• बुधबार, १२ बैशाख, २०८१
  • ००:२७:०५
  • नेपालीको अभिमत

शिक्षा

रूम टु रिडले बाँकेकाे काेहलपुरमा जीवन उपयोगी सीप शिक्षाका लागि अभियान चलाउने

नेपालमत

बिहीबार, ९ मङ्सिर, २०७८

कोहलपुर - बालिका शिक्षामा काम गर्दै आएकाे रूम टु रिडले बाँकेकाे काेहलपुर नगरपालिकामा अब जीवन उपयोगी सीप शिक्षामा जाेड दिएर काम गर्ने भएकाे छ । 

रूम टु रिडले आफ्नाे संस्थाको आगामी रणनीतिबारे काेहलपुर नगरपालिका सँग विहीबार छलफल गर्दै यस्ताे जानकारी गराएकाे हाे । 

मेयर लुटबहादुर रावतको अध्यक्षतामा भएकाे कार्यक्रममा रूम टु रिडकाे बालिका शिक्षा कार्यक्रमका सिनियर अफिसर सुष्मा राईले जीवन उपयोगी सीप शिक्षाको मोडल तथा आगामी रणनीतिबारे जानकारी गराउनु भएकाे थियाे । स्थानीय सरकारसँगको साझेदारीमा थप ३० प्रतिशत विद्यालयहरूमा बालिका शिक्षा कार्यक्रम विस्तार हुने, कार्यक्रममा बालकको सहभागिता गराइने र लैंगिक समानतामा आधारित हुने आगामी रणनीति रहेको राईले बताउनु भयो ।

कार्यक्रममा नगर बाल सञ्जालका अध्यक्ष रमेश ओडले बाल क्लब मार्फत जीवन उपयोगी सीप शिक्षालाई अगाडि बढाउन उत्सुक रहेको बताउनु भयो । नगर शिक्षा शाखा प्रमुख रविलाल मिजारले जीवन उपयोगी सीप शिक्षा हरेक मानिसको जीवनमा अपरिहार्य रहेको बताउनु भयो ।

यस्तै सामाजिक विकास समितिका संयोजक नारायणी वलीले बालिका शिक्षा कार्यक्रम मार्फत जीवन उपयोगी सीप तालिममा भाग लिएका बालिकाहरूले सिकेको सीप अभ्यासमा ल्याएको पाइएको बताउनु भयाे ।

प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्रबहादुर केसीले रूम टु रिडको कार्यक्रमले सहस्राब्दी विकास लक्ष्य हासिल गर्नमा पनि योगदान पुग्ने बताउनु भयो ।

कार्यक्रममा मेयर लुटबहादुर रावतले जीवन उपयोगी सीप शिक्षालाई पाठ्यक्रममा समावेश गरेर स्थायित्वका लागि शिक्षकलाई शिक्षण विधि तालिम दिनु पर्ने सुझाव दिनु भयो । उहाँले नगरपालिकाले आफ्नो कार्यक्रममा समावेश गरेर स्थायित्वकाे पहल गर्ने समेत बताउनु भयाे । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved