• शुक्रबार, १४ बैशाख, २०८१
  • ०४:३२:११
  • नेपालीको अभिमत

कारोबार

प्रधानमन्त्री देउवाद्धारा प्रचण्ड र नेपालसंग छलफल, शुक्रबार गठवन्धनको बैठक 

नेपालमत

बिहीबार, ६ माघ, २०७८

काठमाडौं- प्रधानमन्त्री एवं प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचनबारे सत्ता गठवन्धनमा एकमत बनाउन गठवन्धनका नेताहरुसंग छलफल शुरु गर्नु भएको छ ।

त्यसक्रममा बिहीबार साँझ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्ड र   नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसंग प्रधानमन्त्री देउवाले छलफल गर्नु भएको छ ।

शुरुमा माओवादी अध्यक्ष प्रचण्डसंग र त्यसपछि समाजवादीका अध्यक्ष नेपाल र अध्यक्ष प्रचण्डसंग संयुक्त रुपमा प्रधानमन्त्रीले छलफल गर्नु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा अध्यक्ष र नेपालले वैशाख जेठमा संघीय संसदको र मंसिरमा स्थानीय तहको निर्वाचन गर्नु उपयुक्त हुने सुझाव दिनु भएको बुझिएको छ ।

निर्वाचनका विषयमा दल र नेतापिच्छे फरक फरक दृष्टिकोण र धारणा पाइएपछि प्रधानमन्त्रीले एक्लाएक्लै छलफल गरेर निष्कर्ष निकाल्ने तयारी गर्नु भएको प्रधानमन्त्री निकट श्रोतले जनाएको छ ।

बिहीबारको शीर्ष ३ नेताको छलफलपछि शुक्रबार सत्तारुढ गठवन्धनको साझा संयन्त्रको बैठक बोलाइएको नेताहरुले जानकारी दिनु भयो ।

निर्वाचनका विषयमा गठवन्धनका दल र नेतापिच्छे फरक फरक दृष्टिकोण र धारणा आएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले समयमै निर्वाचन गर्न नखोजेको आरोप लगाएको छ भने सत्तारुढ दलकै कतिपय नेताहरुले समयमै निर्वाचन नगर्नु संविधानको उल्लंघन हुने राय दिन थालेका छन् ।

यसअघि निर्वाचन आयोगले निर्वाचन कार्यक्रमहरुबारे सरकारको धयानाकर्षण गराएको थियो ।

आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्न माघ पहिलो साताभित्र मिति घोषणा गर्नु पर्ने निर्वाचन आयोगको सुझाबबारे सरकारले निर्णय गरिसकेको छैन ।

आगामी जेठ ५ गते स्थानीय तहको निर्वाचनको ५ वर्ष पूरा हुँदैछ ।

संविधानमा स्थानीय तहको रिक्तताको कल्पना गरिएको छैन ।

यद्यपि, सत्ता गठवन्धनमा वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने कि वैशाखमा संसदीय निर्वाचन गरेर कार्तिक मंसिरमा स्थानीय निर्वाचन गर्ने भन्नेबारे छलफल चलिरहेको छ । 
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved