• बिहीबार, १३ बैशाख, २०८१
  • २३:१३:३२
  • नेपालीको अभिमत

अपराध

दुर्लभ चितुवाको छालासहित ४ जना पक्राउ

नेपालमत

सोमबार, ६ मङ्सिर, २०७८

काठमाडौं - सुर्खेतको बराहताल गाउँपालिका–५ बड्डीचौरबाट तीन थान दुर्लभ चितुवाको छालासहित चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अछामको पञ्चदेवल नगरपालिका–८ का ३५ वर्षीय कमल शाही, २२ वर्षीय चक्रबहादुर शाही, अछामकै रामारोशन गाउँपालिका–४ का २१ वर्षीय ओपेन्द्र शाही र दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–२ का ३५ वर्षीय विमल शाही रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

विशेष सूचनाको आधारमा सुर्खेत पश्चिम पञ्चपुरी नगरपालिकास्थित बड्डीचौर बजारमा रहेको प्रेम होटलको कोठा नम्बर ३ मा शङ्कास्पदरुपमा बसिरहेको अवस्थामा चारैजनालाई खानतलास गर्दा जेब्रा झोलामा प्लाष्टिकको बोराभित्र राखेको तीन थान चितुवाको छाला भेटिएको उहाँले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले पक्राउ परेका विमल र कमल शाहीबाट एक÷एक थान लाभा, ओपेन्द्र र चक्रबहादुर शाहीबाट एक÷एक थान रेड÷रियल्मी मोबाइल बरामद गरिएको जानकारी दिनुभयो । 

यसका साथै चक्र शाहीले बोकेको कालो रङको झोलामा रु ४५ लाख उल्लेख गरी दस्तखत गरेको चेकसमेत बरामद गरिएको प्रहरी उपरीक्षक विष्टले बताउनुभयो । 

सोही व्यक्तिको साथबाट २७ हजार नगदसमेत बरामद गरिएको र पक्राउ परेका चारै जनालाई अनुसन्धान तथा आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय वीरेन्द्रनगर सुर्खेतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved