‘हाम्रो शासन स्थापित भएपछि नारायण गोपालका ९० प्रतिशत गीत बन्द हुन्छन् ।’
माओवादी अध्यक्ष प्रचण्डको विभिन्न अभिव्यक्तिले अक्सर माथिको भनाइ सम्झना गराउँछ । यो वाक्यांश प्रचण्डको नेतृत्वमा माओवादी युद्धमा होमिएका एक रोल्पाली युवाको हो । उहाँ हो, शंकर घर्तीमगर । आज शंकर कहाँ पुग्नुभयो थाहा छैन तर उहाँले डेढ दशकअघि भनेको यो कुरा दिमागबाट हराएको छैन ।
शान्ति प्रक्रियामा आउँदा माओवादी लडाकु तथा कार्यकर्तामा जोश जाँगर कायम थियो । तर त्यसपछिका दिनमा उनीहरूको विश्वास नारायण गोपालका गीतझैं बिरहमा बदलिएका छन् ।
“म शंकर जीएम ।”
रोल्पा जिल्ला विकास समितिको भवनमा शंकर जीएम अर्थात् शंकर घर्तीमगरले मसँग हात मिलाउँदै भन्नुभएको थियो । उहाँका तिनै हातले सशस्त्र द्वन्द्वको दौरान बन्दुक बोकेका थिए । सुन्दर जीवनको परिकल्पनामा ट्रिगर दबाएका थिए । उहाँको बन्दुकबाट निस्केको गोली क–कसको जीवनमा ठोक्किए । ती गोलीले कति घाइते भए, कतिको चोला नै उड्यो भन्ने हेक्का शंकरसँग पनि नहोला । यथार्थ यत्ति हो कि, युद्धमा रगत बगिरहँदा शंकरका सपनाहरू फुलिरहेका थिए ।
वि.सं. २०६३ को शुरूवाती दिन । दोस्रो जनआन्दोलनको सफलतासँगै माओवादी लडाकु र सुरक्षा फौजका हातमा भएका बन्दुकले आराम पाएका थिए । यस्तो पृष्ठभूमिमा रोल्पाको लिवाङ बजारमा हुनुहुन्थ्यो शंकर । जसको लागि क्रान्तिको बाटो फेरिएको थियो तर टुंगिएको थिएन ।
त्यसपछिका कैयौं हिउँद रोल्पाका डाँडाकाँडामा शीतले ढाकिए । माडी खोलामा बर्खाको धमिलो पानी धेरै बग्यो । लिवाङ बजारका ढुंगामाटोका घर सिमेन्टेड अग्ला विल्डिङमा परिणत भए । रोल्पाको गाउँ–गाउँमा मोटर बाटो पुगेको छ । देश परिवर्तन गर्छौं भन्ने माओवादी नेताको जीवनशैली र लवाइ–खवाइ बदलिएको छ । तर, शंकरले सपना देखेअनुरूप रोल्पा वा देश भने बदलिएको छैन ।
यसरी एक लडाकुको सपनामाथि तुषारापात भएको परिदृश्य सम्झेर शंकरका बारे मनमा अनेकन् प्रश्न खेल्छन् । यतिखेर कता हुनुहोला शंकर ? उहाँ त्यसपछि लडाकु शिविरमा बस्न जानुभयो कि भएन ? कतै सेना समायोजनमा छानिएर नेपाली सेना पो हुनुभएको छ कि ? वा कैयौं लडाकुझैं उदासी र पीडा बोकेर क्यान्टोनमेन्टबाट घर फर्किनुभएको छ कि ? क्रान्तिलाई एउटा सुन्दर छल मान्दै खाडीमा पसिना चुहाउन पुग्नुभएको छ कि ? क्रान्ति अपुरै छ भनेर अझै बन्दुक बोक्ने सोचमा पो हुनुहुन्छ कि ? क्रान्तिका दिन चटक्कै बिर्सेर पैसाको पछि पो दौडिरहनुभएको छ कि ? माओवादी युद्ध टुंगिदै गर्दा एक घण्टा जति गफिएका शंकर कहाँ पो हुनुहोला ?
कुराकानीको शुरूमा शंकरले क्रान्ति र सर्वहाराको हितबारे प्रवचन दिनुभएको थियो । मलाई त्यो वेला उहाँको प्रवचन बेजोड नै लाग्यो । त्यसपछि मैले आफूलाई लागेका कुराहरू सोधें । के–के सोधें, उहाँले बोलेका कुरा कति टिपें भन्ने प्रमाण अब छैन । तर एउटा प्रश्न तत्कालीन शाही नेपाली सेना (हाल नेपाली सेना) को व्यवस्थापनसँग सम्बन्धित थियो ।
उहाँले सेनालाई तह लगाउँदै विकास गर्ने योजना सुनाउनुभयो, “शाही सेनालाई बोकालाई जस्तो खोरमा थुनेर राख्नु हुँदैन । विकासको काममा गोरुलाई जस्तो जोत्नुपर्छ ।”
तिनै माओवादी लडाकु केही नेपाली सेनामा समायोजन भए । नारायण गोपालका गीतहरू आज पनि गुञ्जिन्छन् । आखिर लडाइँ नजितेपछि, जसको विरुद्ध लडेको हो उहीजस्तो हुन बाध्य भइँदोरहेछ । जसको विरोध गरे, आज त्यस्तै भएका छन् माओवादी नेताहरू । यस्तो उदासीमा पूर्व लडाकुहरूलाई पनि नारायण गोपालकै गीत उत्तम ओखती होला ।
उहाँको योजनामा मेरो मस्तिष्कले प्रतिप्रश्न गर्न सकेन । यो मान्छे त कडा रहेछ भन्ने लाग्यो । अनि कता–कता डर पनि लाग्यो । त्यो वेला (अहिले पनि उही नै छ) एक लाखको हाराहारीमा सेना थियो । शंकरको तर्क राजाजस्तो सामन्तको हितमा लड्ने सेना आवश्यक छैन । त्यसकारण सेनालाई बोकालाई जस्तो खोरमा घाँस र दाना खुवाउँदै राख्नुहुन्न भन्ने थियो । माओवादीले युद्धकालमै सडक खनेकोले सेनालाई पनि सडक खन्न लगाउनुपर्छ भन्नुहुन्थ्यो उहाँ । सेनासँग आक्रोश पोख्ने शंकरको लागि त्यो वेलाको युद्धविराम क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने एक रणनीति मात्र थियो ।
माओवादीले भनेझैं सत्ता स्थापित भयो भने कस्ता गीतहरू बज्लान् भन्ने खुल्दुली भयो । मैले माओवादीले जनवादी गीत मात्र सुन्छन्/गाउँछन् भन्ने सुनेको थिएँ । मलाई रुचि भएको पप/आधुनिक गीतमा उनीहरूको रुचि थिएन । माओवादी लडाकुलाई मायाप्रीतिको गीतमा लगाव थिएन ।
यही प्रसंग जोडेर एउटा प्रश्न सोधें, “तपाईंहरूको शासनकालमा नारायण गोपालको गीत बज्छन् कि बज्दैनन् ?”
“९० प्रतिशत बन्द हुन्छन,” शंकरले अझ जोड दिंदै भन्नुभयो, “हाम्रो शासन स्थापित भएपछि नारायण गोपालका ९० प्रतिशत गीत बन्द हुन्छन् ।”
अहिले यो कुरा सुन्दा जो कसैलाई ठट्टा लाग्ला । मलाई पनि ठट्टा नै लाग्छ । तत्काल भने कताकता डर लागेको थियो । अनि पीर पनि– नारायण गोपालको मीठो गीत सुन्न पाइएन भने के होला भनेर ? मैले सबैभन्दा धेरै गीत नै नारायण गोपालको सुनेको छु । त्यसैले झट्ट नारायण गोपाललाई सम्झेको हुनसक्छु ।
मैले फेरि प्रश्न गरें, “दश प्रतिशतमा नारायण गोपालका कुन–कुन गीत पर्छन् ?”
“दश प्रतिशत पनि नपर्न सक्छन्,” उहाँले त अझ घटाउँदै बोल्नुभयो, “तर हामी छानबिन गर्छौं र सर्वहाराको हितमा भएकालाई बज्न दिन्छौं ।”
त्यसपछिका दिनमा शंकर जस्ता अरू कैयौंका सपनाहरू नराम्ररी तुहिएका छन् । पूर्व लडाकुहरू जीवन बदल्नको लागि विदेशी भूमिमा पुगे/फर्किए । उनीहरूको जीवन भने खासै बदलिएन । युद्धकालमा जुन संसदीय व्यवस्थाको विरोध गरेको थियो माओवादी, अहिले त्यसैमा अभ्यस्त भएको छ ।
तिनै माओवादी लडाकु केही नेपाली सेनामा समायोजन भए । नारायण गोपालका गीतहरू आज पनि गुञ्जिन्छन् । आखिर लडाइँ नजितेपछि, जसको विरुद्ध लडेको हो उहीजस्तो हुन बाध्य भइँदोरहेछ । जसको विरोध गरे, आज त्यस्तै भएका छन् माओवादी नेताहरू । यस्तो उदासीमा पूर्व लडाकुहरूलाई पनि नारायण गोपालकै गीत उत्तम ओखती होला । उदासीले भरिएका गीतले नै मन छुन्छ । सेलीले भनेझैं हाम्रा मीठा गीत ती हुन्, जसले हाम्रा उदासीका कथा भन्छन् ।
मान्छेले युद्ध चाहोस् वा नचाहोस्, भनिन्छ कि युद्धले मान्छेलाई प्रभाव पारेरै छोड्छ । त्यो प्रभावले मानिसको जीवन खुशी पनि हुनसक्छ अनि दुःखी पनि । सिंगो देश बदल्न शंकर जस्ता धेरै युवा र किशोरहरू युद्धमा सहभागी भए । आज ती लडाकुहरू पाखा लाग्दै गएका छन् । यस्तो वेला माओवादी अध्यक्ष प्रचण्ड निकै निराश र हताश देखिनुहुन्छ । तर, क्रान्ति र आन्दोलनको कुरा गर्न छोड्नुभएको छैन ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
नेपाली कांग्रेस जनतालाई अधिकार सम्पन्न बनाउने आधुनिक इतिहासका सबै प्रमुख राजनीतिक आन्दोलन र रुपान्तरणको नेतृत्व गरेको मुलुकको प्रमुख दल हो । बीपी कोइराला, सुवर्ण शमशेर,...
१९ माघ २०६१ । रेडियोहरूका लागि समाचार र कार्यक्रम उत्पादन गर्ने संस्था ‘कम्युनिकेशन कर्नर’मा काम गर्थें । मेरो ‘डिउटी’ दिउसो दुईदेखि राति दश बजेसम्मको ‘इभिनिङ सिफ्ट’मा...
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको उपलब्धिका सारसङ्ग्रह प्रस्तुत गर्दै आगामी दिनमा कार्यशैली परिवर्तनसहित जनतामा आशा जगाउने र परिणाम दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री...
नेपालका एफएम रेडियोहरु कानुनी जंजालमा जेरी झैं जेलिएका छन् । ऐन नियमहरुको जालोमा छन् रेडियोहरु । स्थायी सरकार मानिने कर्मचारीतन्त्रको परम्परागत सोँचका कारण यस्तो अवस्था...
अबको पाँचदिनपछि हामीले महासंघको नेतृत्व सम्हालेको ६ महिना पुरा हुँदैछ । मैले महासंघको अध्यक्षता गरिरहँदा मुलुकमा आर्थिक संकट प्रष्ट रुपमा देखिइसकेको थियो । सम्माननीय प्रधानमन्त्रीज्यू, यो...