त्यसबेला पनि उसले अप्ठेरो पर्दा समन्वयकारी भूमिका निर्वाह गर्‍यो ।

नवीन्द्रले कहिल्यै धैर्य गुमाएन, जनताको सेवक बनेर भूकम्पमा परेर आहत भएकाहरूको सेवामा जुट्न कत्ति पनि कमी गरेन । उद्धार, उपचार र त्यसपछिको सेवामा एकचित्त भएर खट्यो । ऊ जनसेवामा अविराम दिलोज्यानले खटेको देख्दा अचम्म लाग्थ्यो । म उसलाई बेला–बेलामा आफ्नो स्वास्थ्यलाई पनि ख्याल गरेर खट है भन्थें । 

२०७३ साउनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भए । उनको नेतृत्वको मन्त्रिपरिषद्‌मा नवीन्द्र उद्योग मन्त्री नियुक्त भयो । कसैले महत्त्व नदिने उद्योग मन्त्रालयप्रति ऊ मन्त्री भएपछि सबैको ध्यान जान थाल्यो । किनकि, मन्त्री भएपछि उसले बन्द नेपाल औषधि लिमिटेडलगायत उद्योगहरू पुनः सञ्चालनमा ल्याउने व्यवस्था गर्‍यो । नयाँ उद्योगधन्दाहरू खोल्नेबारे योजनाहरू बनाउन थाल्यो । योभन्दा पनि महत्त्वपूर्ण कुरा त उसले निजी क्षेत्रको उत्साह भर्न र बाह्य राष्ट्रका लगानीकर्ताहरूलाई नेपालमा लगानीमैत्री वातावरण छ भन्ने विश्वास दिलाउन अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना गर्‍यो । त्यसमा मैले उसलाई समितिमै बसेर सहयोग गरें । सम्मेलन निकै सफल भयो ।

लोकप्रिय हुँदाहुँदै पनि २०७४ सालमा सम्पन्न संसदीय निर्वाचनमा भने ऊ झिनो मतले पराजित भयो । राजनीतिक प्राणी भएकाले अर्को चुनाव जित्ने प्रतिबद्धतासाथ खट्दै थियो । उसलाई एक्कासी ‘माइनर अट्याक’ भएर त्रिवि शिक्षण अस्पतालमा उपचारपछि ठीक भयो । त्यसपछि पनि उसको स्वास्थ्य राम्रै थियो । त्यति ठूलो समस्या भएको थाहा थिएन ।

कोभिड–१९ को विश्वव्यापी महामारीले नेपाललाई पनि किन छाड्थ्यो र ? हामी पनि बन्दाबन्दीमा परिहाल्यौं । संसारै बन्दाबन्दी भएका बेला हामी मात्र किन अलग रहन सक्थ्यौं र ? त्यस्तो बेला पनि नवीन्द्रले जनताको घरदैलोमा मास्क, स्यानिटाइजर लगायत आवश्यक औषधि पुर्‍याउने कामको समन्वय गर्न भने छाडेन । किनकि, ऊ जनताको सुख–दुःखको नेता थियो ।

हाम्रोबीच प्रत्यक्ष भेटघाट नभएको पनि धेरै भइसकेको थियो । पहिलो चरणको कोरोना अलि मत्थर हुँदै गएको थियो । मेरो छोरा क्यानडाबाट फर्किएको थियो । उसैले फोन गरेर जनवरीमा भेट्ने भन्यो । फेरि फोन गरेर अलि सञ्चो भएन, खानपिन गर्न पनि केही हुँदैन त्यसैले अलि पछि भेट्न आउने कुरा गर्‍यो । यसरी दुई/तीन पटक उसैले समय सारेको थियो । १३ फागुन २०७७ बिहीबारको दिन फोन गरेर आज घरैमा हुन्छौ भनेर सोध्यो । मैले हुन्छु भनेपछि आज साँझ भेट्न सकिन्छ त भनी सोध्यो । मैले सकिन्छ भनेपछि उसले आफू, श्रीमती सपना र छोरी निऋतिलाई पनि लिएर साँझ सवा ७ बजे आउने कुरा गर्‍यो ।

१३ फागुन २०७७ को साँझ साथी ओम राजभण्डारीको सीतापाइलास्थित निवासमा प्रवेश गर्दै नवीन्द्रराज जाेशी । करीब चार घण्टा त्यहाँ बिताएर उनी घर फर्केका थिए ।

सीतापाइलास्थित कम्फर्ट हाउजिङको मेरो घरमा बस्ने कुरा भयो । ऊ भनेको बेलामा कहिल्यै नपुग्ने मानिस । तर त्यो दिन भने ७ः१९ बजे नै आइपुगेको देख्दा मलाई अचम्म लाग्यो । मनमनै सोचें साथी नवीन्द्रले समयको ख्याल गर्न थालेछ । अहिले पनि त्यो दिन ऊ, श्रीमती र छोरीसहित हाम्रो घर आएको अनि म, मेरो छोरा र श्रीमती कुराकानी गरेको, उसले मेरो छोरालाई सम्झाएको र खाना खाइवरी राति ११ः१८ बजे विदाइ भएको आत्मीय मित्रको निधन भएको विश्वासै लाग्दैन । तर विश्वास नगरेर पनि के गर्ने ? उसले हामीलाई छाडेर गएको पनि एक वर्ष बितिसकेछ । अहिले उसको सम्झना हुनासाथ म मोबाइलमा ‘अपलोड’ गरिराखेको सीसी क्यामेरा फुटेज हेरेर चित्त बुझाउने गर्छु । यसमा ऊ आएको र गएको बेलाको सबै दृश्य कैद भएका छन् ।  

१३ फागुन २०७७ को राति ‘डिनर’ खाएर साथी ओम राजभण्डारीको निवास (सीतापाइला)बाट बिदा हुँदै नवीन्द्रराज जाेशी र परिवार । यसको करीब एक घण्टापछि उनलाई मस्तिष्कघात भएर अस्पताल लगिएको थियो ।

हामीकहाँबाट घर फर्किएको करीब एक घण्टापछि उसलाई ‘स्ट्रोक’ भएछ । सपनाले वीर अस्पताल लगिछन् । उनले आत्तिएर फोन गरेपछि म, मेरी श्रीमती र छोरा अस्पतालमै पुग्यौं । त्यहाँबाट नर्भिक पुर्‍यायौं । करीब एक महीनाको उपचारपछि उसले हामीलाई छाडेर अनन्तको यात्रामा गयो । अल विदा साथी ।

(व्यवसायी राजभण्डारी जोशीका विद्यार्थी कालदेखिका घनिष्ठ साथी हुनुहुन्छ । यो सामग्री ‘नवीन्द्रराज जाेशी : व्यक्तित्व र योगदान’ पुस्तकबाट लिइएको हो। जाेशीको वार्षिक पुण्यतिथिको अवसरमा ‘नवीन्द्रराज जोशी स्मृति प्रतिष्ठान’ले हिजाे (१३ चैत) पुस्तक सार्वजनिक गरेको हो । –सम्पादक)

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    भारत : प्रतिपक्ष शासित राज्यमा सत्तापक्षको दमन

    भारतको सबैभन्दा शक्तिशाली नेता  तथा प्रधानमन्त्री नरेन्द्र मोदीको लागि आउने चुनाव धेरै नै महत्त्वपूर्ण छ। समाचार संस्था, व्यवस्थापिका, नागरिक समाजका साथै कहिलेकाहीँ अदालतसमेत प्रधानमन्त्री मोदीको विचारधारा...

  • नेपालमत

    रेडियो(कर्मी)को भविष्यको चिन्ता !

    रेडियो भनेको आवाज सुनाउने माध्यम हो। रेडियोमार्फत सुनेका कुरा श्रोताको मनमा चित्र बनेर बस्छ। रेडियो माध्यमको सबैभन्दा ठूलो शक्ति र विशेषता नै यही हो। ताररहित सुनाउने...

  • नेपालमत

    सिकाइमा मातृभाषा वरदानसिद्ध हुँदोरहेछ

    २०७० साल वैशाखको पहिलो हप्ता । टिच फर नेपालको पहिलो समूहको फेलोको रूपमा दक्षिण ललितपुरको यात्रा शुरू भयो । सातदोबाटोबाट चापागाउँहुँदै छपेलीतिर लाग्दै गर्दा गाडी गुड्ने बाटो...

  • नेपालमत

    कति सुध्रियो हाम्रो फौजदारी न्यायप्रणाली ?

    संविधानसभाले राज्य पुन:संरचनासहितको नयाँ संविधान २०७२ सालमा जारी गर्‍यो।सँगै फौजदारी न्यायप्रणालीमै व्यापक सुधार ल्याउन मुलुकी अपराध संहिता ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि र्यविधि संहिता ऐन...

  • नेपालमत

    आम निर्वाचन र मौन मतदाता

    सरकारले मंसिर ४ गते प्रदेश सभाहरू र संघीय प्रतिनिधि सभाको दोस्रो निर्वाचनको मिति तोकेको छ। निर्वाचन आयोगले सो मितिमा निर्वाचन गराउन उम्मेदवारीको कार्यक्रम नै अगाडि...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved