• बिहीबार, १३ बैशाख, २०८१
  • १७:४२:३१
  • नेपालीको अभिमत

व्यक्ति-कथा

मिस्टर नेपाल हुँदै अन्तर्राष्ट्रिय उपाधि विजेता बनेका डाक्टर सन्तोष राजनीतिमा

गीताञ्जली दाहाल

शनिबार, २४ पौष, २०७८

छामको मङ्गलसेन नगरपालिकाका सन्तोष उपाध्याय पेशाले डाक्टर हुनुहुन्छ । यो सँगै उहाँ राजनीति र मिडिया क्षेत्रमा पनि आबद्ध हुनुहुन्छ । उहाँले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगिताहरूमा सहभागिता जनाइसक्नुभएको छ । त्यस्तै; राजनीतिमा पनि सक्रिय उहाँ भर्खरै सम्पन्न नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनुभएको थियो ।

मिस्टर नेपालदेखि मिस्टर सुप्रानेशनलसम्मको यात्रा

सन्तोषले सन् २०१९ मा ‘मिस्टर नेपाल’मा भाग लिनुभयो । यसमा पाएको सफलताले उहाँलाई सन् २०२० मा मिस्टर सुप्रास्टारमा सहभागिता जनाउने हौसला मिल्यो । यो प्रतियोगितामा उहाँले प्रथम उपाधि हात पार्नुभएको थियो ।

त्यस्तै; उहाँले सन् २०२१ मा मिस्टर सुप्रानेशनलमा भाग लिनुभयो । पोल्यान्डमा भएको यस प्रतियोगितामा उहाँ तेस्रो रनरअप हुनुभएको थियो ।

सन्तोषले सन् २०१४ मा ‘बिम अफ होप’ नामक संस्था सञ्चालन गर्नुभएको थियो । उक्त संस्था चलाउँदाको अनुभवले उहाँलाई मिस्टर नेपाल, मिस्टर सुप्रानेशनल जस्ता प्रतियोगितामा सहभागिता जनाउन बल पुग्यो ।

राजनीतिमा दक्ष व्यक्तिको अभाव रहेको बोध

सन्तोष एमबीबीएस सकेर गृह जिल्ला अछाम फर्कनुभयो । त्यहाँ चिकित्सकको रूपमा काम गर्दा हरेक क्षेत्रमा राजनीति हाबी देखेपछि उहाँलाई राजनीतिमा दक्ष युवाशक्तिको खाँचो छ भन्ने लाग्यो ।

उसो त उहाँमा स्कूलदेखि नै राजनीतिक ज्ञान घुसेको थियो । स्कूल पढ्दा कक्षा ‘क्याप्टेन’ र उच्च शिक्षा हासिल गर्ने क्रममा नेपाल विद्यार्थी संघ, इकाइ सभापति बनिसक्नुभएको थियो ।

एक दाइ र एक दिदीपछिका सन्तोषका बुबा इन्जिनियर हुनुहुन्छ । इन्जिनियर बुबाका छोरा उहाँको आर्थिक पाटो मजबुत थियो नै त्यसमाथि छात्रवृत्तिमा एमबीबीएस पढ्नुभएकोले अन्य क्षेत्रमा लाग्न आर्थिक कारणले व्यवधान गरेन । परिवारबाट पनि यसमा साथ–सहयोग नै रह्यो ।

सामाजिक कार्यमा रुचि

सन्तोषको पहलमा देशका विभिन्न क्षेत्रमा सामाजिक कार्यहरू भएका छन् । हालसम्म उहाँले ३२ भन्दा बढी स्वास्थ्य शिविर, महिला सशक्तीकरण (सेल्फ डिफेन्स) का तालिम दिइसक्नु भएको छ ।

त्यस्तै; उहाँको टीमले २०७२ सालको विनाशकारी भूकम्पको समयमा सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र भक्तपुरका विभिन्न ठाउँमा राहत वितरण कार्य गरेको थियो । सिन्धुपाल्चोकको साविक दुवाचौर गाविसको दोङ गाउँमा १२ वटा घर बनाएको उहाँ बताउनुहुन्छ ।

उहाँको योगदान शिक्षा क्षेत्रमा पनि छ । विद्यार्थीलाई पढ्ने वातावरण सहज होस् भन्ने हेतुले उहाँले ‘बिम अफ होप’ अन्तर्गतकै ‘प्लान्ट युअर बुक्स’ नामक परियोजना सञ्चालन गर्नुभएको छ । यस संस्थाले देशका विभिन्न स्थानमा पुस्तकालय खोल्ने कार्यमा सहजीकरण गर्दै आएको छ ।

यसरी बन्यो पुस्तकालयको अवधारणा

‘प्लान्ट युअर बुक्स’ परियोजना स्वास्थ्य, शिक्षा तथा वातावरणमा आधारित छ । दुर्गम गाउँका पर्याप्त पुस्तक नभएका विद्यालयमा पुस्तकालय स्थापना गरी विद्यार्थीलाई पढ्ने वातावरण सहज बनाउने प्लान्ट युअर बुक्सको उद्देश्य रहेको छ ।

अछामका प्रायः विद्यालयमा पुस्तक नपुगेको भन्ने थाहा पाएपछि सन्तोषमा पुस्तकालय खोल्ने सोच पलायो । “अछामका विद्यालयमा वार्षिक परीक्षा नजिकिंदासम्म पनि कृषि विषयको पुस्तक नपुगेको भन्ने थाहा पाएपछि सहयोग गरौं भन्ने लाग्यो । शुरूमा १५ सय पुस्तक सहयोग गरेको थिएँ,” उहाँ भन्नुहुन्छ । 

राजनीतिमा चासो

उमेरले तीन दशक पार गर्नुभएका सन्तोषलाई राजनीतिमा प्रवेश गर्न अलि ढिला भएको हो कि भन्ने लागेको छ । “एमबीबीएस नभई अन्य विषय पढेको भए अलि छिटो राजनीतिमा प्रवेश गर्ने अवसर मिल्ने रहेछ तर ढिलै प्रवेश भए पनि जनताले मेरो कामको मूल्याङ्कन गरिदिनुभएको छ/गरिदिनुहुनेछ भन्नेमा विश्वस्त छु,” उहाँ भन्नुहुन्छ “युवाहरू राजनीतिमा आउँदैमा मात्र राम्रो हुन्छ भन्ने होइन, क्षमतावान् हुनुपर्‍यो । जति पनि अग्रजहरू हुनुहुन्छ उहाँहरूले ४०र४५ वर्ष कटेपछि नेतृत्व लिनुभएको हो । अहिले ७५ वर्षको हुँदासम्म उहाँहरूले नै नेतृत्व सम्हालिरहनुभएको छ ।”

देश विकासमा समर्पित हुने संकल्प

अछामलाई विकासको ग्राफमा माथि उकास्न शिक्षा र स्वास्थ्यबाट सकारात्मक भूमिका निर्वाह गर्ने सन्तोषको योजना छ । कुनै पनि क्षेत्र वा देश सक्षम हुन राजनीतिक चेतना जरुरी रहेको र यसका लागि शिक्षा अति आवश्यक रहेको उहाँ ठान्नुहुन्छ ।

“हाम्रो देश विकास नहुनुमा शिक्षा र राजनीतिक चेतनाको अभावले गर्दा हो । व्यवसाय, रोजगारीदेखि प्रत्येक कुरामा शिक्षा नै आवश्यक पर्छ । देश निर्माणका लागि शिक्षा सबैभन्दा पहिलो प्राथमिकता हो,” उहाँ भन्नुहुन्छ ।

अछामबाट शुरू भएकोे प्लान्ट युअर बुक्सको परियोजना देशैभरि पुर्‍याउने सन्तोषको योजना छ । यस परियोजनाका लागि धेरैतिरबाट समर्थन प्राप्त भएको उहाँ बताउनुहुन्छ । डाक्टरी पेशासँगसँगै राजनीति मार्फत समाज रूपान्तरणका लागि अगाडि बढ्ने उहाँको संकल्प छ ।


 

गीताञ्जली दाहाल

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

शनिबार, २४ पौष, २०७८

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved