• बुधबार, ५ बैशाख, २०८१
  • ०१:२३:३२
  • नेपालीको अभिमत

फिचर

सरसफाइकर्मीहरूको दुखेसो : फोहोर छान्दा हातमा प्याड आएर घिन लाग्छ

इन्द्रसरा खड्का

मंगलबार, ७ मङ्सिर, २०७८

रिपरि फोहोरको डुंगुर । ठसठस्ती गन्हाउने ! बाटोमा हिंड्नेहरूलाई पनि उस्तै सास्ती, नाक थुनेर हिंड्नुपर्ने ! त्यही डुंगुरको बीचमा फोहोर छुट्याउँदै हुनुहुन्छ सुस्मिता लामा । न हातमा पञ्जा छ, न नाकमुख राम्ररी छोपिने गरी मास्क ! लगाइएको मास्क पनि नाकभन्दा तल आएको छ ।

सुस्मिताको यो एक वा दुई दिनको काम होइन, न त एकैछिनको मात्र हो । बिहान ९ देखि साँझ ५ बजेसम्म यसरी नै फोहोरसँग खेल्नु उहाँको दैनिकी हो । त्यो फोहोरको डुंगुरमा पसेर उहाँले विभिन्न प्रकारका फोहोर छुट्ट्याई अलग बनाउनुपर्छ । जस्तै; फलाम एकातिर, बोतल अर्कोतिर, प्लास्टिक अर्कैतिर यस्तै यस्तै ।

३ मंसीरमा टेकुस्थित बागमती खोलाको छेउमा रहेको फोहोरको डुंगुरमा भेटिनुभएकी सुस्मिता भन्नुहुन्छ, “शुरूका केही दिन निकै गाह्रो भयो । कसरी यो फोहोरको बीचमा पसेर काम गर्ने भन्ने भयो । तर, घिन मानेर पैसा आउँदैन । पेट पाल्न काम गर्नै पर्छ । अनि बानी पर्दै गयो ।”

सुस्मितालाई काम गर्दा पञ्जा र मास्क लगाउनुपर्छ भन्ने थाहा छ । तर, हातमा पञ्जा लगाएर काम गर्दा गाह्रो महसूस हुन्छ । “घरमा गएर लुगा फेर्र्छु, साबुनपानीले हात धोएर मात्र खाना खान्छु । तर, यहाँ मास्क र पञ्जा लगाएर काम गर्न अप्ठ्यारो लाग्छ,” उहाँले भन्नुभयो ।

फोहोर त सबै फोहोर नै हो तर रगतले भिजेको प्याड हातमा आउँदा नराम्रो लाग्छ । स्यानिटरी प्याड तथा कपडाको प्याड फाल्दा दिदीबहिनीहरूले ध्यान दिए राम्रो हुनेथियो ।

– सुस्मिता लामा, सफाइकर्मी

दिनभरि काम गरेबापत सुस्मिताले मासिक १२ हजार बढी कमाउनुहुन्छ । फोहोरमा काम गर्दा उहाँलाई एउटा कुरा चाहिं खड्किरहन्छ । त्यो हो– प्रयोग गरेर फालिएका स्यानिटरी प्याड । फोहोरमा प्याड फाल्दा अलि विचार गरिदिए हुने भन्ने उहाँलाई लाग्छ ।

“फोहोर त सबै फोहोर नै हो तर रगतले भिजेको प्याड हातमा आउँदा नराम्रो लाग्छ । स्यानिटरी प्याड तथा कपडाको प्याड फाल्दा दिदीबहिनीहरूले ध्यान दिए राम्रो हुनेथियो,” सुस्मिताले गुनासो पोख्नुभयो ।

सुस्मिताको घर काभ्रे हो । उहाँ काठमाडौं आउनुभएको तीन वर्ष भयो । उहाँका तीन जना छोराछोरी छन् । श्रीमान् ज्यामी काम गर्नुहुन्छ । दुवै जनाको कमाइले पाँच जनाको परिवारलाई काठमाडौं बस्न–खान ठिक्क हुन्छ ।

सुस्मिता पाँच महीनाको छँदा आमाको मृत्यु भयो । बुवाले अर्को बिहे गर्नुभयो । बाजेबज्यैसँग बसेर हुर्कनुभयो । पाँच कक्षासम्म पढेपछि पढाइलाई निरन्तरता दिन सक्नुभएन । “पढेलेखेको छैन । अन्य ठाउँमा काम गर्न अक्षर चिन्ने हुनुपर्छ । हामी जस्ताले यो भन्दा अन्य के काम पाइन्छ र !” नेपालमतसँग सुस्मिताले भन्नुभयो ।

– – –

कालिमाटीकी कान्छी ठकुरी फोहोरमैलामा काम गर्न थालेको १८ वर्ष भयो । ३ मंसीरमा नेपालमत प्रतिनिधिसँग भेट हुँदा सुस्मितासँगै काम गरिरहनुभएकी कान्छी उमेरले ६८ वर्ष लाग्नुभयो । “अब पहिले जस्तो छैन । ढाड कटकट दुखिरहन्छ । आँखा पनि पहिले जस्तो देख्न सक्दिनँ तर पनि काम नगरी बस्न मन लाग्दैन,” कान्छीले भन्नुभयो ।

सुस्मितालाई जस्तै कान्छीलाई पनि पञ्जा लगाएर काम गर्न गाह्रो लाग्छ । “यतिका वर्षसम्म फोहोरमै काम गरें, केही भएन । अब पञ्जा नलगाएर के बिरामी हुँला र !” कान्छीले हाँस्दै भन्नुभयो । सुस्मितालाई जस्तै कान्छीलाई पनि फोहोर छान्ने क्रममा हातमा प्याड आउँदा नराम्रो लाग्छ ।

कान्छीका तीन छोरा र दुई छोरी छन् । छोराहरू सबै जागिरे छन् । छोरीहरू बिहे गरेर गइसके । कान्छीलाई उहाँका छोराछोरी काम गर्न पर्दैन भन्छन् । तर, उहाँलाई त्यत्तिकै घरमा बस्न मन लाग्दैन । “हातखुट्टा चलुञ्जेल काम गर्छु, पकेट खर्च भने पनि चल्छ । सानोतिनो खर्चको लागि पनि किन छोराछोरीसँग मागिराख्नु भनेर सकिनसकी आउँछु,” उहाँले भन्नुभयो । कान्छीलाई फोहोरमा काम गर्न कुनै अप्ठेरो लाग्दैन ।

– – –

भारतको राजीपुरका शाब्दिन शेख २१ वर्षदेखि नेपालमा फोहोरमैलाको क्षेत्रमा काम गर्दै आउनुभएको छ । काँधमा ठूलो बोरा भिर्दै दिनभर टेकु र कालिमाटीको गल्ली–गल्लीमा फोहोर टिप्न पुग्नुहुन्छ ।

“बिहानैदेखि काँधमा बोरा बोकेर सडकका छेउछाउ, घर वरिपरि, पुलमुनि जहाँ–जहाँ फोहोर भेटिन्छ टिप्दै हिंड्छु,” शाब्दिनले आफूले गर्ने कामबारे बताउनुभयो । फोहोरमैला संकलन गर्ने क्रममा स्यानिटरी प्याड कत्तिको भेट्नुहुन्छ ? भन्ने प्रश्नमा शाब्दिन भन्नुहुन्छ, “सिसी र बोतल टिप्दै हिंड्ने भएकाले प्याड फालिएको ठाउँमा हात गएको छैन । तर, कवाडीमा गएर फोहोर छुट्याउँदा भने धेरै भेटिन्छ ।”

शब्दिन दुई वर्षको छँदा बुवासँगै भारतबाट नेपाल आउनुभयो । उहाँको बुवा पनि फोहोर संकलनमै काम गर्नुहुन्थ्यो । शाब्दिनले यो काम बुवासँगै सिक्नुभएको हो । “६ वर्षको उमेरदेखि शुरू गरेको काम २७ वर्ष पुग्दासम्म गरिरहेको छु,” उहाँले भन्नुभयो ।

शाब्दिन बिहानको समयमा सडकतिर फोहोर टिप्ने र दिउँसो चाहिं कवाडीमा गएर संकलन गरेर ल्याइएको फोहोर छुट्याउने काम गर्नुहुन्छ । “प्याडमा के–के किटाणु हुन्छ भन्छन् । हामी त यही नांगो हातले समात्छौं र अलग राख्छौं । यसको लागि सरकारले केही व्यवस्था गरिदिए सजिलो हुनेथियो,” शाब्दिनको माग छ ।

– – –

फोहोरमैलामा ३० वर्षदेखि काम गर्दै आउनुभएकी माया तामाङ रगतले भिजेको प्याड हातमा आउँदा साह्रै समस्या भएको बताउनुहुन्छ । “हुनतः फोहोर सबै फोहोर नै हो । दिसापिसाबदेखि सबै कुरा हुन्छ तर रगतले भिजेको प्याडमा हात जाँदा नराम्रो लाग्छ,” उहाँले भन्नुभयो । नेपालमा महीनावारी र प्याडका विषयमा चर्को बहस भइरहेका वेला प्याड व्यवस्थापनका कुरामा पनि बहस हुनुपर्ने उहाँको भनाइ छ ।

महीनावारीको वेला प्रयोग गरिएका प्याडहरू पत्रिकामा बेरेर बाहिर मार्करले चिन्ह लगाएर मात्र फोहोरमा फाल्ने हो भने पनि सफाइ गर्दा प्याड हातमा आउँदैनन् । प्याडलाई जलाउँदा वायु प्रदूषण हुन्छ भने जहाँ पायो त्यहीं फाल्दा वातावरण प्रदूषित हुन्छ ।

प्रकाश अमात्य, अभियन्ता

“फोहोरमा काम गर्ने धेरै साथीहरूले पञ्जा तथा मास्क लगाउँदैनन् । यसरी प्रयोग गरिएको प्याड हातैले टिप्दा घिन मात्र नभई संक्रमणको डर पनि हुन्छ,” मायाले भन्नुभयो ।

फोहोरमैलाको क्षेत्रमा काम गर्नेहरूले प्याड जस्ता चिजहरू फोहोरमा मिसाउँदा प्याड हो भन्ने थाहा हुने तरिकाले राखिदिन माग गर्दै आएका छन् ।

प्याडले वातावरणमा असर

वातावरणको क्षेत्रमा काम गरिरहनुभएका अभियन्ता प्रकाश अमात्य प्याडको व्यवस्थापन नहुँदा त्यसको असर सरसफाइको क्षेत्रमा काम गरिरहेकालाई पर्ने गरेको बताउनुहुन्छ । २०६८ सालको जनगणना अनुसार नेपालमा २ करोड ६४ लाख ९४ हजार ५ सय ४ जनसंख्या छ । जसमध्ये  १ करोड ३६ लाख ४५ हजार ४ सय ६३ महिला छन् । जसमा महीनावारी हुने अनुमानित उमेर समूह १५ देखि ३९ वर्ष मान्ने हो भने यो उमेरका महिलाको संख्या ५७ लाख ९३ हजार ८ सय ३७ छ ।

महीनावारी हुँदा अधिकांश महिला स्यानिटरी प्याड प्रयोग गर्छन्, अझ शहरमा त यो शतप्रतिशत जस्तै छ । हाम्रो समाजमा महिलाले प्रयोग गरिसकेको प्याड व्यवस्थापन गर्ने भनेकै पोको पारेर फोहोरमा फाल्नु हो । यसरी फोहोरमा फालिएको प्याड फोहोर संकलन गर्ने अथवा यो क्षेत्रमा काम गर्नेहरूको हातमा पर्छ । जसले गर्दा उनीहरूलाई मात्र नभई समग्र वातावरण नै दूषित हुन्छ ।

प्रकाश भन्नुहुन्छ, “महीनावारीको वेला प्रयोग गरिएका प्याडहरू पत्रिकामा बेरेर बाहिर मार्करले चिन्ह लगाएर मात्र फोहोरमा फाल्ने हो भने पनि सफाइ गर्दा प्याड हातमा आउँदैनन् ।” उहाँका अनुसार प्याडलाई जलाउँदा वायु प्रदूषण हुन्छ भने जहाँ पायो त्यहीं फाल्दा वातावरण प्रदूषित हुन्छ ।

मर्यादित महीनावारी सञ्जालका संयोजक गुणराज अवस्थी प्याडको व्यवस्थापनको लागि राज्यले स्थानीय तहलाई निर्देशन दिनुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “प्याड जलाउन एउटा मेशिन पाइन्छ जसले विद्युतीय माध्यमबाट फोहोरलाई नष्ट गर्छ । यसको प्रयोगबाट प्याड नष्ट हुनुका साथै यसले वातावरणलाई पनि असर गर्दैन ।”

सुस्मिता लामा

कान्छी ठकुरी

शाब्दिन शेख

तस्वीरहरू: इन्द्रसरा खड्का 

इन्द्रसरा खड्का

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

मंगलबार, ७ मङ्सिर, २०७८

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved