• बुधबार, १२ बैशाख, २०८१
  • १३:५२:२५
  • नेपालीको अभिमत

खेतीकिसानी

व्यावसायिक कृषि कर्मले विजय महतोको परिवारमा ल्यायो खुशी

एस. भूवनेश्वर 

शनिबार, ४ मङ्सिर, २०७८

विजय महतो महोत्तरीको भंगाहास्थित रामनगर, बिर्ताका कृषक हुनुहुन्छ । उहाँ ३७ वर्षको हुनुभयो । उहाँसँग सात बिघा जमिन छ । विगत १० वर्षदेखि उहाँ पूर्ण रूपमा कृषि कार्यमा होमिनु भएको छ ।

कृषि कार्यमा लागेको १० वर्ष भए पनि प्रतिफल आउनेगरी व्यावसायिक कृषि कार्य गर्न थालेको भने ६ वर्ष पूरा भएको उहाँ बताउनुहुन्छ ।

त्यसअघि खेतमा एक बाली धान मात्र लगाउने गर्नुभएका विजयले नाता समेत पर्ने गाउँका अगुवा कृषक सत्यनारायण यादवको हौसला तथा जिल्ला कृषि विकास कार्यालय महोत्तरीबाट तरकारी खेतीसम्बन्धी तालीम पाएपछि आफूलाई व्यावसायिक कृषि कार्यमा पूर्णतः आबद्ध गर्नुभएको हो ।

विजयले आफूलाई कुनै एउटा बालीमा मात्र सीमित नराखी समय, परिस्थिति र मौसम अनुकूल तरकारी तथा अन्य बालीनाली लगाउने गर्नुभएको छ । विशेषगरी गाउँलेले भन्दा फरक खालको तरकारी र नगदेबालीमा आफ्नो ध्यान जाने गरेको उहाँ बताउनुहुन्छ ।

सत्यनारायण यादवजस्ता अगुवा किसानहरूको अग्रसरता तथा सबै गाउँलेको सक्रियताका कारण आज भंगाहा तरकारी पकेट क्षेत्रका रूपमा विकसित भएको छ ।

पहिले पहिले खेतमा एक बाली धान मात्र लगाउने गर्नुभएका विजयले नाता समेत पर्ने गाउँका अगुवा कृषक सत्यनारायण यादवको हौसला तथा जिल्ला कृषि विकास कार्यालय महोत्तरीबाट तरकारी खेतीसम्बन्धी तालीम पाएपछि आफूलाई व्यावसायिक कृषि कार्यमा पूर्णतः आबद्ध गर्नुभएको हो ।

प्रायः सबै गाउँलेले व्यावसायिक तरकारी तथा नगदेबालीलाई आफ्नो प्रमुख आयश्रोत बनाइरहेकाले आफूले पृथक बालीमा ध्यान केन्द्रित गर्ने गरेको र त्यसले फाइदा पनि गरेको अनुभव विजय सुनाउनुहुन्छ ।

“अरूले भन्दा फरक बाली लगाउँदा बजारको समस्या पनि हुँदैन, नजिकै बिक्री गर्न पाइन्छ,” उहाँ भन्नुहुन्छ, “मूल्य पनि निकै राम्रो पाइन्छ ।”

विजयले आफ्नो बारीमा भन्टा, खुर्सानी, परवर, करेला, काउली लगायतका तरकारी लगाउनुभएको छ । त्यसबाहेक १ बिघामा उखु, डेढ विघामा गहुँ र अर्को १ बिघामा आलु लगाउनुभएको छ ।

गत वर्ष सबै गाउँलेले बेसार खेती गरेकाले उहाँले गर्नुभएन । गाउँलेले किलोमा ३० रुपैयाँ भन्दा बढी पाएनन् र यसपाली लगाएनन् । उहाँले भने यसपाली ३ कठ्ठामा अदुवा लगाएर झण्डै १ लाख रुपैयाँ बचत मात्र गर्नुभयो ।

“मेरो अदुवा प्रतिकिलो ५० रुपैयाँ भन्दा कममा बेच्नै परेन,” विजय भन्नुहुन्छ, “यही छेउको सीतापुर बजारमै खोसाखोस भयो ।” उहाँको घरनजिकै पर्ने सीतापुर स्थानीय सानो बजार हो ।

सात बिघा जमिन हुँदा पनि पहिले उहाँलाई परिवार चलाउन सहज थिएन । एक बाली धान लाग्ने त्यसमाथि सिंचाईको सुविधा थिएन । सिंचाई नहुँदा धान खेतीमा पूर्णतः आकाशे भर थियो । कहिले हुने कहिले नहुने । त्यसैले धेरै लगानी गरेर मल तथा गोडमेल गर्ने जाँगर चल्दैनथ्यो ।

खेती गर्ने तरिका पनि केही थाहा थिएन । त्यसको प्रत्यक्ष असर धानको उत्पादनमा पर्दथ्यो । कहिले पतेरा लाग्ने त कहिले पाला पर्ने । कहिले भुसैभुस हुने त कहिले मुसाले सक्ने ।

तर स्थानीय गढिमाई कृषक सहकारी संस्थामा आबद्ध भई जिल्ला कृषि विकास कार्यालय, महोत्तरीको कार्यक्रमहरूमा सहभागी हुन थालेपछि विभिन्न तालीम/प्रशिक्षणमा सहभागी हुन पाएको र त्यसले आफूलाई खेतीपातीप्रति आकर्षण र ज्ञान दुवै बढाएको विजय बताउनुहुन्छ ।

जिल्ला कृषि विकास कार्यालय, महोत्तरीले साना सिंचाई कार्यक्रम मार्फत समूहलाई बोरिङको व्यवस्था गरिदिएपछि तरकारी खेती गर्न थालेको र त्यसपछि पछाडि फर्कनु नपरेको विजय बताउनुहुन्छ ।

सात बिघा जमिन हुँदा पनि पहिले विजयलाई परिवार चलाउन सहज थिएन । एक बाली धान लाग्ने त्यसमाथि सिंचाईको सुविधा थिएन । सिंचाई नहुँदा धान खेतीमा पूर्णतः आकाशे भर थियो । कहिले हुने कहिले नहुने । त्यसैले धेरै लगानी गरेर मल तथा गोडमेल गर्ने जाँगर चल्दैनथ्यो ।

मलखाद र बिउमा पनि जिल्ला कृषि विकास कार्यालयले सहयोग गर्न थालेपछि आफूहरूलाई थप हौसला जागेको विजयको अनुभव छ । उहाँ कृषि कार्यबाट सबै खर्च कटाएर वर्षको ४–५ लाख बचत हुने बताउनुहुन्छ ।

उहाँको घरमा ४ छोरी, १ छोरा, श्रीमती र आमा हुनुहुन्छ । पाँचै जना छोराछोरीलाई बोर्डिङ स्कूलमा पढाउनु भएको छ । छोराछोरी क्रमशः ८, ७, ६, ४ र १ कक्षामा पढ्छन् । छोराछोरीको पढाइलेखाइ तथा खानपानमा कुनै कमी गर्नु नपरेकोमा आफूलाई निकै खुशी लाग्ने गरेको विजय सुनाउनुहुन्छ ।

खेतीका लागि कहिले मजदूर लगाउने गरेको त कहिले गाउँका दाजुभाइबीच पालोपैंचो गर्ने गरेको उहाँले बताउनुभयो ।

सरकारले उहाँको समूहलाई मोबाइल फोन, रेनगज, थर्मोमिटर लगायतका सामग्री दिएपछि व्यावसायिक कृषिका लागि थप सहयोग मिलेको छ ।

आफूले सक्ने उमेरसम्म अब तरकारी खेती तथा नगदेबालीमै लाग्ने विजयको योजना छ ।

उहाँले दीर्घकालसम्म थप आधुनिक पद्धतिमा खेती गर्न ट्याक्टर लगायतका यन्त्र र उपकरण खरिदको योजना बनाउनुभएको छ ।

फरुवाले अदुवा खनिरहेका वेला भेटिनुभएका विजयले खुशी हुँदै भन्नुभयो, “अर्कोपल्ट तपाईंहरू आउँदा शायद म आफ्नै ट्याक्टरले खेत जोतिरहेको हुनेछु ।”

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved