• शुक्रबार, १४ बैशाख, २०८१
  • ०३:३४:०३
  • नेपालीको अभिमत

व्यक्ति-कथा

‘पीडालाई नै मजाक बनाएर जिइरहेको छु’

इन्द्रसरा खड्का

सोमबार, २६ पौष, २०७८

दाङको लमही नगरपालिका–५, आनन्दनगरका सन्तोष खनालको दुवै खुट्टा घुँडामुनि काटिएका छन् । सामान्य हिंडडुलको लागि कृत्रिम खुट्टाको सहारा लिनुपरेको छ । तर, दिनचर्या भने व्यस्त छ– बिहान पढाइ, दिउँसो काम ।

उहाँ दाङको लमही नगरपालिकामा कम्प्युटर अपरेटरको रूपमा कार्यरत हुनुहुन्छ । “भाग्यले पो यस्तो बनायो त ! अब ती दिन सम्झँदै रुनुभन्दा इलम गर्नुपर्छ भनेर मनोबल बढाएँ र कामको खोजी गरें । अहिले नगरपालिकामा काम गरिरहेको छु,” सन्तोषले भन्नुभयो । सन्तोषको घरबाट लमही नगरपालिकाको कार्यालय करिब एक किलोमिटरको दूरीमा छ । उहाँलाई कार्यालय जान–आउन कार्यालयकै कर्मचारीले सघाइरहनुभएको छ ।

दुःख लेखेको खप्परमा सधैं दुःखै हुँदो रहेछ !

सन्तोषले सानैदेखि दुःख गरेर पढ्नुभयो । परिवारको आर्थिक अवस्था त्यति राम्रो थिएन । उहाँको परिवारमा आमाबुवा र एक भाइ हुनुुहुन्छ । आमाबुवा खेतबारीमा काम गर्नुहुन्छ । आमाबुवाले खेतीकिसानी गरेरै दुई छोरालाई पढाउनुभयो ।

२०६७ सालमा एसएलसी दिएपछि सन्तोष कामको लागि भारत जानुभयो । शुरूमा कानपुरमा आलुको कोल्ड स्टोरमा काम पाउनुभयो । काम थियो आलु ओसार्ने । आलुका ठूल–ठूला बोरा बोक्न नसक्दा काम छोड्नुभयो । त्यसपछि कन्नौज जिल्लाको छिबरामऊ जानुभयो । त्यहाँ विद्युत् सबस्टेशनमा काम पाउनुभयो तर काम साह्रै गाह्रो थियो ।

फेरि हरियाणातिर लाग्नुभयो । त्यहाँ कान्छोबुवा हुनुहुन्थ्यो । कान्छोबुवाले आफू काम गर्ने कम्पनीमा काम लगाइदिनुभयो । फ्रिजको पाटपूर्जा निर्माण गर्ने कम्पनी थियो त्यो । केही समय त्यहाँ काम गरेपछि नेपाल फर्किनुभयो ।

“अपाङ्गता भएका व्यक्तिलाई समाजले मात्र होइन, सरकारले पनि उस्तै व्यवहार गर्छ । जबसम्म सरकारले हामी जस्ताको कुरा सुन्दैन, दुःख देख्दैन तबसम्म हामीमाथिको विभेद रहिरहन्छ ।”

यसबीचमा एसएलसीको नतिजा पनि सार्वजनिक भयो । उहाँ पास हुनुभयो । उहाँलाई प्राविधिक विषय लिएर पढ्ने मन थियो तर परिवारको आर्थिक हैसियत बाधक बन्यो ।

प्राविधिक विषय पढ्न आर्थिक स्रोतले नभ्याउने भएपछि रहरलाई मनभित्रै गुम्स्याएर कमर्श लिएर प्लस टु गर्नुभयो । त्यसपछि बीबीएसमा भर्ना हुनुभयो र साथमा काम पनि खोज्न थाल्नुभयो । 

काम खोज्ने क्रममा लमहीको रातोडारामा रहेको श्रीराम डिजेल पम्पमा काम पाउनुभयो । मासिक आठ हजार रुपैयाँ तलब थियो । केही समय जागिर र पढाइ सँगसँगै चल्यो ।

यसपछि भने उहाँलाई आफ्नै उद्यम गर्न मन लाग्यो र सेकेन्ड ह्यान्ड मोटरसाइकलको कारोबार गर्न थाल्नुभयो । बिहान कलेज जानुहुन्थ्यो दिउँसो आफ्नै व्यवसाय । आम्दानी राम्रै भइरहेको थियो । एक वर्षमै चारकोठे घर पनि बनाउनुभयो । यसपछि भने उहाँमाथि बज्रपात आइलाग्यो ।

दुर्घटनाले जिन्दगी नै मोडियो

१९ फागुन २०७३ को साँझ कामको सिलसिलामा लमही बजार निस्कनुभएको थियो । बजारको सडक छेउछाउमा  ठेलागाडा जहिले अव्यवस्थित । सडकमा आवतजावत गर्न समेत मुस्किल पर्ने । साँझपख झन् ठेलागाडामा व्यापार गर्नेको संख्या बढ्दैथियो । उहाँ गइरहेको विपरीत दिसाबाट ट्रक आइरहेको थियो । त्यहीवेला ठेलागाडा चलाइरहेका एक व्यक्तिले अचानक ठेलागाडा मोडे । यताबाट ठेलाले धकेल्दा अर्को दिसाबाट आएको ट्रकले सन्तोषलाई किच्यो ।

उहाँका दुवै खुट्टा कच्याककुचुक भए । लमहीमा राम्रो अस्पताल थिएन । काठमाडौं जानको लागि रगत धेरै बगिसकेकोले असम्भव थियो । त्यसपछि उहाँलाई चितवन लगियो । उपचारका क्रममा दुवै खुट्टा फाल्नुपर्‍यो । त्यसपछि शुरू भयो सन्तोषकोे ह्वीलचियरको जिन्दगी । चार महिनाको अस्पताल बसाइ । त्यसपछिका दिनमा पनि कहिले भारत कहिले नेपालका अस्पतालमा बिते ।

“पढाइ रोकियो, सपना उडे । अहिले पनि वेलावेला घाउ दुखिरहन्छ । टाउको सहन नसक्नेगरी दुख्छ । जिन्दगीले कहाँबाट कहाँ पुर्‍यायो !” नेपालमतसँग सन्तोषले पीडा पोख्नुभयो । उहाँलाई भोलि यो बन्छु, यस्तो गर्छु भन्ने खासै ठूलो सपना थिएन । पढाइ सकेर आफूले गर्नसक्ने केही इलम गरेर आमाबुवालाई सुखमा राख्छु भन्ने थियो । “सोचे जस्तो कहाँ हुन्छ र ! नियतिले आज यस्तो अवस्थामा पुर्याइदियो,” सन्तोष भन्नुहुन्छ ।

अपाङ्गता भएका व्यक्तिलाई गाह्रै गाह्रो

अपाङ्गता भइसकेपछि मान्छेको हेर्ने दृष्टिकोण नै फरक हुँदो रहेछ भन्ने लाग्छ सन्तोषलाई । “क्षमता अनुसारको काम गर्न खोज्दा पनि ‘सक्छ त ?’ भन्ने प्रश्न गर्छन्,” उहाँ भन्नुहुन्छ, “जागिरको लागि पनि नेतालाई हात जोड्नुपर्छ । सपाङ्गले नै जागिर नपाएको वेला हामी जस्तालाई कसले पत्याओस् !”

जागिर मात्र होइन अपाङ्गता भएका व्यक्तिलाई हिंडडुल गर्न पनि उत्तिकै गाह्रो रहेको उहाँको अनुभव छ । बाटोदेखि भौतिक संरचना पनि अपाङ्गमैत्री नभएकोमा सन्तोषलाई दुःख लाग्छ ।

“मलाई विचरा भनेको मन पर्दैन । विचरा त भिख मागेर खानेहरूलाई भन्छन् । म त आफ्नै मिहिनेतले खाएको छु । दिमाग छ, हात छन्, काम गरिरहेको छु, संघर्ष गरिरहेको छु ।”

“म काम गर्ने कार्यालय त अपाङ्गमैत्री नै छ । तर, सबै कार्यालय नहुन सक्छन् । हामी जस्ताका लागि जागिर र भौतिक संरचनामा सरकारले ध्यान दिनैपर्छ,” उहाँ भन्नुहुन्छ, “अपाङ्गता भएका व्यक्तिलाई समाजले मात्र होइन, सरकारले पनि उस्तै व्यवहार गर्छ । जबसम्म सरकारले हामी जस्ताको कुरा सुन्दैन, दुःख देख्दैन तबसम्म हामीमाथिको विभेद रहिरहन्छ ।”

‘विचरा’ भनेको मन पर्दैन !

सन्तोष कहिलेकाहीं दुःख भुलाउन सामाजिक सञ्जालमा पस्नुहुन्छ, टिकटक चलाउनुहुन्छ, लाइभमा बस्नुहुन्छ । धेरै जनाले उहाँको अवस्था देखेर ‘कठै’, ‘विचरा’ भनेर प्रतिक्रिया लेख्नुहुन्छ । तर, उहाँलाई विचरा भनेको मन पर्दैन । उहाँ भन्नुहुन्छ, “मलाई विचरा लेखेको मन पर्दैन । विचरा त भिख मागेर खानेहरूलाई भन्छन् । म त आफ्नै मिहिनेतले खाएको छु । दिमाग छ, हात छन्, काम गरिरहेको छु, संघर्ष गरिरहेको छु ।”

पीडालाई नै मजाक बनाएर जिउनुहोस्

विभिन्न कारणले अपाङ्गता हुन पुगेकाहरूलाई निराश भएर नबस्न सन्तोष सल्लाह दिनुहुन्छ । कसले के भन्छ भन्दा पनि यस्तो अवस्थामा आफूले के काम गर्न सक्छु भन्ने सोचेर आफूलाई व्यस्त राख्नुपर्छ ।

“दुःख नभएको मान्छे हुँदैन । जो त्यही दुःखलाई साथी बनाएर मनैदेखि सन्तोष हुन्छ त्यो खुशी मान्छे हो,” उहाँ भन्नुहुन्छ, “जो जुन पीडामा हुनुुहुन्छ त्यही पीडालाई नै मजाक बनाएर खुशी हुनुहोस् । अरूको अगाडि खुलेर हाँस्नुहोस् । ता कि कसैले तपाईंलाई भनोस्– यो यस्तो अवस्थामा त खुशी छ भने म किन खुशी नहुने ?”

इन्द्रसरा खड्का

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

सोमबार, २६ पौष, २०७८

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved