• शुक्रबार, ७ बैशाख, २०८१
  • २१:०३:५८
  • नेपालीको अभिमत

कारोबार

निर्वाचनका विषयमा प्रधानमन्त्रीले गठवन्धनका नेतासंग छुट्टाछुट्टै छलफल गर्ने

नेपालमत

बिहीबार, ६ माघ, २०७८

काठमाडौं- प्रधानमन्त्री एवं प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचनबारे सत्ता गठवन्धनमा एकमत बनाउन गठवन्धनका नेताहरुसंग छुट्टाछुट्टै छलफल गर्नु हुने भएको छ ।

निर्वाचनका विषयमा दल र नेतापिच्छे फरक फरक दृष्टिकोण र धारणा पाइएपछि प्रधानमन्त्रीले एक्लाएक्लै छलफल गरेर निष्कर्ष निकाल्ने तयारी गर्नु भएको प्रधानमन्त्री निकट श्रोतले जनाएको छ ।

त्यस क्रममा प्रधानमन्त्री देउवाले बिहीबार नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्ड र त्यसपछि क्रमशः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव तथा डा. बाबुराम भट्टराई तथा राष्ट्रिय जनमोर्चाका नेताहरुसंग छलफल गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

त्यसलगत्तै सत्तारुढ गठवन्धनको साझा संयन्त्रको बैठक बसेर निष्कर्षमा पुग्ने प्रधानमन्त्रीको योजना रहेको बताइएको छ ।

निर्वाचनका विषयमा गठवन्धनका दल र नेतापिच्छे फरक फरक दृष्टिकोण र धारणा आएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले समयमै निर्वाचन गर्न नखोजेको आरोप लगाएको छ भने सत्तारुढ दलकै कतिपय नेताहरुले समयमै निर्वाचन नगर्नु संविधानको उल्लंघन हुने राय दिन थालेका छन् ।

यसअघि निर्वाचन आयोगले निर्वाचन कार्यक्रमहरुबारे सरकारको धयानाकर्षण गराएको थियो ।

आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्न माघ पहिलो साताभित्र मिति घोषणा गर्नु पर्ने निर्वाचन आयोगको सुझाबबारे सरकारले निर्णय गरिसकेको छैन ।

आगामी जेठ ५ गते स्थानीय तहको निर्वाचनको ५ वर्ष पूरा हुँदैछ ।

संविधानमा स्थानीय तहको रिक्तताको कल्पना गरिएको छैन ।

यद्यपि, सत्ता गठवन्धनमा वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने कि वैशाखमा संसदीय निर्वाचन गरेर कार्तिक मंसिरमा स्थानीय निर्वाचन गर्ने भन्नेबारे छलफल चलिरहेको छ । 
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved