• बिहीबार, १३ बैशाख, २०८१
  • १७:४०:५७
  • नेपालीको अभिमत

फिचर

खानेपानी र शौचालय मापदण्ड अनुसार छैनन् उपत्यकाका पेट्रोल पम्पमा; नहुनेलाई कारबाही हुन्छ : आयल निगम

इन्द्रसरा खड्का

शुक्रबार, ३ मङ्सिर, २०७८

काठमाडौंको कालिमाटी र टेकु जोड्ने बागमतीको पुल छेउमा छ कनक ट्रेड सेन्टर । जहाँ डिजेल र पेट्रोलको लागि सयौंको लाइन लाग्छ । बुधबार त्यही लाइनमा पेट्रोलको लागि हुनुहुन्थ्यो रौतहटका दिपेन्द्र यादव । सितापाइलाबाट आउनुभएको उहाँलाई शौच लाग्यो । बाइकमा पेट्रोल हाल्ने र शौचालय पनि जाने भन्दै उहाँ कनक ट्रेड सेन्टरमा छिर्नुभएको थियो । तर, त्यहाँ दिसा गर्नलाई उचित शौचालय नदेखेकोले शौचको लागि घर नै फर्कने सोचमा हुनुहुन्थ्यो । ‘शौचालय जानेबाटो’ भनेर लेखिएको स्थानसम्म पछ्याउँदै जाँदा त्यहाँ पिसाब मात्र गर्न मिल्ने ठाउँ रहेको तर दिसा गर्न नमिल्ने देखेर दिक्क लागेको यादवले नेपालमतलाई बताउनुभयो ।

नेपालमतले उपत्यकामा रहेका पेट्रोल पम्पमा शौचालय र खानेपानीको अवस्था कस्तो छ भन्नेबारे खोजी गरेको थियो । यस खोज अनुसार यहाँका अधिकांश पम्पमा शौचालयको व्यवस्था छैन । यसै खोजीको सिलसिलामा भेटिनुभएको हो दिपेन्द्र यादव पनि । यादवले भनेजस्तै कनक ट्रेड सेन्टरमा ‘शौचालय’ लेखेको बोर्ड त टाढैबाट देखिन्छ तर त्यहाँ जाँदा शौचालयको लागि भित्ता मात्रै भेटिन्छ । जुन, पुरुषहरूका लागि पिसाब फेर्नसम्म मिल्ने खालको छ– नाक थुनेर ।

पम्पको एक छेउको कुनापट्टि सानो भित्ता जस्तो छ त्यही हो शौचालय । जसमा एकपटकमा एकजनाले मात्र पिसाब फेर्न मिल्छ । त्यसमा पनि पुरुषले मात्र, महिलाले होइन । अझ, दिसा गर्न मिल्ने शौचालयको त कुरै छोडौं ।

“शौचालय खोइ ?” भन्ने नेपालमतको प्रश्नमा पम्पका कर्मचारी सुमन मैनालीले कुनापट्टिको भित्तो र ताला लगाएको एउटा कोठा देखाउँदै भन्नुभयो, “त्यो भित्ता पुरुषका लागि हो र महिलाको लागि बनाइएको शौचालय यो हो ।” ताला लगाइएको सम्बन्धमा राखिएको जिज्ञासामा मैनालीले थप्नुभयो, “महिलाहरू प्रायः शौचालय खोज्नुहुन्न, त्यसैले ताला लगाएका हौं । उहाँहरू आउनुभयो भने चाबी दिन्छौं । पुरुषहरूको लागि चाहिं त्यही भित्ता हो ।” पुरुषहरूलाई दिसा गर्नुपरेमा नि ? भन्ने प्रश्नमा चाहिं उहाँ मौन रहनुभयो । कनक ट्रेड सेन्टर विसं. २०४१  मा सञ्चालनमा आएको हो ।

कालिमाटीस्थित माली आयाल स्टोरको शौचालय (बायाँ) र कनक ट्रेड सेन्टरको शौचालय ।

उसो त दिनहुँ सयौंको भीड लाग्ने साझा आयल स्टोरमा पनि सुविधाजनक शौचालय छैन । ललितपुरको पुल्चोकमा रहेको साझा आयल स्टोरमा दुईवटा मात्र शौचालय छन् । धेरैले पत्याएको यस पेट्रोल पम्पमा प्रायः भीड नै हुन्छ । तर, यहाँ महिला र पुरुषको अलग–आलग शौचालय छैन ।

पम्पका प्रमुख सन्तोष बस्नेत ठाउँको अभावले गर्दा शौचालय बनाउन समस्या भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यत्तिको पम्पमा मापदण्ड अनुसार शौचालय नभएकै हो । तर, भएको शौचालयमा भने पानीको समेत व्यवस्था छ । शौच गर्नेहरू आलोपालो गरेर जानुहुन्छ ।”

कालिमाटी तरकारी तथा फलफूल बजारसँगै जोडिएको छ माली आयल स्टोर । त्यहाँ पनि गतिलो शौचालय छैन । पुरुषका लागि खुला ठाउँ तोकिएको छ भने महिलाको लागि तोकिएको ठाउँतर्फ जानको लागि नाक थुन्दै जानुपर्छ । शौचालय नपुग्दै टाढैबाट गन्ध आउँछ ।

पम्पमा आउने उपभोक्ता भन्दा पनि बजार र सडकमा हिंड्नेहरूले शौचालय प्रयोग गर्दा बढी फोहोर हुने गरेको पम्पको लेखा शखामा काम गर्ने कर्मचारी बिराज बज्रचार्यले बताउनुभयो ।

काठमाडौंकै त्रिपुरेश्वर चोक नजिकै रहेको मायाराम भोलाराम पेट्रोल पम्पको अवस्था पनि उस्तै छ । शौचालय भए पनि व्यवस्थित छैन तथा महिला र पुरुषको लागि अलग–अलग छैन ।

यता भद्रकालीमा नेपाली सेनाले सञ्चालन गरेको रिपुमर्दिनी पेट्रोल पम्पमा पनि महिला र पुरुषको लागि अलग–अलग शौचालय छैन । तर, एकै कोठामा तीनवटा शौचालय छन् ।

यी माथिका प्रतिनिधि पम्प मात्र हुन् । उपत्यकामा रहेका अधिकांश पम्पमा खानेपानी र शौचालयको गतिलो सुविधा छैन । भएकामध्ये पनि धेरै फोहोर छन् र पानीको पनि अभाव छ ।

ठाउँ नहुँदा समस्या

उपत्यकामा सञ्चालनमा आएका अधिकांश पेट्रोल पम्पका सञ्चालक स्थान अभावका कारण मापदण्ड अनुसार शौचालय बनाउन नसकिएको स्वीकार गर्छन् । “सडक बढ्दै गयो, पम्प साँघुरिंदै गए । त्यसैले पनि सबै व्यवस्था गर्न सकिएन,” मायाराम भोलाराम पेट्रोल पम्पका सञ्चालक राजेन्द्र टिवडेवालाले भन्नुभयो ।

सेनाले सञ्चालन गरेको रिपुमर्दिनी पेट्रोल पम्पलाई पनि ठाउँको अभावका कारण सार्ने तयारी भइरहेको छ । अहिले भएको ठाउँबाट अलि भित्र सार्ने तयारी भएकाले अब संरचना बनाउँदा अपांगमैत्री शौचालयदेखि हरेक मापदण्ड पूरा गर्ने सेनाको भनाइ छ ।

सरकारी क्षेत्रमै पनि छैनन् : विज्ञ

पानी र वातावरणको क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनुभएका प्रकाश अमात्य उपत्यकामा सरकारी क्षेत्रमै शौचालयको व्यवस्था राम्रो नभएको बताउनुहुन्छ । अस्पताल, मन्दिर, पेट्रोल पम्प लगायतका ठाउँमा शौचालय नहुँदा वातावरण नै दूषित भएको उहाँको दाबी छ । सरकारले नेपाललाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेको छ । तर, घर–घरमा शौचालय बनेता पनि सार्वजनिक स्थलमा शौचालय नभएको उहाँले बताउनुभयो । प्रकाश भन्नुहुन्छ, “उपत्यकामा सार्वजनिक शौचालयको संख्या न्यून छ, जसले गर्दा रत्नपार्क वरिपरि र बागमतीका छेउछाउमा अहिले पनि दिसा–पिसाब देखिन्छ ।”

सरसफाइको क्षेत्रमा काम गर्दै आएको संस्था गुथीका अनुसार उपत्यकाका तीन जिल्लामा जम्मा ६५ वटा सार्वजनिक शौचालय छन् । गुथीले सन् २०१८ मा प्रकाशन गरेको तथ्यांक अनुसार करीब ४५ लाख जनसंख्या रहेको उपत्यकामा ६५ वटा मात्र सार्वजनिक शौचालय रहेको पाइएको छ । सोही तथ्यांकमा पेट्रोल पम्पमा ८४ वटा शौचालय रहेको भनिएको छ । यस्तै; मन्दिर, सरकारी कार्यालय, पार्क, अस्पताल, व्यावसायिक भवन गरी उपत्यकामा जम्मा २ सय ४९ वटा सार्वजनिक शौचालय रहेको बताइएको छ ।

यस्तो छ मापदण्ड

नेपाल आयल निगमले तयार पारेको पेट्रोलियम पदार्थ विक्रेता विनियमावली २०७५ अनुसार पेट्रोल पम्प सञ्चालनका लागि मापदण्ड तयार पारेको छ । विनियमावलीको परिच्छेद–३ को विक्रेता बिक्री स्थलको मापदण्ड सम्बन्धी व्यवस्था अन्तर्गत बुँदा नं. १५ को (६) मा बिक्री स्थलमा पुरुषको हकमा न्यूनतम दुईवटा ट्वाइलेट सहितको ६ वटा युरिनल, महिलाको हकमा न्यूनतम दुईवटा ट्वाइलेट र अपांगमैत्री एक ट्वाइलेटको व्यवस्था हुनुपर्ने भनिएको छ । त्यस्तै; बुँदा नं. १५ (७) मा बिक्री स्थलमा कार्यालय, बिक्री कक्ष, स्वस्थ्यकर पिउने पानी हुनुपर्ने व्यवस्था गरिनुपर्ने भनिएको छ । तर, उपत्यकामा रहेका अधिकांश पेट्रोल पम्पमा यस्तो सुविधा देखिंदैन ।

मापदण्ड विपरीतलाई कारबाही हुन्छ : आयल निगम

नेपाल आयल निगमका अनुसार काठमाडौं उपत्यकाभित्र भक्तपुर, ललितपुर र काठमाडौंमा गरी १ सय १८ वटा पेट्रोल पम्प छन् ।

नेपाल आयल निगमका उपप्रमुख नगेन्द्र शाह, नयाँ मापदण्ड अनुसार महिला र पुरुषको अलग शौचालय, अपांगमैत्री शौचालय र पानीको व्यवस्था अनिवार्य भएकाले यस्तो सुविधा नभएकोलाई कारबाही गरिने बताउनुहुन्छ ।

भद्रकालीस्थित नेपाली सेनाद्वारा सञ्चालित रिपुमर्दिनी पेट्रोल पम्पको शौचालय । तस्वीरहरू: इन्द्रसरा खड्का

यसका लागि आफूहरूले अनुगमन गर्दा ठाउँ नभएर समस्या भएको गुनासो आउने गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “मापदण्ड अनुसार पेट्रोल पम्प सञ्चालन भए/नभएको निगमले अनुगमन गर्छ । यदि मापदण्ड अनुसार सञ्चालन नभएको भए सचेत गराउँछौ ।”

निगमको अनुगमन विभागका करुणा क्षेत्री भने आफूहरूले महीनामा एक पटक उपत्यकाका पेट्रोल पम्पमा अनुगन गर्ने गरेकोले सबै पेट्रोल पम्पमा अपांगमैत्री बाहेक अरू मापदण्ड पुगेको दाबी गर्नुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “काेरोनापछि हामीले अनुगमन गरेका छैनौं । तर, हामीले जति पनि अनुगमन गरेका पम्प छन् त्यहाँ शौचालय भएकाे पाएका छौं । यद्यपि; फोहोर भएकाले सफाइमा ध्यान दिन सुझाव दिने गरेका छौं ।”

इन्द्रसरा खड्का

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

शुक्रबार, ३ मङ्सिर, २०७८

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved