नेपालमा चैत २०७६ मा कोरोनाको दोस्रो केस देखिएपछि पहिलो पटक ‘लकडाउन’ भयो ।
सन् २०१९ को अन्त्यतिरबाट चीनको वुहानबाट शुरू भएको कोभेडि–१९ संसारभर फैलिएसँगै नेपालमा ‘क्वारेन्टिन’ शब्द प्रचलनमा आयो । शब्द मात्र होइन, क्वारेन्टिनमा बस्न पनि शुरू भयो । अहिले पनि सयौं मानिस क्वारेन्टिनमा बसिरहेका छन् । कोरोनापछि सुन्नमा आएको र व्यावहारिक रूपमा लागू भएको क्वारेन्टिन काठमाडौं उपत्यकाको नेवार समुदायमा भने लिच्छवीकालदेखि नै प्रचलनमा थियो ।
आजभन्दा सयौं वर्ष पहिले काठमाडौं उपत्यकावासीकोे एउटा मात्र व्यापारिक केन्द्र थियो तिब्बत । काठमाडौंवासीको मात्र होइन; भारतबाट आउने व्यापारी, धार्मिक योगी लगायत जति पनि उत्तरतिर अथवा चीनतिर जानुपर्यो भने एउटा मात्र बाटो थियो काठमाडौं उपत्यका ।
काठमाडौंका आलोकसिद्धि तुलाधरका अनुसार त्यो वेला तिब्बत जान हिमालले गर्दा अन्त कतैबाट बाटो थिएन । भारत एवं दक्षिणतिरबाट तिब्बत जानेहरू यही बाटो हुँदै आउँथे । तिब्बत जानेहरू धेरैजसो धर्म, ज्ञानको खोजीका लागि जान्थे ।
धर्म, ज्ञानको खोजीमा लागेकाहरूसँगै उपत्यकाको भित्री क्षेत्रमा बसोबास गर्ने तुलाधर, शाक्य, बज्राचार्य, ताम्राकार, श्रेष्ठहरू पनि व्यापारका लागि तिब्बत जान थाले । नेपालमा पाइने जडिबुटी लगेर ल्हासामा बेच्ने र त्यहाँबाट च्यांग्राको उनदेखि नुन नेपाल ल्याएर व्यवसाय गर्न थाले ।
आजभन्दा ६० वर्षअघि काठमाडौंको महाराजगञ्जका आनन्दसिद्धि तुलाधर तीन वर्ष चीनको ल्हासामा बसेर घर फर्कंदा घरको अलग कोठामा बस्नुभएको थियो । “अहिले क्वारेन्टिन नाम दिएर अलग बस्न जुन आग्रह गरिएको छ, यही मापदण्ड अपनाएर ६० वर्ष पहिले ल्हासाबाट फर्कंदा म बसेको छु,” तुलाधर भन्नुहुन्छ ।
यही क्रममा शुरू भयो काठमाडौंमा क्वारेन्टिन अथवा केही दिन अलग बस्ने चलन । यसका लागि उत्तर र दक्षिण सीमामा चपा अर्थात् पार्टी, घर अथवा विदेशबाट आउनेहरूलाई बस्ने संरचना बनाइएको हुन्थ्यो । उत्तरी नाका हुँदै आउनेहरू बस्नका लागि निर्माण गरिएको चपा असनको अन्नपूर्ण मन्दिरको छेउमा अहिले पनि छ ।
आजभन्दा ६० वर्षअघि काठमाडौंको महाराजगञ्जका आनन्दसिद्धि तुलाधर आफैं क्वारेन्टिनमा बस्नुभएको थियो । तीन वर्ष चीनको ल्हासामा बसेर घर फर्कंदा घरकै अलग कोठामा बसेको उहाँले बताउनुभयो ।
“हाम्रा बाजे, बाहरू यीता चपामा बस्नुभएको थियो । म पनि आफ्नै घरको छुट्टै कोठामा १४ दिन क्वारेन्टिन बसेको थिएँ । त्यति वेला ‘क्वारेन्टिन’ भन्ने शब्द चाहिं थिएन ।”
अलग बस्दा घर, टोलका अरू सदस्यलाई छुन नपाइने, अलग पकाएर खाने, खाएको भाँडा पनि आफैं धोएर अलग राख्नुपथ्र्यो ।
असनकै सजीव बज्राचार्य आफ्ना पुर्खाहरू विदेशबाट फर्केको २ सातासम्म अलग बस्नुपर्ने मान्यता रहेको आफूले पनि सुनेको बताउनुहुन्छ । “म त विदेश पनि गइनँ तर बाले भनेअनुसार विदेश गएर आउनेहरू अलग बस्नुपर्थ्यो रे,” उहाँ भन्नुहुन्छ, “पहिले हाम्रा पुर्खाहरू चीनको तिब्बतबाट सामान ल्याएर यहाँ व्यापार गर्नुहुन्थ्यो । सामान लिन जाँदा महिनौं लाग्थ्यो । फर्केपछि भने उहाँहरू दुई साता अलग बस्नुपर्थ्यो । तर, त्यो चलन हाम्रो पालासम्म आइपुग्दा भने हराइसकेको थियो ।”
आनन्दसिद्धि तुलाधर अहिलेको क्वारेन्टिन र त्यो वेला आफूले अलग बस्दा अपनाउनुपर्ने नियम एउटै भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले क्वारेन्टिन नाम दिएर अलग बस्न जुन आग्रह गरिएको छ, यही मापदण्ड अपनाएर ६० वर्ष पहिले ल्हासाबाट फर्कंदा म बसेको छु ।”
आनन्दसिद्धी क्वारेन्टिनमा बस्दा चपामा बस्न छोडेर घरमै अलग बस्ने क्रम शुरू भइसकेको थियो । तर, उहाँका बा र बाजे भने चपामै १४ दिन बस्नुभएको थियो ।
उहाँ भन्नुहुन्छ, “विस्तारै यो चलन हट्दै गयो । अहिले जुनसुकै देशबाट फर्कंदा पनि सिधै परिवार र समाजसँग सम्पर्क हुन्छ । मैले पनि बिर्सन लागेको यो चलनलाई अहिले कोरोनाले सम्झाइदियो । १४ दिन अलग बस्दा बिरामी पर्यो भने वैद्य बोलाउने र नुहाइधुवाइ गरेर मात्र घर भित्र पस्ने गरिन्थ्यो ।”
अलग बस्नुका कारण
विदेशबाट फर्कनेहरूले १४ दिन अलग बस्नुको दुईवटा कारण थिए । एउटा स्वास्थ्यका दृष्टिकोणले र अर्को धार्मिक आस्थाका कारण । तिब्बत जान हिंडेर एक महिना लाग्थ्यो । यसरी महिनौं हिंड्दा लेक लाग्ने, चिसोमा फैलिने भाइरल रोग लाग्ने सम्भावना धेरै हुन्थ्यो । यो रोग लागेको भए समाजमा कसैलाई नफैलियोस् र लाग्ने जस्तो भए वैद्यले जाँच गरोस् भन्नका लागि अलग्गै बस्ने गरिएको बुढापाकाहरू बताउँछन् । १४ दिनसम्म कुनै रोग नदेखिएमा नुहाइधुवाइ गरी घर जाने चलन थियो ।
यो सँगै अलग बस्नुको अर्को कारण सांस्कृतिक मान्यता हो । त्यति वेला विदेश गएपछि जात जान्छ भन्ने सोचाइ थियो । विदेशमा हुँदा के–के कुरा खाइन्छ, कस्तो मान्छेसँग हेलमेल गरिन्छ । विदेशमा चिनजान नभएका मान्छेसँग खाँदा, बस्दा जात गएको अथवा अशुद्ध भएको मानिन्थ्यो । त्यसैले विदेश गएर फर्केपछि १४ दिन अलग्गै बसेर नजिकैको तीर्थस्थलमा गई नुहाउनुपर्थ्यो ।
राणा शासनमा समाजमा एकजना बडागुरुज्यू राखिएको हुन्थ्यो । विदेश गएर फर्केपछि बडागुरुज्यूसमक्ष ‘म चौध दिन अलग बसें । अब मेरो जात फिर्ता गरिपाऊँ’ भन्दै निवेदन दिएपछि एउटा कागज पाइन्थ्यो । अनि बल्ल उसले आफ्नो समाजमा गएर बस्न पाउने चलन थियो ।
असनमा रहेको ‘यीता चपा’
विदेशबाट फर्किएकाहरू क्वारेन्टिनमा बस्नको लागि बनाइएका ‘चपा’हरूमध्ये एउटा चपा काठमाडौंको असन बजारको चोकमा रहेको अन्नपूर्ण मन्दिरको छेउमा अझै पनि छ । सयौं वर्ष पहिले निर्माण गरिएको यो चपा अहिले जीर्ण अवस्थामा छ । चपाको भुईं तलामा पसल सञ्चालन गरिएको छ भने माथिल्लो तलामा असन सेवा समितिको कार्यालय छ । समितिका पूर्व अध्यक्ष यज्ञरत्न तुलाधर चपालाई टेकोले अड्याइएको बताउनुहुन्छ ।
विदेश गएर फर्केपछि केही दिन अलग बस्नको लागि बनाइएको असनको ‘चपा’ ।
उहाँ भन्नुहुन्छ, “हाम्रा पुर्खाले क्वारेन्टिनको रूपमा प्रयोग गरेको यो घर हाम्रो सम्पदा हो । यसलाई जोगाउनु हाम्रो कर्तव्य हो । तर, यस्तो जीर्ण अवस्थामा हुँदा समेत पुनर्निर्माणको लागि कसैको ध्यान गएको छैन ।”
यज्ञरत्नका अनुसार बहुदल आउनुअघि यस घर (चपा)मा प्रहरी चौकी बसेको थियो । अहिले यसको भाडा उठाउने काम गुठी संस्थाले गर्छ । तर पुनर्निर्माणमा भने गुठीको ध्यान नगएको उहाँ बताउनुहुन्छ ।
“कुन विधिले निर्माण गरेको हो कुन्नि ! न त १९९० सालको भुईंचालोमा भत्कियो न २०७२ सालको भूकम्पमा । अब चाहिं केही हुन्छ कि भन्ने डरले टेको राखिएको छ । यो कहिले स्थापना भएको हो भन्ने पनि थाहा छैन,” उहाँ भन्नुहुन्छ ।
के हो क्वारेन्टिन ?
अहिले प्रचलनमा आएको ‘क्वारेन्टिन’ भनेको कुनै व्यक्ति कोरोना संक्रमण पुष्टि भएको अर्को कुनै व्यक्ति वा क्षेत्रको सम्पर्कमा पुगेको छ भने निश्चित समय ऊ अलग बस्नु हो । यो अवधिमा उसले अन्य व्यक्तिसँग घुलमिल गर्नु हुँदैन । निश्चित अवधि यसरी छुट्टै बससिकेपटि उसमा कुनै लक्षण नदेखिएमा यसमा संकमण छैन भन्ने हुन्छ । अंग्रेजी शब्द क्वारेन्टिन ल्याटिन भाषाको क्वारेन्टा जिओर्नोबाट आएको हो । यसको अर्थ चालीस दिन भन्ने हुन्छ ।
सरकार निर्माण गर्दै ‘होल्डिङ सेन्टर’
नेपाल सरकारले भारतको सीमानाका हुँदै भित्रिने नेपालीलाई सीमामा राखेर चेकजाँच गर्न होल्डिङ सेन्टर निर्माण गरिरहेको छ । गत ५ वैशाखमा मन्त्रिपरिषद् बैठकबाट नेपाल–भारत सीमाका प्रवेश बिन्दुमा एक हजार जना अट्नेगरी होल्डिङ सेन्टर बनाउने निर्णय गरिएको थियो ।
झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगन्ज, रूपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकीमा होल्डिङ सेन्टर बनाउने निर्णय गरे पनि अहिलेसम्म निर्माण हुन सकेका छैनन् ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य स्वच्छताका बारेमा उपभोक्ताले आफूले खानेकुराको स्तर (लेबल) हेर्न अति आवश्यक हुने स्वास्थ्य विज्ञ बताउँछन्। लेबल ख्याल नगरी कतिपय उपभोक्ताले...
बुटवल - बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा ६ अर्ब १८ करोड ७५ लाखको लगानीमा एक हजार दुई सय शय्याको नयाँ १० तले आधुनिक अस्पताल भवन बन्ने...
रामबाबु कार्की बिहानै उठेर आमाबुवालाई ब्युझाँउदा बाहिर सिरसिर बतास चलिरहेको थियो । पानी पर्ला जसरी आकाश अन्धकार देखिन्थ्यो । आमा दुर्गा कुमारी कार्कीलाई २०५९ साल जेठ २०...
वातावरण तथा पर्यावरणविद्हरुले मधेसमा पानीको सङ्कट गहिरिँदै गएकाले समयमै उचित व्यवस्थापनमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ। कदम नचालेमा मधेसमा पानीको सङ्कट आउनसक्ने चेतावनी दिनुभएको छ। जनकपुरधाममा जारी...
नेपालको एक मात्र घुमन्ते फिरन्ते समुदाय हो राउटे समुदाय । जङ्गलमा फिरन्ते जीवन बिताउँदै काठका कोशी मदुस बनाएर गाउँमा गएर अन्न पातसँग साटेर जीविका धान्ने...