मेरो एउटा साथीको केही समय अगाडि बिहे भएछ, उसको श्रीमान् शिक्षक रहेछ । भाउजूले मलाई फोन गर्दै भन्नुभयो, “थाहा छ नानी, उसको बुढा त माविको स्थायी शिक्षक हो रे नि त !”
“शिक्षकलाई शिक्षक नै बुढा परेछ, राम्रै त भयो नि !” मैले हाँस्दै जवाफ दिएँ ।
उहाँले फेरि भन्नुभयो, “के हो, त्यता पनि कोही पत्रकार नै छ कि ?”
मंसीर जो लागेको छ । एक त जिस्क्याउन, अर्को; कुरा फुत्काउन । वेला वेला भाउजूले यसरी नै जिस्क्याउनुहुन्छ, लगनका महीना आउँदा अझ बढी । तर, म हाँसेरै टारिदिन्छु ।
हुनतः आजभोलि साथीभाइ पनि जिस्क्याइरहन्छन्–
“के हो इन्द्रसरा मंसीर पनि आधा गइसक्यो, केही सुरसार देखिंदैन त ?”
“मंसीर आउँछ जान्छ । यो भन्दा पहिले पनि आएकै हो, गएकै हो ।” म ठट्यौली बनिदिन्छु ।
“भो, तिमीसँग कुरा गरेर के साध्दे !” कुरा मजाकमै सकिन्छ ।
उमेर पुगेका केटाकेटीलाई साथीभाइ, आफन्तले बिहेबारे चासो राख्नु स्वाभाविकै हो ।
अस्ति भर्खर मात्र मेरो बिहानको अफिसमा यही प्रसंगमा साथीहरू गफिंदै थियौं । समूहमा चार जना थियौं, जसमा दुई विवाहित, दुई अविवाहित ।
बिहे गरेका एक जना सरले भन्नुभयो, “इन्द्रसराजी, तपाईंको उमेर कति भयो ? हुनतः केटीलाई उमेर नसोध्नु भन्छन् ।” मैले केही फरक नपर्ने भन्दै आफ्नो उमेर बताएँ ।
उहाँले थप्नुभयो, “यार ! तपाईंको उमेरमा त घरजम गरेर पनि काखमा छोरो खेलाइसकेका थियौं हामीले ।” सम्बोधनमा सर/मिस भने पनि कुरा गर्दा ‘यार’ चल्छ हामी केही सहकर्मीबीच ।
फेरि थप्नुभयो, “म तपाईंलाई एउटा सुझाव दिन्छु ।” सुझाव सुन्न आतुर रहेको बताउँदै भन्न आग्रह गरें ।
उहाँले भन्नुभयो, “केटीले २५ वर्षभित्रै बिहे गर्यो भने गर्यो, त्यो भन्दा पछि त केटा पाउनै मुस्किल पर्छ ।”
“लौ न सर, त्यसो भए गाह्रो पो हुने भयो त । एउटा ४० कटेको खोजिदिनुपर्यो !” मैले सुझावलाई मजाकमा उडाएको देखेर उहाँले फेरि थप्नुभयो, “होइन, साँच्चि हो के । कि त स्थायी जागीर छ, टन्न पैसा छ भने मात्र हो । अझ फेरि पत्रकार केटीलाई त गाह्रै हुन्छ ।”
पत्रकारिता पेशा सोचे जस्तो सजिलो छैन । जोखिम मोलेर दिनरात नभनी खटिनुपर्छ । कसैले बुहारी पत्रकार र श्रीमती पत्रकारको रूपमा स्वीकार गर्न सकोस् वा नसकोस् तर पनि म पत्रकार हो ।
साथीहरूबीच मजाक गर्दै गफिए पनि उहाँको कुरामा यथार्थता थियो । पत्रकार केटा होस् वा केटी– ज्वाइँ वा बुहारीको रूपमा ‘वाउ’भित्र पर्दैनन्; जसरी डाक्टर, इन्जिनियर, बैंकर आदि पर्छन् ।
परिवार, साथीभाइ, समाजले फलानाको बुढा अथवा फलानाकी बुढी डाक्टर, इन्जिनियर, बैंकर भनेर जसरी दिल खोलेर तारिफ गर्छन् त्यसरी पत्रकारलाई गर्दैनन् ।
पत्रकार भनेका व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई निगरानी गर्ने मान्छे हुन् । यसैले पत्रकारलाई राज्यको चौथो अंग भन्ने गरिन्छ । तर, किन यिनै पत्रकारलाई समाजले हेर्ने नजर भिन्न ? जसलाई ‘वाउ’ भनेर समाजले भनिरहेको हुन्छ, त्यसैलाई निगरानी गर्ने समाजको ऐना किन ‘वाउ’ भित्र पर्न सकेन ? मलाई यो प्रश्नले बारम्बार घोचिरहन्छ ।
हाम्रो कुराकानी अझै सकिएको थिएन । सरले फेरि थप्नुभयो, “तपाईंले पत्रकारसँग सकेसम्म बिहे नगर्नु ।”
मैले स्वाभाविक जिज्ञासा राखें, “किन ?”
“आफ्नै अवस्था हेर्नुस् न । बिहानदेखि साँझसम्म खटिएको छ । तपाईंलाई देख्दा लाग्छ– आफ्नो लागि पाँच मिनेटको समय पनि हुँदैन होला । यस्तै अवस्थाको बुढा पर्यो भने के होला ?” उहाँको कुरामा सबैजना हाँस्यौं ।
सँगै बसेको अर्को साथीले भन्नुभयो, “त्यो त हो । म पनि पत्रकारसँग बिहे नगर्ने । एउटै पेशा त ठीक हुँदैन । समयको हिसाबले हेर्ने हो भने पनि ठीक भएन । दुवै जना उस्तै व्यस्त भएर त कहाँ चल्छ र ! अर्को कुरा; समाजले पत्रकारलाई जसरी हेर्छ र व्यवहार गर्छ, यो कुरा मलाई पनि मन पर्दैन ।”
जे होस्; १५/२० मिनेट रमाइलै गफ भयो ।
पत्रकार भनेका व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई निगरानी गर्ने मान्छे हुन् । यसैले पत्रकारलाई राज्यको चौथो अंग भन्ने गरिन्छ । तर, किन यिनै पत्रकारलाई समाजले हेर्ने नजर भिन्न ? जसलाई ‘वाउ’ भनेर समाजले भनिरहेको हुन्छ, त्यसैलाई निगरानी गर्ने समाजको ऐना किन ‘वाउ’ भित्र पर्न सकेन ?
आजभन्दा एक वर्षअघि रिपोर्टिङको क्रममा म पाटन अदालतमा पुगेकी थिएँ । सम्बन्ध विच्छेदका मुद्दा अदालतमा कत्तिको आउँछन् भन्नेबारे रिपोर्ट तयार गर्नुथियो । म त्यहाँ पुग्दाको बखत अदालतका श्रेस्तेदार व्यस्त हुनुहुँदोरहेछ । म कोठा बाहिर उभिइरहें । १०/१५ मिनेटदेखि बाहिर उभिइरहेको देखेर अर्को कोठामा काम गरिरहनुभएका अदालतकै कर्मचारीले भित्र आएर बस्न भन्नुभयो । म गएँ । पत्रकार हुँ भन्ने परिचय दिनेबित्तिकै उहाँले मैले काम गर्ने सञ्चारमाध्यम सोध्नुभयो । कुराकानीको क्रममा उहाँले भन्नुभयो, “अँ साँच्चै ! तपाईंलाई एउटा प्रश्न सोध्छु है ?” भन्नुस् न सर भन्दा उहाँले भन्नुभयो, “हामीले तपाईंहरूले लेखेको समाचार अनलाइनमा गएर हेर्नुपर्छ । त्यसको लागि इन्टरनेट हुनुपर्यो । इन्टरनेट चलाउन पैसा तिर्नुपर्यो । हामीले यसरी पैसा खर्च गरेर तपाईंको समाचार हेरेबापत तपाईंले कति पैसा पाउनुहुन्छ ?”
मैले अकमक्क हुँदै भनें, “ओहो ! सरले त गजबको प्रश्न सोध्नुभयो । मैले त श्रम गरेबापतको निश्चित पैसा लिने हो । यसरी त हिसाब नै गरेको छैन ।” यत्तिकैमा श्रेस्तेदारले बोलाउनुभयो र म अर्को कोठातिर लागें ।
हुनतः आजभोलि छ्यापछ्याप्ती खोलिएका अनलाइन पोर्टल, युट्युब च्यानल तथा हेडलाइन एउटा राखेर भित्र अर्कै कुरा राख्ने समाचार भनेको के हो भनेर थाहा नै नभएका ‘पत्रकार हुँ’ भनिटोपल्नेहरूकै कारण पनि हो आज पत्रकारिताको मर्यादा खस्केको ।
केही वर्ष अगाडिको कुरा हो । म रिपोर्टिङकै सिलसिलामा गृह मन्त्रालय पुगेको थिएँ । त्यो वेला एक सचिवले भन्नुभएको थियो, “यसो हेर्दा नानीको उमेर पनि सानै जस्तो, बोली पनि कडक नै छ । आयोगको तयारी गर्नुभयोे भने कति राम्रो हुने । ल आयोगको तयारी गर्नुस् ।”
अभिभावकले समेत डाक्टर, इन्जिनियरको हकमा शानका साथ भन्छन्– केटा त वा केटी त इन्जिनियर रे, डाक्टर रे ! तर यहाँ पत्रकार हुँदा केटा त वा केटी त पत्रकार रे शायदै भनिन्छ । अझ अनुहारको रंग उडाउँदै यसो पो भन्छन्, “खोइ के जाति पत्रकार हो रे !”
एकैछिनको भेटमा मप्रति राख्नुभएको सद्भावले खुशी नै तुल्यायो । तर, किन सचिवले यस्तो भन्नुभयो भन्ने मनमा लागिरह्यो । आखिर सरकारी जागीरेवालाले कमाउने भनेको पनि पैसा नै हो । हामीले समाचार लेखेर पनि पैसा नै पाउने हो । अर्को कुरा; सरकारी जागीरेवालाहरूले पनि त काम त गर्नैपर्छ ।
पढे/लेखेकाहरूले नै पत्रकारलाई यसरी हेर्छन् भने कसले भनून् मेरो ज्वाइँ पत्रकार हो या मेरी बुहारी पत्रकार हो ?
आजभोलि कसैको बिहेको कुरा सुनियो भने सबैभन्दा पहिले सोधिने प्रश्न हो– केटाले के गर्छ वा केटीले के गर्छे ? पहिले पहिले इष्टमित्र, खानदान सोधेर बल्ल अरू कुरा अघि बढाइन्थ्यो भने आजकल सबैभन्दा पहिले केटा के गर्छ वा केटी के गर्छे भन्ने जान्न आतुर हुन्छ मान्छे ।
अभिभावकले समेत डाक्टर, इन्जिनियरको हकमा शानका साथ भन्छन्– केटा त वा केटी त इन्जिनियर रे, डाक्टर रे ! तर यहाँ पत्रकार हुँदा केटा त वा केटी त पत्रकार रे शायदै भनिन्छ । अझ अनुहारको रंग उडाउँदै यसो पो भन्छन्, “खोइ के जाति पत्रकार हो रे !” अझै कतिपयलाई त चिन्ता लाग्छ, “काँबाट पत्रकारको पछि लागी अब यसलाई कसरी पाल्छ होला खै ?”
धन्न अहिले समय फेरिएकोले मात्र । नत्र अलि पहिले त केटीको पेशा कुनै प्राथमिकतामै पर्दैनथ्यो । किनकि उनी घर घरभित्र मात्रै सीमित थिइन् ।
पत्रकारिता पेशा सोचे जस्तो सजिलो छैन । जोखिम मोलेर दिनरात नभनी खटिनुपर्छ । कसैले बुहारी पत्रकार र श्रीमती पत्रकारको रूपमा स्वीकार गर्न सकोस् वा नसकोस् तर पनि म पत्रकार हो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
नेपाली कांग्रेस जनतालाई अधिकार सम्पन्न बनाउने आधुनिक इतिहासका सबै प्रमुख राजनीतिक आन्दोलन र रुपान्तरणको नेतृत्व गरेको मुलुकको प्रमुख दल हो । बीपी कोइराला, सुवर्ण शमशेर,...
१९ माघ २०६१ । रेडियोहरूका लागि समाचार र कार्यक्रम उत्पादन गर्ने संस्था ‘कम्युनिकेशन कर्नर’मा काम गर्थें । मेरो ‘डिउटी’ दिउसो दुईदेखि राति दश बजेसम्मको ‘इभिनिङ सिफ्ट’मा...
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको उपलब्धिका सारसङ्ग्रह प्रस्तुत गर्दै आगामी दिनमा कार्यशैली परिवर्तनसहित जनतामा आशा जगाउने र परिणाम दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री...
नेपालका एफएम रेडियोहरु कानुनी जंजालमा जेरी झैं जेलिएका छन् । ऐन नियमहरुको जालोमा छन् रेडियोहरु । स्थायी सरकार मानिने कर्मचारीतन्त्रको परम्परागत सोँचका कारण यस्तो अवस्था...
अबको पाँचदिनपछि हामीले महासंघको नेतृत्व सम्हालेको ६ महिना पुरा हुँदैछ । मैले महासंघको अध्यक्षता गरिरहँदा मुलुकमा आर्थिक संकट प्रष्ट रुपमा देखिइसकेको थियो । सम्माननीय प्रधानमन्त्रीज्यू, यो...