• शनिबार, ८ बैशाख, २०८१
  • ०७:४९:४९
  • नेपालीको अभिमत

शिक्षा

उपयुक्त संरचना नहुँदा ओझेलमा पर्दै प्राकृतिक विज्ञान संग्रहालय

इन्द्रसरा खड्का

शनिबार, ४ मङ्सिर, २०७८

नेपालमा पहिले कस्ता जीव थिए, ती कसरी लोप भए ? अहिले पाइने जीव कस्ता छन् ? भनेर चासो राख्नेहरूका लागि काठमाडौंको स्वयम्भूस्थित किमडोल चोक नजिक रहेको प्राकृतिक विज्ञान संग्रहालय उपयुक्त हुनसक्छ । यहाँ लाखौं वर्ष पहिले लोप भइसकेका जीवजन्तुका अवशेष (फोसिल)हरू र दुर्लभ वनस्पतिको संग्रह गरिएको छ ।

सन् १८४२ मा नेपालको तराईमा पाइने रामगाई केही वर्ष अघिसम्म पनि पश्चिम नेपालको तराई तथा भित्री मधेशमा पाइन्थ्यो । तर, अचेल यो नेपालबाट लोप भइसकेको छ । प्राकृतिक वासस्थानबाट लोप भइसकेको यो वन्यजन्तुको ट्याक्सिडर्मी गरी जस्ताको तस्तै संग्रहालयको प्रदर्शनी कक्षमा जानकारी सहित राखिएकाले त्यो कस्तो थियो त्यहाँ हेर्न  सकिन्छ ।

यहाँ यस्ता आकर्षण अरू पनि छन् । गर्मी मौसममा पाइने सर्प करीब २३ वर्ष पहिले काठमाडौं उपत्यकामा भेटियो । मानव जातिको पुर्खा मानिने रामापिथेकसको लाखौं वर्ष पुरानो बङ्गारा कस्ता थिए भन्नेबारे जानकारी मात्र होइन, प्रत्यक्ष हेर्न पनि पाइन्छ ।

यस्तै; काँडेभ्याकुर, चरीबाघ, श्रीपेचमा प्रयोग हुने प्वाँखधारी कल्कीचरा लगायत दुर्लभ जीवका अवशेष र वनस्पति लगायत करीब ५५ हजार बढी नमूना संग्रहालयमा संरक्षण गरी राखिएका छन् ।

संग्रहालयमा तत्कालीन युवराज दीपेन्द्रले शिकार गरेको काकाकुल लगायत गोही, अजिङ्गर, राजगोमन, सालक, हाब्रे (रेड पाण्डा), भालु, गैंडाको भ्रुण आदि थुप्रै नमूना/आखेटोपहारहरू संकलन गरी प्रदर्शनीमा राखिएका छन् ।

शैक्षिक, प्राज्ञिक र जनचेतना अभिवृद्घिका लागि संग्रहालय

त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत रहेको यस प्राकृतिक विज्ञान संग्रहालय विसं. २०३२ मा स्थापना भएको हो । जीवजन्तु तथा वनस्पतिको शैक्षिक र जैविक विविधतासम्बन्धी जनचेतना अभिवृद्घि गर्न यो संग्रहालयले सजिलो बनाएको छ । जीवविज्ञानमा चासो राख्ने समाजका हरेक तप्कादेखि स्कूलका बालबालिका, विश्वविद्यालयका विद्यार्थी तथा पर्यटक समेतलाई संग्रहालयले गर्दा नेपालको जैविक विविधतालाई नजिकबाट नियाल्न सहज भएको छ ।

संग्रहालयका वनस्पतिशास्त्रका उपप्राध्यापक विमला शाक्यले धेरै वर्षदेखि संग्रहालयमा रहेका नेपालमा पाइने च्याउ र झ्याउको अवस्थाबारे अनुसन्धान गरिरहनुभएको छ । च्याउविद् डा. शिव देवकाटासँगको सहकार्यमा गरिएको उक्त अनुसन्धानको डेटाबेस तयार भई इसिमोडको वेभसाइटमा पनि उपलब्ध छ । शाक्यका अनुसार संग्रहालयका धेरै च्याउ र झ्याउ काम नलाग्ने अवस्थामा रहेको पाइएको छ ।

विश्वविद्यालय अनुदान आयोगको सहयोगमा उपप्राध्यापक शाक्य हाल अर्को विषयमा पनि अनुसन्धान गर्दै हुनुहुन्छ । कांग्रेसी झार र गन्नेघाँसले आफू वरिपरिका अन्य वनस्पतिलाई कति र कसरी असर गर्छन् भन्नेबारे उहाँको अध्ययन केन्द्रित छ । यसको लागि मुंगको दाल र मुलालाई झारसँगै राखेर अनुसन्धान भइरहेको छ ।

संरचनाको अभाव

प्राकृतिक विज्ञान संग्रहालयमा जीवजन्तु तथा वनस्पतिका दुर्लभ नमूनाहरू एउटा हलमा राखिएका छन् । प्रदर्शनीका लागि ठाउँको अभाव भएको प्राणीशास्त्रका सहप्राध्यापक एवं संग्रहालय प्रमुख डा. गणेशबहादुर थापाको भनाइ छ । थापाका अनुसार आनन्दकुटी विद्यापीठको होस्टेलको भवन विद्यापीठले त्रिविलाई हस्तान्तरण गरेपछि प्रदर्शनी हल बनाइएको हो । “एक त हल ठूलो छैन, अर्को भएको पनि जीर्ण अवस्थामा छ । हामीसँग भवन नहुँदा नमूनाहरू आकर्षक तरिकाले प्रदर्शनीमा राख्न र मोलिक्युलर ल्याब बनाउन सकिएको छैन,’’ संग्रहालय प्रमुख डा. थापाले भन्नुभयो ।

संग्रहालयका सहप्राध्यापक डा. इशान गौतम भन्नुहुन्छ, “संग्रहालयका ट्याक्सिडर्मिस्टहरू स्व. देवचन्द्र श्रेष्ठ र देवेन्द्र महर्जनले निकै मेहनतपूर्वक तयार गरेका दुर्लभ जीवजन्तुका जीवन्त नमूनालाई ठाउँ अभाव हुँदा तिनीहरूकै प्राकृतिक वासस्थान सिर्जना गरी प्रदर्शनीमा राख्न सकिएको छैन । कल्पनाशीलता र सिर्जनशीलताको प्रयोग गर्न सकिने ठाउँ नै रहेन ।”

कहिलेकाहीं केही नमूना पहिचानका लागि भौतिक स्वरुप र संरचना बाहेकका विधि/पद्घति अवलम्बन गर्नुपर्ने हुन्छ । त्यसका लागि सम्बन्धित मानव संशाधनसहित एक मोलिक्युलर ल्याबको पनि आवश्यकता पर्दछ । भवनको अभावमा यो पनि राख्न नसकिएको डा. गौतम बताउनुहुन्छ ।

जनशक्तिको पनि अभाव

संग्रहालयमा हाल संग्रहालय प्रमुखसहित प्राणीशास्त्रका दुई सहप्राध्यापक र वनस्पतिशास्त्रका एक उपप्राध्यापक गरी जम्मा तीनजना मात्र छन् । अझै दुई विषयका शिक्षकको दरबन्दी खाली नै छ । कर्मचारीतर्फ पनि उस्तै अवस्था छ । केही वर्षयतादेखि रिक्त रहेका दरबन्दीमा जनशक्ति पूर्तिका लागि त्रिभुवन विश्वविद्यालयको सम्बन्धित निकायले चासो नदिएको संग्रहालय प्रमुख डा. गणेशबहादुर थापाको गुनासो छ ।

जग्गाको समस्या

स्वयम्भूमा रहेको यस प्राकृतिक विज्ञान संग्रहालयको जग्गा २१.१ रोपनी छ । आनन्दकुटीले दिएको यो जग्गा अहिलेसम्म पनि त्रिभुवन विश्वविद्यालयको नाममा छैन । त्रिविको नाममा जग्गा नहुँदा पनि भवन निर्माणका लागि समस्या भएको र यसका लागि शिक्षामन्त्री मार्फत मन्त्रिपरिषद्मा निवेदन पेश गरिसकिएको तर वेला–वेलामा भइरहने सरकार परिवर्तनले आफ्नो मुद्दा ओझेलमा परेको हो कि भन्ने लाग्छ संग्रहालय प्रमुख डा. थापालाई ।

संग्रहालयकै लागि भनेर त्रिभुवन विश्वविद्यालयको तत्कालीन कार्यकारी परिषद्ले छुट्याएको कीर्तिपुरमा रहेको जग्गा पनि संग्रहालयको नाममा हुन सकेको छैन । त्रिविले पहिले लगभग २०० रोपनी, त्यसपछि ६५ रोपनी जग्गा संग्रहालयको लागि छुट्याएको थियो । तर, अहिले भागमा ६ रोपनी मात्र परेको छ ।

हेर्नेहरूको भीड, सरकारको प्राथमिकतामा भने परेन !

संग्रहालयमा भएका संकटापन्न, लोपोन्मुख र लोप भइसकेका जीवजन्तु हेर्न आमजनमानस, विद्यार्थीदेखि पर्यटकहरू समेत स्वयम्भू पुग्ने गर्दछन् । अझ, जीवजन्तु तथा वनस्पतिमा चासो राख्ने र संग्रहालयबारे थाहा पाएकाहरू त त्यहाँ नपुग्ने कुरै भएन । तर, सरकारको भने त्यति ध्यान पुगेको देखिंदैन ।

नेपालमा अझै पनि विज्ञान र प्रविधिलाई प्राथमिकताको विषयमा पारिएको छैन । कुनै पनि मुलुकले प्रगति र समृद्घितर्फको यात्रा तय गर्न अनुसन्धान र विकासलाई प्राथमिकता नदिई धर छैन !

इन्द्रसरा खड्का

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

शनिबार, ४ मङ्सिर, २०७८

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved