• मंगलबार, ११ बैशाख, २०८१
  • १५:४८:१२
  • नेपालीको अभिमत

स्वास्थ्य

कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट नेपाल जोखिममा छ, सजग रहनुस् : डा. पुन

नेपालमत

सोमबार, १३ मङ्सिर, २०७८

चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना महामारीको त्रास अहिले पनि उस्तै छ । नयाँ नयाँ भेरियन्ट सहित फैलिइरहेको कोभिड–१९ को फेरि अर्को भेरियन्ट ‘ओमिक्रोेन’ दक्षिण अफ्रिकामा देखापरेको छ । यसले झनै ठूलो रूप लिनसक्ने भन्दै विज्ञहरू यसको अनुसन्धानमा लागिरहेका छन् ।

यो कस्तो भेरियन्ट हो ? यसले नेपालमा कत्तिको जोखिम निम्त्याउन सक्छ ? भन्ने विषयमा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग नेपालमतका लागि इन्द्रसरा खड्काले गर्नुभएकाे कुराकानी:

अहिले दक्षिण अफ्रिकामा देखिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ कस्तो भाइरस हो ?

यो अहिले दक्षिण अफ्रिकाका विभिन्न ठाउँमा फैलिएको छ । र, अन्य ठाउँमा पनि फैलिंदो क्रममा छ । यसलाई शुरूमा B.1.1.529 नाम दिइएको थियो । तर पछि यसलाई ग्रीक नाम अन्तर्गत राख्ने भएको हुनाले ओमिक्रोन नाम राखिएको हो । यो भेरियन्टको जीनमा अत्यधिक मात्रामा म्युटेशन देखिएको र त्यसमा पनि अझ ‘स्पाइक प्रोटिन’ समेत हुँदा वैज्ञानिकहरूले विगतमा देखिएका ‘भेरियन्ट अफ कन्सर्न’ अन्तर्गत पर्ने भाइरसहरू भन्दा बढी जोखिम हुनसक्ने अनुमान गरेका छन् । लक्षित जनसंख्यालाई खोप लगाए पनि यसको असरबारे अध्यनन भइरहेको छ । यसको ‘स्पाइक प्रोटिन’ मा व्यापक उत्परिवर्तन भएकोले यो तीव्र गतिमा फैलिएर संक्रामक हुने भनिएको छ ।

खोप लगाउनु भनेको संक्रमित नहुने भन्ने त होइन तर पनि खोप लगाइसकेपछि जटिल अवस्थामा जानसक्ने र मृत्युसम्म पुग्ने अवस्था भने कम गर्छ ।

भनेपछि यो भेरियन्टले खोप लगाएका व्यक्तिलाई पनि प्रभाव पार्छ ?

अहिलेको मुख्य चिन्ताको विषय भनेको नै यही हो । तपाईं हामीले अहिले जुन खोप लगाएका छौं– भेरोसेल, फाइजर, कोभिशिल्ड; यी स्पाइक जीनप्रति लक्षित खोपहरू हुन् । यसले गर्दा यसले चिन्ने गरेको जुन ‘स्पाइक जीन’ छ त्यो अब यसले स्वरुप परिवर्तन गर्दा कतै नचिन्ने त होइन ? अथवा त्यो विरुद्ध बनेको जुन एन्टीबडी छ त्यसलाई जित्ने क्षमता त विकास गरेन ? भन्ने प्रश्न छ । यदि यसो हो भने यो चिन्ताको विषय हो ।

भनेपछि खोप लगाएकाहरूले पनि ‘ढुक्क छौं’ भन्ने अवस्था रहेन ?

कतै यस्तो हुन्छ कि, गर्छ कि भन्ने मात्र हो । के हुन्छ तत्काल भन्न सकिने अवस्था छैन । अहिले विश्वका वैज्ञानिक यही प्रश्नको उत्तरका लागि दौडिरहेका छन् । हामीले जति पनि खोपको कुराकानी गर्छौं– यसको प्रभावकारिता यति छ उति छ भनेर । यो प्रभावकारिता केही खस्कने अनुमान मैले पनि गरेको छु । कामै नलाग्ने पो हुने हो कि भन्ने जुन चिन्ता छ, यो कुरा चाहिं आगामी दिनको अध्ययनले नै देखाउने कुरा हो ।

पहिले र अहिलेको भेरियन्टमा फरक के छ ?

पहिलेको भन्दा अलि बढी म्युटेशन भएको र त्यसमा पनि स्पाइक जीनको कुरा जुन अघि नै ग¥यौं; यसको विरुद्धमा हाम्रो शरीरले एन्टीबडी बनाइरहेको हुन्छ, त्यसलाई छल्ने हो कि भन्ने अनुमान हो । किन भने, जति स्वरुप परिवर्तन हुन्छ, त्यति नै हाम्रो शरीरले चिन्नसक्ने सम्भावना कम भएर जान्छ– खोप लगाएर बनेको एन्टीबडी होस् वा प्राकृतिक रूपमै संक्रमण भएर बनेको एन्टीबडी होस् ।

नयाँ भेरियन्टबाट नेपाल अछुतो छैन । किनकि हाम्रो हवाइमार्ग खुला भइसकेको छ । विभिन्न देशमा  हवाइमार्ग, यातायातका साधन खुला भइसकेका छन् । नेपालको पनि विभिन्न देशसँग सम्पर्क छ, यसकारण पनि नेपाल जोखिममा छ ।

तसर्थ; यो कसरी फैलन्छ, खोपलाई प्रभावहीन बनाउँछ कि बनाउँदैन आदि कुरा जान्न वा थाहा पाउन केही दिन कुर्नैपर्ने हुन्छ ।

नेपाल कत्तिको जोखिममा छ ?

यसबाट नेपाल अछुतो रहन्छ भन्न सकिंदैन । किनकि हाम्रो हवाइमार्ग खुला भइसकेको छ । विभिन्न देशमा  हवाइमार्ग, यातायातका साधन खुला भइसकेका छन् । नेपालको पनि विभिन्न देशसँग सम्पर्क छ, यसकारण पनि नेपाल जोखिममा छ ।

हामीले विगतमा धेरै अभ्यासहरू गरिसकेका छौं । संक्रमण फैलिन नदिन अलिकति कडिकडाउ गर्नुपर्ने हुनसक्छ । अझ भन्ने हो भने भारतसँग हाम्रो खुला सिमाना छ । यो भेरियन्ट भारतमा देखापर्‍यो भने थप चुनौती हुनसक्छ । अहिले नै सोच्नुपर्ने देखिन्छ ।

स्वास्थ्य मापदण्ड पालना नगर्दा के हुन्छ ?

मलाई लाग्छ, अहिले प्रायः धेरैले स्वास्थ्य मापदण्ड अपनाउन छोडिसकेका छौं । कतिपयले त मास्क समेत लगाउन छोड्नुभएको छ । अझ अहिले विभिन्न राजनीतिक दलका अधिवेशन, महाधिवेशन भइरहेका छन् । जहाँ मान्छेको घुइँचो हुन्छ त्यहाँ स्वास्थ्य मापदण्ड अपनाइएन भने निकै जोखिम हुन्छ ।

हाम्रोमा त अझ नयाँ भेरियन्ट बाहेककै जोखिम पनि टरेको छैन । लक्षित समूहको ५० प्रतिशतले पनि खोप नलगाएको अवस्थामा यसै पनि अहिले नै जनस्वास्थ्यका मापदण्डलाई चटक्कै बिर्सनुभएन । यसको लागि सरकारले सतर्कता अपनाउनुप¥योे भने हामीले पनि ख्याल गर्नुपर्‍यो ।

नयाँ भेरियन्टले कुन समूहलाई बढी असर गर्छ भन्नेबारे केही जानकारी छ ?

यो कति घातक छ र कत्तिको तीव्र गतिमा फैलिन सक्छ भन्नेबारे धेरै कुरा थाहा भएको छैन । डेल्टा भेरियन्टभन्दा खतरा हो कि होइन भन्नेबारे अध्ययन भइरहेको छ भने कुन उमेर समूहलाई बढी असर गर्छ भन्ने पनि थाहा भइसकेको छैन ।

विशेषज्ञको नाताले नयाँ भेरियन्टबारे नागरिकलाई दिने केही सल्लाह–सुझाव छन् कि ?

हामीले स्वास्थ्य मापदण्डका जुन कुरा गरेका छौं, त्यसलाई बिर्सनुभएन । अर्को; सरकारले उपलब्ध गराइरहेको खोप तपाईंले लगाउनुभएको छैन भने त्यो खोप लगाउनुहोस् ।

अझ भन्ने हो भने भारतसँग हाम्रो खुला सिमाना छ । यो नयाँ भेरियन्ट भारतमा देखापर्‍यो भने थप चुनौती हुनसक्छ । अहिले नै सोच्नुपर्ने देखिन्छ ।

खोप विरुद्धको भ्रममा चाहिं नपर्नुहोला । खोप लगाउनु भनेको संक्रमित नहुने भन्ने त होइन तर पनि खोप लगाइसकेपछि जटिल अवस्थामा जानसक्ने र मृत्युसम्म पुग्ने अवस्था भने कम गर्छ । त्यसैले यी सबै कुरामा ध्यान दिन सबैलाई आग्रह गर्छु ।

साथै; अहिले यो नयाँ भेरियन्टबारे निकै हल्ला भइरहेको छ । नआत्तिनुहोस् तर सजग चाहिं रहनुहोस् । किनकि यो भाइरसबारे अनुसन्धान हुँदैछ । यो भेरियन्ट अत्यधिक मात्रामा देखिएको भनेर भनिएको हुनाले हामीले सजग हुनुपरेको हो ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved