• बुधबार, १२ बैशाख, २०८१
  • २३:१६:३२
  • नेपालीको अभिमत

फिचर

डाँडा चढ्दै काठमाडौंको शहरी बस्ती

इन्द्रसरा खड्का

बुधबार, २८ पौष, २०७८

कुनै वेला हराभरा काठमाडौं उपत्यका अहिले कंक्रिटै कंक्रिटको शहर भएको छ । उपत्यकाभित्र खाली जमिन देख्न असम्भव जस्तै भइसकेको छ भने अब त झन् हरियाली जंगलले घेरिएका डाँडाकाँडामा पनि कंक्रिटकै संरचनाहरू निर्माण हुन थालेका छन् ।

उपत्यकामा निर्माण भएका सडक, भवनमा सिमेन्ट/बालुवाको प्रयोग हुन थालेपछि ढुंगेधारामा पानी आउन छोडेको छ । ढुंगेधारा विज्ञ सुशील श्रेष्ठ भन्नुहुन्छ, “उपत्यकालाई कंक्रिटले ध्वस्त पार्‍यो । पहिले खुला चौर हुन्थ्यो, पानीका मुहान हुन्थे, ढुंगेधारामा पानी आउँथ्यो । अहिले बाटोघाटो जताततै कालोपत्रे हुँदा र खुला चौरमाथि भवन बन्दा ढुंगेधारा नै बन्द भए ।”

उपत्यकाबाट उत्तरतिर चाँदी जस्तै टल्किने हिमशृंखला गगनचुम्बी भवन बन्न थालेपछि देखिन छोडेका छन् । भौतिक गतिविधिले उपत्यकालाई यतिसम्म कुरुप बनायो कि– ललितपुर, भक्तपुर र काठमाडौंको समथर भूभागमा ठाउँ नभएपछि अब शहर उकालो चढ्न थालेको छ । हरियाली डाँडाकाँडामा पनि कंक्रिटकै संरचना बन्न थालेका छन् ।

काठमाडौं, अनामनगरकी सेती श्रेष्ठलाई आजभोलिको काठमाडौंले उकुसमुकुस बनाउँछ । पहिले घट्टेकुलो चोकबाट हेर्दा बानेश्वरको पहाडमा हरियाली जंगल थियो । घरहरू फाट्टफुट्ट देखिन्थे । बस्ती भएको ठाउँ वरिपरि खेतबारी थियो । यहाँका नागरिकले गाईभैंसी, बाख्रा पाल्थे । बारीमा जे लगाए पनि प्रशस्त फल्थ्यो । तर, अहिलेको जस्तो बजार नहुँदा उब्जाउ गरेको खाद्यन्न बिक्री गर्ने ठाउँ थिएन । जसले गर्दा पैसाको भने समस्या हुन्थ्यो ।

२०२० सालमा धरमथलीबाट बिहे गरी अनामनगर आउनुभएकी श्रेष्ठ भन्नुहुन्छ, “पहिले त काठमाडौं अर्कै थियो, धोवीखोलाको पानी पिउथ्यौं, घट्टेकुलोको पानीले घट्टमा गहुँ पिस्थ्यौं । आफ्नै बारीमा काम गथ्र्यौं । अब त जताततै आकाश छुने घर, वल्लो–पल्लो घर नै देखिन छोड्यो ।”

अनामनगर सिंहदरबारको आडैमा पर्छ । तर, सिंहदरबारभित्र पस्न न्युप्लाजा, पुतलीसडक हुँदै घुमेर जानुपथ्र्यो । अहिलेको जस्तो बाटो थिएन, जताततै जंगल मात्र थियो । अर्को ठाउँमा भएको मान्छेलाई कामको लागि बोलाउनुपर्दा ठूलो डाँको छोडे पुग्थ्यो ।

सिंहदरबारमा सैनिकले वेला–वेलामा बिगुल बजाएको सुनिन्थ्यो । सैनिकले बजाएको बिगुल सुन्दै बारीमा काम गर्नुको रमाइलो अर्कै हुन्थ्यो । दशैंताका असनबाट उडेर आएका चंगा सिंहदरबारभित्र पस्थे । अहिलेको जस्तो धुवाँधुलो त्यतिखेर थिएन । “पहिलेको तुलनामा अहिलेको काठमाडौं आकाश–पातलले फरक भयो,” उहाँ भन्नुहुन्छ, “अहिले जतासुकै मान्छैमान्छे, घरैघर, धुवाँधुलो ! अहिलेको भन्दा त पहिलेकै काठमाडौं रमाइलो थियो ।”

उपत्यकामा बाढी र पहिरोको जोखिम बढ्न सक्छ 

किशोर थापा, शहरी योजना र हाउजिङ विज्ञ

पहिले काठमाडौं शहर भनेको रिङरोडभित्र थियो । त्यसपछि बाहिर गयो । अब बिस्तारै डाँडापाखामा चढ्दैछ । उपत्यकामा बाहिरबाट बसाइँ सर्नेहरूको क्रम बढ्दै गएको छ । यति वेला उपत्यकाभित्र सस्तोमा जग्गा पाइने भनेको डाँडापाखामै हो । त्यसैले सस्तोमा जग्गा किन्दै धमाधम संरचना निर्माण हुन थाले ।  निम्न वर्गीय  परिवारहरू डाँडातिर लाग्न थाले ।

व्यवसायीहरू पनि जग्गा ‘प्लटिङ’को लागि माथि–माथि चढ्न थाले । यसले के असर पर्‍यो भन्दा– पहिलो कुरा त ती डाँडामा पनि उब्जाउ हुने जमिन थियो त्यो नासियो, अर्को हरियाली जंगल फडानी भयो । जंगल नासिंदा पानीको मुहान सुक्दै गयो भने अर्कोतर्फ यसले उपत्यकाको सौन्दर्यता हरायो । यस्ता जमिनलाई संरक्षण गरी त्यहाँ बस्ती बसाल्न रोक लगाउने हाम्रो कुनै नीति र ऐन भएन । डाँडाकाडाँमा बस्ती बस्दा पानीका स्रोत सुक्ने त छँदैछ अर्को डाँडाकाँडामा डोजर लगाएर खन्ने क्रम बढ्दा जोखिम निम्तन्छ । यसले उपत्यकालाई बाढी र पहिरोको जोखिममा पार्छ ।

सरकारले उपत्यकामा कति प्रतिशतमा बस्ती बसाल्ने, कति प्रतिशतमा हरियाली जंगल कायम राख्ने र कति प्रतिशतमा खेतीपाती गर्ने भन्नेबारे भू–उपयोग नीति बनाएर कार्यान्वयन गर्नुपर्छ । यो विषयमा स्थानीय सरकार उत्तिकै जिम्मेवार हुनुपर्छ । स्थानीय तहले राजस्वको लागि पनि धमाधम नक्सा पास गर्दै भौतिक संरचना निर्माण गर्न दिएका छन् । यो कार्य गैरजिम्मेवारपूर्ण हो, यसलाई रोक्नुपर्छ ।

 

अनामनगरकै श्यामकृष्ण महर्जनलाई वातावरणीय हिसाबले पहिलेको काठमाडौं राम्रो लागे पनि आर्थिक, शैक्षिक पाटोबाट भने अहिलेकै काठमाडौं ठिक लाग्छ । उहाँ भन्नुहुन्छ, “विकासको हिसाबले अहिले राम्रो तर डाँडाकाँडा नै विनाश हुनेगरी भएको विकास भने राम्रो भएन ।”

काठमाडौं उपत्यकाको सीमा पूर्वको मागोदावरी भञ्ज्याङ्ग, त्रिवेणी डाँडा र पार्टी भञ्ज्याङको सिरानै सिरान हुँदै अमालडोलको पूर्वपट्टिको पानीढलो भई रोहिणी भञ्ज्याङ्ग र किर्तिके भञ्ज्याङ्गको सिरानै सिरान हुँदै मंचुरी लेख र चिपुडाँडाको सिरानसम्म हो ।

पश्चिममा सिमपानी, काजी गाउँ, भट्टारचौर, दक्षिणकाली, तालुक, गुरदम खोला हुँदै चखेलको उत्तरपट्टिको पानीढलो, चन्द्रगिरि, सिमभञ्ज्याङ्ग, मसिनी गाउँको पूर्वपट्टिको पानीढलो, दहचोक डाँडा, मजुवा गाउँ, भीमढुंगा थुम्कीको पूर्व पट्टिको पानीढलो भई मुड्खु र पाँचमाने भञ्ज्याङ्गसम्म पर्छ ।

यस्तै; उत्तरमा पाँचमाने भञ्ज्याङ्ग र शिवपुरी लेकको सिरानै सिरान हुँदै बोलांग र चिपुडाँडासम्म तथा दक्षिणमा गोदावरी भञ्ज्याङ्गको सिरानै सिरान हुँदै ढुंगाखानी खोलाको पानीढलो, भगवान डाँडा र लेले भञ्ज्याङ्गको सिरानै सिरान हुँदै देउराली थुम्की, बाबिया गाउँ, मानेको दक्षिणपट्टिको पानीढलो भई बागमती नदी हुँदै सिमपानीसम्म पर्छ । जम्मा ६ सय ४२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको काठमाडौं उपत्यकामा १८ वटा पालिका छन् ।

उपत्यकाका डाँडाकाँडामा धमाधम बस्ती बस्न थाले पनि यो विषयमा कसले आवाज उठाउने भन्ने विषयमा जिम्मेवार निकाय भने एकअर्कालाई देखाई आफू उम्कने बाटो देखाउँछन् । ललितपुर, भक्तपुर र काठमाडौंका पालिकाले आ–आफ्नो क्षेत्रभित्र मात्र हेर्ने भएकाले डाँडाकाँडामा बन्ने संरचना आफूहरूको अधिकारभित्र नपर्ने जिम्मेवार व्यक्ति बताउँछन् ।

नीतिविहीन काठमाडौं उपत्यका विकास प्राधिकरण

उपत्यकाको बढ्दो शहरीकरण, डाँडाकाँडामा बन्दै गएका संरचनाबारे सरकार बेखबर छ । शहरीकरणको विषयमा काम गर्ने निकायहरू पनि एकअर्काको जिम्मा भन्दै पन्छिएका छन् । उपत्यकाको शहरीकरणबारे काम गर्दै आएको काठमाडौं उपत्यका विकास प्राधिकरण पनि यो विषयमा मौन छ । यो विषयमा नेपालमतले चासो राख्दा प्राधिकरणका प्रवक्ता नारायणप्रसाद भण्डारीले भू–उपयोग नीति नै नभएकोले काम गर्न समस्या भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “हाम्रो काम भनेको उपत्यकामा बनेका भवन, सडकहरूको अनुगमन र समन्वय गर्ने हो । डाँडाकाँडामा बन्दै गरेका संरचनाबारे सम्बन्धित पालिका जिम्मेवार हुनुपर्छ ।”

यो विषयमा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल व्यक्तिगत जग्गा किनेर कसैले बस्नलाई घर बनाउँछ भने त्यसलाई रोक्न नसकिने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सार्वजनिक जग्गा मिचिएको छैन, व्यक्तिले आफ्नो जग्गामा संरचना निर्माण गर्छ भने यसमा हामीले के भन्नु ? तर पनि अब यो विषयमा एकपटक अनुगमन गर्छाैं ।”

बुढानीलकण्ठमा सुकुम्बासी बस्ती रहेकाले पहिले टहरा बनाएर बसेकाहरू अहिले घर निर्माण गरेर बसेको भन्दै नगरप्रमुख खरेल पालिकाले यसका लागि भू–उपयोग नीति बनाउन नसकेको बताउनुहुन्छ । उहाँ भन्नुहन्छ, “यो नीति बनाउन विषेशज्ञ चाहियो, विशेषज्ञलाई ल्याउन करोडौं रकम खर्चनुपर्छ । एक त आर्थिक पाटो रह्यो, अर्को हाम्रो कार्यकालमा कोरोनाको समस्या हुँदा पनि यो नीति बनाएर काम गर्नै सकेका छैनौं ।”

छुट्टै शहरी योजना र मापदण्ड बनाउनुपर्छ

सूर्यराज आचार्य, पूर्वाधारविद्

काठमाडौं उपत्यकाको शहरी विकासको कुरा गर्दा दुई/तीन कुरामा ध्यान दिनुपर्छ । शहरी विकासको योजना बनाउँदा ध्यान दिनुपर्ने कुरा के हो भने व्यवस्थित शहरीकरणको पक्ष त भई नै गयो; सँगै शहरको भूगोल, स्वरुप प्राकृतिक जोखिमदेखि लिएर वातावरणीय र भौगोलिक अवस्थालाई ध्यानमा राखेर नियमनको अवस्था हुनुपर्छ । काठमाडौं प्राकृतिक रूपमा सुन्दर ठाउँमा भए पनि अस्तव्यस्त शहरीकरणको चपेटामा परेको अवस्था छ । 

शुरूमा शहरमा बस्दा खुशी हुनु क्षणिक हुन्छ । फेरि सक्नेले प्रकृतिलाई खोज्दै–खोज्दै जान्छ । पछिल्लो समयमा काठमाडौंको मध्य भाग बानेश्वर, सानेपा, महाराजगञ्ज, बालुवाटारमा बस्ने मध्यम वर्गीयहरू अलि पर बुढानीलकण्ठ, गोदावरी लगायतका अलि फराकिलो ठाउँ खोज्ने चलन बढेको छ ।

यसमा दुई किसिमको प्रवृत्ति देखिएको छ । एकथरि; उपत्यकामै बस्न चाहने तर शहरको भित्री भागमा महंगो हुनाले डाँडापाखाको जग्गा लिने गरेको देखिन्छ । अर्कोथरि चाहिं; सम्पन्नले डाँडाकाँडा, भिरालो ठाउँमा अलि धेरै जग्गा लिएर त्यसमा आवास, रिसोर्ट, होटेलको लागि प्रयोग गरिरहेका छन् ।

यी दुईवटै कुरामा सरकारी तहबाट नियम र मापदण्डको व्यवस्था हुनुपर्छ । डाँडापाखा चढ्नुले अर्को समस्या पनि निम्त्याउँछ । डाँडाको जमिन खारेर आफूलाई पनि जोखिम बनाउने र वरिपरिलाई पनि जोखिम बढाउने हुन्छ । जमिन खारेर घर बनाउँदा माथिको ठूलो पहाडलाई नै खलबल्याइदिन्छ । एउटा यो समस्याको जोखिम बढ्दैछ भने अर्को पर्यटकीयस्थल नासिंदै गएको छ ।

उपत्यकाका डाँडाकाँडा पर्यटकलाई आकर्षक गर्ने किसिमका छन् । तर, त्यहाँ बनेका संरचनाहरूले प्राकृतिक सौन्दर्यतालाई बिगारेका छन् । डाँडाकाँडाको विकासमा सरकारले छुट्टै शहरी योजना, छुट्टै शहरी मापदण्ड र त्यसका हरेक संरचनाको प्राकृतिक सुन्दरताको हिसाबले लेखाजोखा गर्नुपर्छ । 

धुलिखेल, नगरकोट लगायत काठमाडौं वरिपरिका डाँडाकाँडाहरूमा भौतिक संरचना बनाउँदा जमिन भयो कि भएन, कति तले र कस्तो बनाउने भन्दा पनि त्यहाँको ठाउँ अनुसार मिल्ने छ कि छैन भनेर हेर्नु पर्छ । त्यहाँ बनाएको संरचनाले वरिपरिको सौन्दर्यतालाई निबागार्ने हुनुपर्ने शर्त सहितको मापदण्ड सरकारले लागू गर्नु पर्छ । 

प्राकृतिक स्रोतलाई कटान गर्दा प्राकृतिक सौन्दर्यतासँग मिल्दोजुल्दो हुनुपर्छ । यसको मतलब काठमाडौं वरिपरिको जमिन छुनै नहुने, संरचना बनाउनै नहुने भनेको होइन । सार्वजनिक जमिनमा संरचना बनाउँदा शहरी विकासको मापदण्ड तयार पानुपर्छ ।

इन्द्रसरा खड्का

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

बुधबार, २८ पौष, २०७८

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved