• शनिबार, ८ बैशाख, २०८१
  • ०९:०३:४५
  • नेपालीको अभिमत

अभिमत

प्रचण्ड उक्तिको असङ्गति

भानु बोखिम

आइतबार, ११ पौष, २०७८

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डबाट हालसालै आफू नेतृत्वबाट अवकाश लिन चाहेको तर परिस्थितिले त्यसो हुन नदिएको अभिव्यक्ति आयो । उक्त अभिव्यक्तिलाई आधार मान्ने हो भने माओवादीका नेताहरू अध्यक्षमा प्रचण्डकै निरन्तरता चाहन्छन् । यस अर्थमा; माओवादी अध्यक्षको रूपमा आसीन रहनु प्रचण्डको रहर होइन, बाध्यता हो ।

अहिले देशमा राजनीतिक दलहरूको महाधिवेशनको माहौल चलेको छ । सबैभन्दा ठूलो दल नेकपा (एमाले) र दोस्रो ठूलो दल नेपाली कांग्रेसले आ–आफ्नो महाधिवेशन सम्पन्न गरिसकेका छन् । सानो दल राप्रपाले पनि आफ्नो एकता महाधिवेशन सम्पन्न गरिसकेको छ भने तेस्रो ठूलो दल माओवादी केन्द्रको महाधिवेशन आजबाट शुरू हुँदैछ । यही सन्दर्भमा प्रचण्डद्वारा अध्यक्ष पद आफ्नो लागि बाध्यता भएको आशय व्यक्त भएको हो । तर, प्रचण्डको विगतका अभिव्यक्ति र व्यवहारसँग दाँज्ने हो भने यो भनाइ मेल खाँदैन ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग विरक्तिनुभएका प्रचण्डले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन निकै जोडबल लगाउनुभयो । ओलीले सहमति अनुरूप प्रचण्डलाई प्रधानमन्त्री बनाएको भए वा नेकपाको कार्यकारी अध्यक्षको भूमिका अभ्यास गर्न दिएको भए प्रचण्ड ओलीसँग शायद यति विरक्तिनु हुन्थेन । लिखित, अलिखित सहमति पालना नगर्ने ओली ठिक हुनुहुन्छ भन्न खोजेको होइन तर ओलीसँगको तिक्तता चरम विन्दुमा पुग्नुमा प्रचण्डको लोभको पनि धेरै भूमिका छ ।

प्रतिस्पर्धाको माहौल नै नभएको ठाउँमा भजनमन्डली तयार हुनु स्वाभाविक हो । यस्तो भजनमन्डलीले प्रचण्डको आवश्यकताको महिमा गाउनु पनि स्वाभाविक हो । प्रचण्डसँग असन्तुष्टहरू पार्टी छोडेर जान सक्छन् । तर, पार्टीमा रहिञ्जेल प्रचण्डको विरुद्धमा जान सक्दैनन् । यो माहौललाई प्रचण्डले आफ्नो हितमा अर्थ्याएको देखिन्छ ।

ओलीबाट आक्रोशित प्रचण्डले देउवालाई प्रधानमन्त्री बनाएपछि अर्को सकस बेहोर्नुपर्‍यो । पार्टीबाट मन्त्री बनाउने नेताको सूची तय गर्न प्रचण्डलाई धौ–धौ भयो । ‘माओवादीका सबै सांसद मन्त्री हुन चाहन्छन्’ भनेर सार्वजनिक अभिव्यक्ति नै दिनुभयो । यसले माओवादी सांसद लाभको पद लिन इच्छुक छन् भन्ने देखाउँछ । जो मन्त्री हुन मरिमेट्छ, ऊ भित्र प्रधानमन्त्री हुने चाहना पनि हुन्छ । प्रधानमन्त्री हुनलाई पार्टीको उपल्लो पदमा हुनुपर्छ भन्ने कुरा नेपालमा अलिखित कानून जस्तै भइसकेको छ । त्यसैले प्रचण्ड मातहतका नेताहरू प्रचण्डको स्थान लिन इच्छुक छैनन् भन्ने अभिव्यक्तिमा विश्वास गर्न सकिंदैन ।

मानिसको जात आफैंमा लोभी जात हो । यो लोभले मानिसलाई सपना देख्न सिकाउँछ । सपना प्राप्तिको लागि संघर्ष वा रणनीति तय गर्न सिकाउँछ । भलै संघर्ष र रणनीति समय र परिवेश हेरी फरक–फरक हुन्छन् ।

अहिले माओवादीले पाँच जना पदाधिकारीको व्यवस्था गरेको छ । पदाधिकारीको संख्या बढाउनुपर्ने चर्चा पनि चलिरहेको सुनिन्छ । पदाधिकारीको संख्या बढाउनुको उद्देश्य नेताहरूको व्यवस्थापन हो । नेताहरूको व्यवस्थापन पार्टीको आवश्यकताभन्दा बढी सम्बन्धित नेताको लोभ र चाहनाको सम्बोधन हो । मानिस स्वभावैले आफूले पाएको भन्दा अझ धेरै पाउन चाहन्छ । तर पाएको चिज गुमाउन भने चाहँदैन । यो स्वभाव र चाहना माओवादी नेताहरूमा प्रशस्त देखिएको छ । पदाधिकारीमा रहन मरिहत्ते गर्ने नेताले अध्यक्ष पद इन्कार गर्दैनन् ।

प्रचण्डबाट वेलामौकामा नेतृत्व हस्तान्तरण गर्न चाहे पनि उपयुक्त पात्र नभेटेको अभिव्यक्ति आउने गर्छ । कम्युनिष्टहरू उत्तराधिकारी प्रतिस्पर्धाबाट छान्ने कुरामा विश्वास गर्दैनन् । नेतृत्वलाई तयार गरेर ल्याउनुपर्ने तर्क गर्छन् । उनीहरूमा नेतृत्व विकासको कुनै लोकतान्त्रिक विधि र प्रक्रिया हुँदैन । नेतृत्व विकास हुनको लागि नेतृत्वकै आशीर्वाद र निगाह चाहिन्छ । यसरी विकास गरिएको कुनै पनि नेताले प्रतिस्पर्धा गरेर जिम्मेवारी लिने साहस गर्दैन । नेतृत्वले सुम्पिएको दिन मात्र ग्रहण गर्छ ।

प्रतिस्पर्धाको माहौल नै नभएको ठाउँमा भजनमन्डली तयार हुनु स्वाभाविक हो । यस्तो भजनमन्डलीले प्रचण्डको आवश्यकताको महिमा गाउनु पनि स्वाभाविक हो । यसको अर्थ उनीहरू साँच्चै प्रचण्डको आवश्यकता देख्छन् भन्नु चाहिं अतिशयोक्ति हुन जान्छ । प्रचण्डसँग असन्तुष्टहरू पार्टी छोडेर जान सक्छन् । तर, पार्टीमा रहिञ्जेल प्रचण्डको विरुद्धमा जान सक्दैनन् । यो माहौललाई प्रचण्डले आफ्नो हितमा अथ्र्याएको देखिन्छ ।

अहिले एकाध प्रदेशमा माओवादीले नेतृत्व चयन गर्न प्रतिस्पर्धा गराएको छ । ती प्रदेशमा पनि सहमतिको नाममा टिकेप्रथा चलाउन भरमग्दुर प्रयास भएको थियो । सहमतिको सम्भावना टरेपछि प्रतिस्पर्धा भएको हो । प्रतिस्पर्धाबाट आएका ती नेताहरूमा आत्मविश्वास देखिन्छ । उनीहरू पार्टी हाँक्न सक्छौं भनेर प्रतिस्पर्धामा उत्रिएका हुन् ।

यद्यपि; प्रदेश तहमा भएका एकाध घटना बाहेक माओवादीमा प्रतिस्पर्धा खासै भएको छैन । सहमतिको नाममा प्रचण्डले सधैं अध्यक्ष पद आफूसँग सुरक्षित राख्नुभएको छ । प्रतिस्पर्धाको राजनीतिलाई बन्द गर्दा प्रचण्डका समकालीनहरूले नेतृत्वको लागि प्रतिस्पर्धा गर्न पाएनन् । उहाँले राजीखुशीले नेतृत्व हस्तान्तरण पनि गर्नुभएन । आफूमाथि ऐतिहासिक जिम्मेवारी पूरा गर्नुपर्ने अभिभारा भएको भन्दै अध्यक्ष पद ओगटिरहनुभयो । हाल उहाँका धेरै समकालीन नेताहरू माओवादीबाट अलग भइसकेका छन् ।

कम्युनिष्ट पार्टीमा उत्तराधिकारी निर्माण गर्ने अभ्यास हो भने तीन दशक पार्टी नेतृत्वमा रहँदा पनि प्रचण्डले किन उत्तराधिकारी निर्माण गर्न सक्नुभएन ? उहाँ आफूलाई दोषी देखाउन चाहनुहुन्न । आफ्नो कमजोरी लुकाउनको लागि अरूलाई कमजोर देखाउने प्रयास गर्नुहुन्छ ।

प्रचण्डले अर्काे पुस्तालाई नेतृत्वको लागि सक्षम नदेख्नु बहाना मात्र हो । कम्युनिष्ट पार्टीमा उत्तराधिकारी निर्माण गर्ने अभ्यास हो भने तीन दशक पार्टी नेतृत्वमा रहँदा पनि प्रचण्डले किन उत्तराधिकारी निर्माण गर्न सक्नुभएन ? उहाँ आफूलाई दोषी देखाउन चाहनुहुन्न । आफ्नो कमजोरी लुकाउनको लागि अरूलाई कमजोर देखाउने प्रयास गर्नुहुन्छ ।

नेतृत्वमा कुनै पनि व्यक्ति निर्विकल्प र अविच्छिन्न हुनुपर्छ भन्नु आफैंमा गलत अभ्यास हो । हरेक व्यक्ति आफ्नै किसिमले सक्षम हुन्छ । अन्य नेताले मौका पाएको खण्डमा प्रचण्डले भन्दा सफल ढंगले पार्टी हाँक्न पनि सक्छन् ।

माओवादीमा क्षमता जाँच्ने कसी के हो ? खुला राजनीतिमा आएपछि २०६४ सालको संविधानसभाको निर्वाचनमा माओवादी सबैभन्दा ठूलो दल भएको थियो । त्यसपछिका दुईवटा निर्वाचनमा तेस्रो दल भएको छ । यसबीचमा माओवादी कैयौं टुक्रामा विभाजित भइसकेको छ । पुराना नेताहरू अन्य पार्टीमा गएका छन् । यसमा ती नेताहरूको अहम् र लोभले पनि काम गरेको छ । यद्यपि; नेताले पार्टी छोड्नु र तोड्नुमा प्रचण्डको असक्षमता ठान्ने कि नठान्ने ? निरन्तर पार्टी खुम्चिँदै जानुमा प्रचण्डको क्षमता पनि पक्कै जोडिन्छ । यसकारण प्रचण्ड दोषरहित हुन सक्नुहुन्न ।

प्रचण्ड आफू मात्र सक्षम छु भन्ने अभिव्यक्ति दिनुहुन्छ । नेतृत्वमा रहनु बाध्यात्मक परिस्थिति भएको बताउनुहुन्छ । यी तर्क प्रचण्डले आफ्नो हितको लागि तयार गरेका हर्कत हुन् । माओवादी आन्दोलनलाई प्रचण्डले उचाइमा पुर्‍याउनु त भयो तर पार्टीको लागि उहाँ निर्विकल्प होइन ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    ज्योतिषीय नजरमा नयाँ वर्ष २०८१

    ज्योतिष दर्शनका आधारमा खगोलीय मण्डललाई  काल्पनिक रूपमा प्रत्येक ३० डिग्री को फरकमा पर्ने गरी १२ भागमा विभाजन गरिएको छ । यसको पूर्ण परिक्रमा ३६० डिग्री...

  • नेपालमत

    नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा

    नेपाली कांग्रेस जनतालाई अधिकार सम्पन्न बनाउने आधुनिक इतिहासका सबै प्रमुख राजनीतिक आन्दोलन र रुपान्तरणको नेतृत्व गरेको मुलुकको प्रमुख दल हो । बीपी कोइराला, सुवर्ण शमशेर,...

  • नेपालमत

    आर्मीले भन्यो खुट्टासुट्टा भाँचिएला नि !

    १९ माघ २०६१ । रेडियोहरूका लागि समाचार र कार्यक्रम उत्पादन गर्ने संस्था ‘कम्युनिकेशन कर्नर’मा काम गर्थें । मेरो ‘डिउटी’ दिउसो दुईदेखि राति दश बजेसम्मको ‘इभिनिङ सिफ्ट’मा...

  • नेपालमत

    'प्राचीन नेपालले इतिहासको नयाँ र शानदार अध्याय लेख्‍नै बाँकी छ'

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको उपलब्धिका सारसङ्ग्रह प्रस्तुत गर्दै आगामी दिनमा कार्यशैली परिवर्तनसहित जनतामा आशा जगाउने र परिणाम दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री...

  • नेपालमत

    एफएम रेडियोमा कानुनको घनचक्कर

    नेपालका एफएम रेडियोहरु कानुनी जंजालमा जेरी झैं जेलिएका छन् । ऐन नियमहरुको जालोमा छन् रेडियोहरु । स्थायी सरकार मानिने कर्मचारीतन्त्रको परम्परागत सोँचका कारण यस्तो अवस्था...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved