• मंगलबार, ११ बैशाख, २०८१
  • १७:३६:१७
  • नेपालीको अभिमत

अपराध

ललिता निवास प्रकरणमा सिआइवी थप अनुसन्धान गर्दै

नेपालमत

शुक्रबार, ३० पौष, २०७८

काठमाडौं- सरकारी वकिलको कार्यालय काठमाडौँबाट आफ्नो रायसहितको प्रतिवेदन फिर्ता आएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले बालुवाटारस्थित ललिता निवासको जग्गाको किर्ते लिखतका सम्बन्धमा थप अनुसन्धान थालेको छ ।

सिआइवीले ३ सय भन्दा बढीलाई अभियुक्त बनाएर आफ्नो अनुसन्धान सकी यही २२ गते सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो ।

सोमबार सरकारी वकिलको कार्यालयले थप अनुसन्धान आवश्यक भएको भनी प्रतिवेदन फिर्ता पठाएपछि सिआइवीले तथ्य तथा कागजातको विष्लेषण तथा थप अनुसन्धानमा थालेको हो ।

सिआइवीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले भन्नुभयो, “सरकारी वकिलको कार्यालयबाट थप निर्देशन प्राप्त भएको छ, सोहीअनुसार कार्यान्वयन गरेर फेरि पठाइन्छ ।”

 उहाँका अनुसार ब्यूरोले विगत दुई वर्षदेखिको अनुसन्धान सकेर सरकारी वकिललाई छुट्टाछुट्टै ४ वटा मुद्दाको प्रतिवेदन बुझाएको थियो ।

मुलुकी अपराध )संहिता) ऐन, २०७४ को दफा–२७६ अनुसार लिखत किर्तेसम्बन्धी मुद्दाको हदम्याद २ वर्षको भए पनि उक्त मुद्दा मुलुकी ऐन आकर्षित हुने भएकाले सोही अनुसारको हदम्याद हुने जनाइएको छ ।

सिआइवीका प्रहरी उपरीक्षकको नेतृत्वमा गठित छानबिन समितिले जग्गामा सरकारी लिखत किर्ते भएको निष्कर्षसहित प्रतिवेदन दिएको थियो ।

सोही आधारमा सिआइवीले अनुसन्धान थालेको थियो ।

अहिलेसम्म उक्त घटनाका आरोपी रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदी मात्रै पक्राउ परेका छन् ।

विसं २०४९ देखि २०६९ सम्ममा ललिता निवासको जग्गा लिखत किर्ते गरी हिनामिना भएको सार्वजनिक भएको छ ।

उता अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेसमेत ललिता निवास प्रकरणमा १ सय ७५ जना विरुद्ध उच्च अदालतमा मुद्दा दायर गरिसकेको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उक्त मुद्दा सिआइवी र अख्तियारले हेरिरहेको छ । 
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved