• शुक्रबार, ७ बैशाख, २०८१
  • ०२:०४:१९
  • नेपालीको अभिमत

शिक्षा

मूलुककै जेठो संस्कृत विद्यालयप्रति राष्ट्रपतिको चासो, विद्यालय परिवार उत्साहित

नेपालमत

बुधबार, ८ मङ्सिर, २०७८

महोत्तरी - मूलुककै जेठो मानिने महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालय यतिखेर उत्साहित छ ।  राष्ट्रपतिले विद्यालय परिसरमै पुगेर अवलोकन गर्दै शैक्षिक र भौतिक अवस्थाबारे चासो देखाउनु भएपछि यहाँका शिक्षक, विद्यार्थी र मटिहानीवासी उत्साहित भएका हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले गत सोमबार विद्यालयको अवलोकन गर्दै विद्यालयका गतिबिधिबारे जानकारी लिनुभएको थियो ।  

‘राष्ट्रपतिले विद्यालयको शैक्षिक, भौतिक अवस्थाबारे चासो देखाउनुभयो’, विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेलले भन्नुभयो, ‘राष्ट्रपतिले विद्यालयको सुधारका लागि के गर्न सकिन्छ ? भन्ने चासो देखाउनुभएको छ, राष्ट्रप्रमुखको यो चासोले हामी उत्साहित भएका छौँ ।’

वि.सं. १७७५ मा जयकृष्ण दास नामका एक सन्तले स्थापना गर्नुभएको गुरुकूल कालान्तरमा संस्कृत पाठशाला भनिँदै अहिले राजकीय संस्कृत माध्यमिक विद्यालयका नाममा सञ्चालित छ । 

शैक्षिक जागरण र सुधारका अग्रदूत बालगुरु षडानन्द (भोजपुर, दिङ्ला) ले शिक्षा आर्जन गर्नुभएको यो विद्यालयलाई पछिल्लो कालमा नेपालको प्रजातान्त्रिक आन्दोलन (२०१७–२०४६) मा यहीँकै विद्यार्थीले सहादत दिनुभएको गौरवपूर्ण इतिहास रहेको मटिहानीवासी सम्झन्छन् ।

करिब १५ कठ्ठा क्षेत्रफलमा फैलिएको अहिले कक्षा–८ देखि १२ सम्म अध्ययन÷अध्यापन हुने यो विद्यालयमा पढेका विद्यार्थी मुलुककै विशिष्ट ओहदामा पुगेर कुशलतासाथ सो जिम्मेवारी निर्वाह गरेका भन्दै स्थानीयबासी गौरवान्वित छन् । 

वि.सं २०४६ देखि भने विद्यालयमा पढ्न आउने विद्यार्थी पहिलेभन्दा घटेका छन् । प्रजातन्त्र पुनस्थापनायता ठाउँ ठाउँमा विद्यालय स्थापनाको लहर चलेपछि विकट पहाडि भेगबाट पढ्न आउने विद्यार्थीको संख्या घटेको यहाँका शिक्षक बताउँछन् ।

अहिले मुलुकका २७ जिल्ला र छिमेकको भारतका विभिन्न ठाउँका गरी १५० विद्यार्थी उहाँ अध्ययनरत छन् । १५० विद्यार्थीमध्ये ६५ छात्राबासमा छन् । संस्कृत शिक्षाको पुरानो केन्द्र रहेको यो विद्यालयको पुरानो छात्राबास भवन यसपालिको गत बर्खामा ढलेको छ । 

आठ कोठे सो भवन ढलेपछि अहिले छात्राबासमा बस्ने विद्यार्थीको बसोबासमा अप्ठ्यारो परेको विद्यालयले जनाएको छ । 

‘राष्ट्रपतिमा सबै कुरा जाहेर ग¥यौँ’, प्राचार्य पौडेलले भन्नुभयो, ‘उहाँले चासोपूर्वक सबै कुरा सुन्नुभयो, राष्ट्रप्रमुखको आँखा परेको समस्याबारे राज्यले केही गर्ला भन्ने आस पलाएको छ ।’

विद्यालयमा समयअनुकूल पठनपाठनका विषय थपिन आवश्यक रहेको र व्यावसायिक शिक्षा प्रवद्र्धनका लागि आयुर्वेद विषयको अध्ययन/अध्यापनको खाँचो रहेको राष्ट्रपतिलाई  जानकारी गराइएको प्राचार्य पौडेलले बताउनुभयो । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved