• मंगलबार, ११ बैशाख, २०८१
  • २०:१४:१७
  • नेपालीको अभिमत

राजनीति

आर्थिक वर्षको अर्धवार्षिक समीक्षा : चालु र वित्तिय खर्च ह्वात्तै बढ्यो, पुँजीगत खर्च घट्यो

नेपालमत

सोमबार, ३ माघ, २०७८

काठमाडौं - चालु आर्थिक वर्षको अर्धवार्षिक तथ्यांकका अनुसार राजस्व संकलन विगत भन्दा बढे पनि पुँजीगत खर्च भने विगत भन्दा घटेको छ । तर, चालु र वित्तिय खर्च भने विगत भन्दा ह्वात्तै बढेको छ ।

अर्थ मन्त्रालयका अनुसार सरकारको समग्र आम्दानी तथा खर्चको पछिल्लो तीन वर्षको अर्धवार्षिक तथ्याङ्क अनुसार आम्दानी क्रमशः धनात्मक देखिएको छ भने यो अवधिको समग्र खर्चमा भने उतार चढाव देखिएको छ ।  

आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म राजश्व संकलन कुल लक्ष्यको ३८ दशमलव ९५  प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा ४१ दशमलव ७३ प्रतिशत रहेको थियो ।
यस्तै चालु आर्थिक वर्ष २०७८/८९ को पुस मसान्तसम्म ४५ दशमलव ९१ प्रतिशत राजश्व संकलन भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ दशमलव १८ प्रतिशतले बढेको अर्थ मन्त्रालयले जनाएको छ ।      

अर्धवार्षिक खर्चतर्फ भने पछिल्लो तीन आर्थिक वर्षको अवस्था हाराहारीमा रहेको छ ।    

आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म पुँजीगत खर्च १४ दशमलव ८९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा १४ दशमलव ४० भएको थियो ।
यस्तै चालु आर्थिक वर्ष २०७८/८९ को पुस मसान्तसम्म भने पुँजीगत खर्च घटेर १३ दशमलव ४४ प्रतिशत भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा शुन्य दशमलव ९६ प्रतिशत कम हो । प्रतिस्थापन बजेट ल्याउनुपर्ने आवश्यकता र मध्य असोजपछि मात्र बजेट कार्यान्वयनमा आएका कारणले पुँजीगत खर्च अपेक्षाकृत हुन नसकेको अर्थ मन्त्रालयको भनाई छ ।

आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म चालु खर्च ३२ दशमलव ३५ प्रतिशत भएको थियो भने वित्तीय खर्च २२ दशमलव ४४ रहेको थियो । आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा चालु खर्च ३६ दशमलव ०८ रहेकोमा वित्तीय खर्च १३ दशमलव ०६ भएको थियो ।

यस्तै चालु आर्थिक वर्ष २०७८/८९ को पुस मसान्तसम्म चालु खर्च ३८ दशमलव १३ प्रतिशत रहेकोमा वित्तीय खर्च २६ दशमलव १२ प्रतिशत रहेको छ । वित्तीय खर्च अघिल्लो वर्षको तुलनामा करिब दोब्बर बढी भएको देखिएको छ ।
 

 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved