• शनिबार, ८ बैशाख, २०८१
  • १४:५६:२६
  • नेपालीको अभिमत

अभिमत

वैकल्पिक राजनीतिका हिमायती रविन्द्र मिश्रको फेरिएको रङ्ग

भानु बोखिम

आइतबार, १८ पौष, २०७८

विन्द्र मिश्रले पत्रकारिता छोडेर राजनीतिमा लाग्दै गर्दा युवा जमातमा उत्साह भरिएको थियो । उहाँलाई एक राजनीतिक नेताको रूपमा उचाइ लिन समय लागेन । चाँडै सगरमाथा चढ्नेले ओर्लिन पनि समय लगाउँदैन भने जस्तै राजनीतिको रङ्ग फेर्छु भन्ने मिश्र अहिले आफ्नै रङ्ग फेरेर मजाकको पात्र बनिरहनुभएको छ ।

मिश्र पत्रकारिताको क्षेत्रमा उचाइ बनाउनुभएको व्यक्तित्व हो । भलै; उहाँले पत्रकारिता मार्फत स्थापित गर्न खोजेको कुनै कुनै भाष्य आफैंमा संकुचित थियो । उहाँ व्यक्ति विशेषसँगको अन्तर्वार्ताको क्रममा ‘नेपाली पहिले कि उसको समुदाय पहिले ?’ भनेर सोध्नुहुन्थ्यो ।

यद्यपि; सिंगो पत्रकारिता जीवनमा उहाँले सोधेका प्रश्नले जनताको सवाल सम्बोधन गरेका थिए । शहर बजारदेखि ग्रामीण भेगका मानिसको मनोविज्ञानलाई बुझेका थिए । पत्रकारितामा मिश्रले छुट्टै मानक खडा गर्नुभएको थियो । अन्तर्वार्ताको क्रममा उहाँको शैलीमा प्रश्न गर्ने पत्रकारहरू अहिले पनि भेटिन्छन् । यो अर्थमा मिश्र पत्रकारितामा एक सफल व्यक्तित्व हो ।

धेरैलाई लागेको थियो, पत्रकारिता मार्फत मिश्रले जनताको पीरमर्का बुझ्नुभएको छ । समाज र सामाजिक संस्थाको अन्तरसम्बन्ध बुझ्नुभएको छ । समाज र सामाजिक संस्थाको अन्तरसम्बन्धभित्र विकास हुने राजनीतिक घटनाक्रमलाई राम्ररी बुझ्नुभएको छ । अफसोस, समयले विस्तारै उहाँको राजनीति एक रुमानी सपना मात्र हो भनेर प्रमाणित गर्दैछ । रुमानी सपना व्यवहारमा लागू हुन कठिन छ । यस्तो वेला कति स्वप्नदर्शीहरू आत्तिएर आफूले हिंड्ने बाटो छोडेर अर्कै लिगमा दौडिन शुरू गर्छन् । मिश्रमा पनि त्यही प्रवृत्ति बढ्दो छ । परिणामतः उहाँ ठूला दललाई गाली गर्नुहुन्छ भने राप्रपा जस्तो पुरातन पार्टीसँग सहकार्यको अथाह सम्भावना देख्नुहुन्छ ।

रविन्द्र मिश्रले आन्दोलनबाट स्थापित मुद्दा उल्ट्याउन खोज्नुभएको छ । यसले समाजमा शान्ति होइन द्वन्द्व निम्त्याउँछ । मिश्रको वैकल्पिक राजनीतिको नारा फगत नारा मात्र सावित भएको छ । 

पत्रकारितामा कमाएको लोकप्रियता मिश्रलाई राजनीतिको शुरूवाती दिनमा लाभप्रद ठहरियो । यही कारण आफ्नो निर्वाचन क्षेत्रमा कांग्रेसका अनुभवी नेता प्रकाशमान सिंहलाई आच्छु, आच्छु पार्नुभयो । यो उहाँप्रतिको विश्वास थियो । यो विश्वास उहाँले पत्रकारिता गर्दाको समयमा उठाएका प्रश्नहरू मार्फत प्राप्त गर्नुभएको थियो । पत्रकारिता मार्फत ठाउँ दिएका विषय तथा मानिसका कथाहरू मार्फत आर्जन गरेको मत थियो । साथै, उहाँको अध्ययन र उहाँले पाएको अवसरसँग पनि यो विश्वास जोडिएको थियो । त्यही कारण मिश्रले हार्दै गर्दा सान्त्वना प्रकट गर्नेहरूको जमातमा युवा धेरै थिए । पंक्तिकार स्वयंले मिश्रलाई फेसबुक मार्फत सान्त्वना र शुभकामना प्रकट गरेको थियो । आशा थियो कि; मिश्र शान्त र सभ्य ढंगले राजनीतिमा अघि बढ्नुहुन्छ । यस्तै आशा र अपेक्षा मिश्रबाट धेरै युवालाई थियो । त्यही कारण मिश्रले राजनीतिमा पदार्पण गर्दैगर्दा एउटा युवा जमात निकै उत्साहित थियो ।

पढेका र संस्कारयुक्त मान्छे नभएकोले देशको राजनीति धमिलिएको भन्ने तर्क सुनिंदै आइएको छ । यस्तो तर्कमा गहिरो विश्वास राख्नेमा पढेलेखेका युवाहरू बढी छन् । यस्ता युवाहरूको लागि आशा र भरोसाको केन्द्र बनेर उदाउनुभएको थियो मिश्र ।

राजनीतिको आफ्नै पाठ्यक्रम हुन्छ । राजनीतिको नियम, संस्कार र आवश्यक ज्ञान कुनै विश्वविद्यालयमा पढेर मात्र बुझिंदैन । सिद्धान्त त बुझिएला तर व्यवहारको लागि भूगोल र जनतासँग समय लगाएर भिज्नुको विकल्प छैन । औपचारिक शिक्षा कम भएका तर राजनीतिमा समय बिताएकाहरूले धेरै राम्रो संस्कार देखाएका छन् ।

मिश्रले अन्तर्राष्ट्रिय विद्यालयका पाठ्यक्रम पढ्ने मौका पाउनुभयो । पेशागत जिन्दगी बिताउँदै राजनीतिक घटनाक्रम नियाल्नुभयो तर त्यसको पाठ्यक्रम पढ्न पाउनुभएन । राजनीतिमा धैर्यको ठूलो अर्थ र महत्त्व हुन्छ । उहाँमा धैर्यता देखिएन । आफ्नै पालामा समृद्धि देखेर मर्ने हो भन्न थाल्नुभयो । समृद्धि देख्नु र ल्याउनु राम्रो काम हो । तर, उहाँका यी अभिव्यक्ति हताशमा आएका थिए । जो ठूला दललाई गाली गर्नमा केन्द्रित थियो ।

राजनीतिमा आफू इतरका दललाई दोष थोपर्नु एक रणनीति हो । यी हताशाका अभिव्यक्ति हुँदैनन् । सोच विचार गरेर चालिएको कदम हुन्छ । तर, मिश्रको सन्दर्भमा भने हताश भएर दिएका अभिव्यक्ति थिए यी । उहाँले राजनीतिक दलप्रति मात्र वितृष्णा पोख्नुभएको छैन । ठूला दलको अगुवाइमा लेखिएको संविधानको मूल मुद्दालाई उल्ट्याउने ध्याउन्नमा हुनुहुन्छ ।

उहाँ ‘रेलिङ भाँच्ने’ भनेर अन्य दललाई हेलोहोचो गरिरहनु हुन्छ । समाजमा विभिन्न मुद्दा हुन्छन् । ती मुद्दालाई स्थापित गर्न विभिन्न रूपका आन्दोलन हुन्छन् । आन्दोलन कसरी हुन्छ र कति हिंस्रक रूप लिन्छ भन्ने कुरा त्यो समाजमा चेतना निर्माणको इतिहास कति लामो छ भन्ने कुराले निर्धारण गर्छ ।

मिश्रले बेलायतमा पढेर बेलायतको संस्कार देख्नुभयो । त्यो संस्कार आजको भोलि निर्माण भएको होइन । त्यही बेलायतमा राजा काटिएको थियो । भलै; यो देशमा त राजसंस्था हटाइएको मात्र हो । भोलिको दिनमा समग्र समाजको चेतनास्तर बढेर राजनीतिक संस्कार अनि गतिविधि पनि सभ्य होलान् । चाँडै भए सबैलाई राम्रो नै लाग्छ ।

रविन्द्र मिश्र वैकल्पिक राजनीतिको कुरा गर्दै राजनीतिमा उदाउनुभयो । तर, संविधानको मूल मर्म र विशेषताकै विकल्प खोज्न थाल्नुभयो । यो अवस्थामा उहाँले हातेमालो गर्ने भनेको पुरातन शक्तिसँग नै हो ।

मिश्रले आन्दोलनबाट स्थापित मुद्दा उल्ट्याउन खोज्नुभएको छ । यसले समाजमा शान्ति होइन द्वन्द्व निम्त्याउँछ । मिश्रको वैकल्पिक राजनीतिको नारा फगत नारा मात्र सावित भएको छ । वैकल्पिक राजनीतिको संस्कार अझ उन्नत हुनुपर्थ्यो । यसले सुधारको कुरा गर्नुपर्थ्यो ।

मिश्र पनि शुरूआती दिनमा यही कुरा गर्नुहुन्थ्यो । तर अहिले व्यवस्था उल्ट्याउने प्रयासमा हुनुहुन्छ । यो गतिविधि हेर्दा; मिश्र कि प्रायोजित हुनुहुन्छ या उहाँको वैकल्पिक राजनीतिको नारा विवेकपूर्ण थिएन भनेर बुझ्नुपर्ने हुन्छ । 

मिश्रकै ट्वीटर र एकाध अनलाइनको समाचार अनुसार उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूसँग भेट गर्नुभएको छ । भेटमा राजनीति, समाज र देशको बारे चिन्तापूर्ण तर आशाजनक संवाद भएको उल्लेख छ । यसको अर्थ उहाँ राप्रपासँग नजिक हुनुहुन्छ । कांग्रेस, एमाले र माओवादीप्रतिको वितृष्णा भने जावलाखेलमा छताछुल्ल पारिसक्नुभएको छ ।

निश्चय नै यी ठूला भनिएका दलहरूले सुशासनमा काम गर्न नसकेकै हुन् । विकासको काम उत्साहजनक नदेखिएकै हो । यद्यपि; यी दलभन्दा राप्रपा असल र उचित हुनै सक्दैन । मिश्रले राप्रपालाई असल देख्नु भनेको कम्प्युटरभन्दा टाइपराइटर ठिक छ भन्नु हो । समयको पदचापमा पछि परिसकेको दल वा सिद्धान्त मिश्रको मस्तिष्कलाई राम्रै होला, जनताको जीवनको लागि भने कदापि राम्रो हुन सक्दैन ।

रविन्द्र मिश्र वैकल्पिक राजनीतिको कुरा गर्दै राजनीतिमा उदाउनुभयो । तर, संविधानको मूल मर्म र विशेषताकै विकल्प खोज्न थाल्नुभयो । यो अवस्थामा उहाँले हातेमालो गर्ने भनेको पुरातन शक्तिसँग नै हो । यो कर्ममा मिश्र त रमाउनुभएकै होला तर मिश्रमाथि भरोसा राख्नेहरूको चाहिं पुर्पुरोमा हात पुगेको छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    ज्योतिषीय नजरमा नयाँ वर्ष २०८१

    ज्योतिष दर्शनका आधारमा खगोलीय मण्डललाई  काल्पनिक रूपमा प्रत्येक ३० डिग्री को फरकमा पर्ने गरी १२ भागमा विभाजन गरिएको छ । यसको पूर्ण परिक्रमा ३६० डिग्री...

  • नेपालमत

    नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा

    नेपाली कांग्रेस जनतालाई अधिकार सम्पन्न बनाउने आधुनिक इतिहासका सबै प्रमुख राजनीतिक आन्दोलन र रुपान्तरणको नेतृत्व गरेको मुलुकको प्रमुख दल हो । बीपी कोइराला, सुवर्ण शमशेर,...

  • नेपालमत

    आर्मीले भन्यो खुट्टासुट्टा भाँचिएला नि !

    १९ माघ २०६१ । रेडियोहरूका लागि समाचार र कार्यक्रम उत्पादन गर्ने संस्था ‘कम्युनिकेशन कर्नर’मा काम गर्थें । मेरो ‘डिउटी’ दिउसो दुईदेखि राति दश बजेसम्मको ‘इभिनिङ सिफ्ट’मा...

  • नेपालमत

    'प्राचीन नेपालले इतिहासको नयाँ र शानदार अध्याय लेख्‍नै बाँकी छ'

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको उपलब्धिका सारसङ्ग्रह प्रस्तुत गर्दै आगामी दिनमा कार्यशैली परिवर्तनसहित जनतामा आशा जगाउने र परिणाम दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री...

  • नेपालमत

    एफएम रेडियोमा कानुनको घनचक्कर

    नेपालका एफएम रेडियोहरु कानुनी जंजालमा जेरी झैं जेलिएका छन् । ऐन नियमहरुको जालोमा छन् रेडियोहरु । स्थायी सरकार मानिने कर्मचारीतन्त्रको परम्परागत सोँचका कारण यस्तो अवस्था...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved