खिच्च्रिक मिच्च्रिक गल्ली । कतै टेकोले धानेका पुराना घर त कतै नयाँ बनाइएका ठूला घर । बाक्लो बस्ती । धेरैजसो व्यापारीहरूको बसोवास । यो परिचय हो, काठमाडौंको मुख्य व्यापारिक केन्द्र असनको ।
असन भन्ने बित्तिकै यसको अर्को परिचय पनि थपिन्छ, नेवार बस्ती । त्यहाँका रैथाने तुलाधर, शाक्य, बज्रचार्य लगायत हुन् । तर, आजभोलि असनका रैथानेहरू थातथलो छोडेर बाहिर सर्न थालेका छन् । असनमा भएका घरहरू भाडामा दिंदै उनीहरू बाहिर सर्न थालेका हुन् । अहिले असनका रैथाने असनमै बसेको फाट्टफुट्ट मात्र भेट्न पाइन्छ ।
– – –
भोटाहिटीका सजिव बज्रचार्यले भोटाहिटी बस्न छोडेको १० वर्ष भयो । अहिले उहाँको परिवार काठमाडौंको हेपालीमा बस्छ । भोटाहिटीको घर भाडामा दिएर उहाँको परिवार त्यता सरेको हो । उहाँ भोटाहिटीको घरबाट मासिक डेढलाख भाडा उठाउनुहुन्छ ।
“असनको रैथाने किन बाहिर सर्नुभयो ?” भन्ने नेपालमतको प्रश्नमा सजिवले भन्नुभयो, “एक त परिवार ठूलो भयो, त्यसमाथि घर पनि पुरानो भयो अनि अन्तै बसाइ सर्यौं ।” सजिवका तीन दाजुभाइ छन् । एउटै घरमा सबै जना नअट्ने भएपछि अलग–अलग घर किनेर बाहिर बस्न थालेको सजिव बताउनुहुन्छ ।
असनमा बस्न छोडे पनि सजिवको व्यापार–व्यवसाय भने त्यहीं छ । “पहिलेका घर पुराना पनि भए । नयाँ घर अलि खुला ठाउँमा बनाऊँ भन्ने भयो । यसो गर्दागर्दै रैथानेहरू असन बस्नै छोडे । हाम्रो परिवारको हकमा पनि त्यसै भयो,” सजिवले थप्नुभयो ।
असनकै अर्का रैथाने लाभरत्न तुलाधर काठमाडौंको डल्लुमा बस्नुहुन्छ । उहाँ असनको घर छोडेर डल्लुमा बस्न थाल्नुभएको धेरै वर्ष भयो । लाभरत्नका सात दाजुभाइ हुनुहुन्छ । पुरानो घरमा सबै जनालाई ठाउँ नहुने भएपछि सातै जना दाजुभाइ असन बाहिर बसाइ सरेको उहाँ बताउनुहुन्छ ।
उमेरले ८४ वर्ष पुग्नुभएका लाभरत्न रैथानेले असन छोड्नुको मुख्य कारण मान्छे सुविधाभोगी भएकोले हो भन्नुहुन्छ । “जमाना नयाँ आयो । मान्छे सुविधाभोगी भए । बस्नेदेखि लिएर खानेकुरा पनि नयाँ नयाँ खोज्न थाले । त्यसैले यहाँका मान्छे बाहिर सरेका हुन्,” लाभरत्नको कथन छ ।
उहाँको धारणामा रैथानेले असन छोड्नुको पछाडि तीन वटा कारण छन्– पहिलो सुविधा, दोस्रो बाध्यता र तेस्रो पैसा ।
“कतिपयको परिवार ठूलो हुँदै गयो, घर सानो भयो अनि सर्नुपर्ने बाध्यता भयो । कसैलाई यो भीडमा बस्न मन लागेन । अनि; कतिपयलाई चाहिं असनमा व्यापारिक घर बनाएर भाडामा दिने र त्यसलाई आम्दानीको स्रोत बनाएर आफू बाहिर घर बनाएर बस्न मन लाग्यो । यस्तै यस्तै कारणले गर्दा असनमा रैथाने बस्न छोडे,” लाभरत्नले भन्नुभयो ।
उसो त २०७२ सालमा गएको महाभूकम्पले घर भत्किँदा पनि असनका धेरै स्थानीय त्यहाँबाट बाहिर सरे । भत्केका घरलाई जीर्णोद्धार गर्नुभन्दा बाहिर सुविधायुक्त घर बनाएर बस्ने चाहनाले पनि स्थानीयहरूले असन छोडेको कतिपयको बुझाइ छ ।
लाभरत्नलाई पनि असनमा बाक्लो बस्ती र भीडभाड बढेका कारण खुला ठाउँ खोज्दै यहाँका रैथाने बाहिर सरेका हुन् भन्ने लाग्छ ।
असनका रैथाने यहाँबाट धमाधम बाहिर बसाइँ सरिरहेका भए पनि असनका अर्का रैथाने यज्ञरत्न तुलाधर भने यहीं बस्नुहुन्छ । पुरानो घर भूकम्पले भत्केपछि असनमै अर्को घरमा बसिरहेको उहाँ बताउनुहुन्छ ।
“हामी धेरै दाजुभाइ छौं । एकै घरमा सबैलाई ठाउँ भएन । तसर्थ, दाइभाइ कोही ताहाचल, कोही सानोभर्याङ, कोही कतै छरिएर बसे पनि म भने यतै बसेको छु,” यज्ञरत्नले भन्नुभयो ।
यज्ञरत्न असन सेवा समितिको पूर्व अध्यक्ष हुनुहुन्छ । उहाँ समिति मार्फत असनमा भएका क्रियाकलाप र यसको सुधारमा खटिनुहुन्छ । “हाम्रो समितिमा सबै जना बाहिरकै हुनुहुन्छ । यहाँका धेरैजसो रैथाने बाहिर गएर बसे, यसैको लागि पनि म असन छोडेर गइनँ,” यज्ञरत्नले भन्नुभयो ।
आर्थिक लोभले बसाइँ सर्दै
सम्पदा बचाउन लागिपर्नुभएका अभियन्ता अलोकसिद्धि तुलाधर भने पैसाको लोभमा असनका स्थानीयले असन छोडेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यहाँको स्थानीयका बाजे–बराजु तिब्बतको ल्हासा नपुगेका शायदै होलान् । त्यो वेला तिब्बतमा व्यापार गरेका यहाँका स्थानीयसँग धेरै सम्पत्ति छ । तर पनि, अझै सम्पत्तिको लोभले यहाँका रैथाने घर भाडामा दिएर बाहिर सर्दैछन् ।”
उहाँका अनुसार पहिले साना घरहरू रहेको असनमा अहिले धमाधम ठूलठूला भवन बन्न थालेका छन्, जसको असर सम्पदामा परेको छ । असनमा रहेका पुराना घरलाई पुरातत्त्व विभागले सम्पदामा राखेको छ । तर, अहिले पुराना घर भत्काउँदै स्थानीय धमाधम ठूलठूला भवन निर्माण गरिरहेका छन् ।
असन पर्यटकीय दृष्टिले पनि राम्रो ठाउँ मानिन्छ । त्यहाँका घर, मन्दिर हेर्न देशदेखि विदेशसम्मका पर्यटक असन पुग्ने गर्दछन् । तर, पुराना संरचना हराउँदै गएकाले पर्यटकीय महत्त्व घट्दै गइरहेको अभियन्ताहरू बताउँछन् ।
सम्पदामा असन
विश्व प्रसिद्ध लोनली प्लानेटले सार्वजनिक गरेको विश्वका घुम्न लायक १० शहरमध्ये काठमाडौं पाँचौं नम्बरमा पर्छ । यही काठमाडौं शहरको मुटुका रूपमा हेरिन्छ असनलाई । असन पुरानो नेवारी बस्ती हो । आर्थिक, सांस्कृतिक र सामाजिक हिसाबले पनि असनलाई महत्त्वपूर्ण मानिन्छ ।
६ वटा बाटोको मिलन भएको असन चोकमा कमलाछी, भोटाहिटी, महाबौद्ध, इन्द्रचोक, बांगेमुढा र थँहिटीबाट आउने बाटोहरू जोडिन्छन् । देवीदेवताका मन्दिरहरू भएकाले असनलाई धार्मिक रूपमा पवित्र स्थलका रूपमा लिइन्छ ।
धार्मिक तथा पर्यटकीय दृष्टिले पनि महत्त्वपूर्ण असनलाई बचाउने हो भने सबैभन्दा पहिले त्यहाँको सम्पदा जोगाउनुपर्छ भन्छन् सम्पदा बचाउनुपर्छ भनेर लागिपरेका अभियन्ताहरू ।
असनका रैथानेले पुराना घरलाई नमासेर तिनैको जीर्णोद्धार गरे मात्रै पनि असनको सम्पदा जोगाउन सकिने अभियन्ता अलोकसिद्धि तुलाधर बताउनुहुन्छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
नेपाल सरकारले ‘हिमाल, मानव र जलवायु परिवर्तन’ विषयमा आयोजना गर्ने अन्तर्राष्ट्रिय संवादको तयारी सुरु गरेको छ। आगामी जेठ ९ र १० गते काठमाडौँमा सम्बन्धित विषयका...
बारा - मधेशको वन क्षेत्रमा जताततै डढेलो लागेको छ । डढेलोबाट मधेश प्रदेशका स–साना बिरुवा नष्ट हुन थालेका छन् भने पूर्वपश्चिम राजमार्गमा समेत डढेलोका कारण यत्रा...
वन डढेलोसँगै वायु प्रदूषण बढेको छ। डढेलोका कारण काठमाडौँ र पोखरालगायतका देशका मुख्य सहरमा वायु प्रदूषण उच्च मापन गरिएको छ। ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार २६ चैतमा...
काठमाडौं - समाजमा दिनानुदिन वालवालिकाहरुमा अटिजम हुनेको संख्या बढिरहेको छ । अटिजम वालवालिकाको जन्मजात नै एउटा बिशिष्ट अवस्था हो र यो कुनै रोग होइन ।...
मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य स्वच्छताका बारेमा उपभोक्ताले आफूले खानेकुराको स्तर (लेबल) हेर्न अति आवश्यक हुने स्वास्थ्य विज्ञ बताउँछन्। लेबल ख्याल नगरी कतिपय उपभोक्ताले...