• बिहीबार, १३ बैशाख, २०८१
  • १९:५२:१०
  • नेपालीको अभिमत

जनप्रतिनिधि

जनतामाझ गरेका धेरै बाचा पूरा गरेका छौं : उपमेयर ओझा

इन्द्रसरा खड्का

बिहीबार, १८ कार्तिक, २०७८

केही सयम अघिदेखि नेपालमतले स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग छलफल शुरू गरेको छ । आफ्नो कार्यकालको अन्तिम वर्ष बिताइरहेका स्थानीय सरकारहरूको बितेका चार वर्ष कस्ता रहे ? जनचाहना अनुसार काम हुन सके/सकेनन् ? प्रतिबद्धताअनुसार काम भए/भएनन् ? खास समस्या र चुनौती कस्ता रहे ? पहिलो अधिकार सम्पन्न स्थानीय तहको अनुभव जनप्रतिनिधिले कसरी गरे ? लगायतका सवालमा केन्द्रित रही यो बहस चलाइएको हो ।

यसै सन्दर्भमा आजको छलफलमा हुनुहुन्छ बैतडी जिल्लाको मेलौली नगरपालिकाकी उपमेयर राधा ओझा । प्रस्तुत छ, उहाँसँग हाम्रा साथी इन्द्रसरा खड्काले यिनै सेरोफेरोमा रहेर गरेको कुराकानीको मुख्य अंश–

आजभोलि केमा व्यस्त हुनुहुन्छ ?

पालिकाकै काममा व्यस्त छौं । आर्थिक वर्ष २०७८/७९ को लागि जुन बजेट निर्माण गरेका थियौं । त्यसको उपभोक्ता समितिमार्फत गर्नुपर्ने ठेकापट्टालाई अघि बढाउने काम गरिरहेका छौं ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबार बाहेकका कामकाजहरू गरिरहेका छौं । हाम्रो पालिकामा प्रमुख प्रशासकीय अधिकृत आउने, तीन/चार महिना बस्ने फेरि जाने भइरहेको कारण भुक्तानीको लागि समस्या हुँदै आएको छ । केही बहुवर्षीय योजनाहरू पनि यसैको कारण प्रभावित भइरहेका छन् ।

विकास भनेर भौतिक पूर्वाधारलाई मात्र मान्ने गरिएको छ । अब ‘जनविकास’ कहिले हुने भन्ने कुरा सोच्नुपर्ने वेला भएको छ । यी र यस्तै कुरा परिवर्तन गर्न, सोच परिर्वतन गर्न सकिएन जस्तो लाग्छ ।

पालिकामा के–के काम गर्नुभयो ?

धेरै काम गरेका छौं । हामी निर्वाचित भएर आएपछि स्थानीय तहको स्वरुप नै फेरिएको छ । हाम्रो पालिकामा ९ वटा वडा छन् । ९ वटै वडालाई सडक सञ्जालमा जोडेका छौं । विद्यालय भवन बनाउने, नगरपालिकाको भवन बनाउनेदेखि लिएर शिक्षा तथा स्वास्थ्यलाई जोडेर काम गरेका छौं । पर्यटक आकर्षित गर्नका लागि मन्दिर बनाएका छौं । बैंक स्थापना गरेका छौं । विद्युतको क्षेत्रमा पनि काम गरेका छौं । मलाई लाग्छ; अहिले धेरै पालिकामा यस्तो विकास भएको हुनुपर्छ ।

एक–एक काम भनिदिनुहोस् न ?

सबैभन्दा पहिले त पालिकाको आफ्नै भवन थिएन । हामीले आफ्नै भवन निर्माण गर्ने निर्णय गर्‍यौं । अहिले काम अन्तिम चरणमा पुगेको छ । वडा कार्यालयहरूको पनि आफ्नो भवन छैन । यसको लागि तीनवटा वडामा ठेक्का गरिसकेका छौं भने तीनवटा वडामा जग्गाको विवाद हुँदा काम अघि बढ्न सकेको छैन ।

हरेक पालिकाका प्रत्येक वडामा स्वास्थ्य सेवा पुर्याउने भन्ने सरकारकाे नीति अनुसार चारवटा वडामा भवन निर्माणकाे काम भइरहेकाे छ ।

सडकको कुरा त मैले अघि नै भनिहालें, सबै वडामा सडक पुगिसकेको छ ।

शिक्षाको कुरा गर्दा; मणिलेक क्याम्पसलाई आंगिक क्याम्पस बनाउन सफल भएका छौं । मणिलेक बहुमुखी क्याम्पस सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत गइसकेपछि स्थानीय तहबाट लगानी नगर्ने भनिएता पनि हाम्रा बालबालिकाका लागि लगानी होस् भनी हामीले सहयोग गरेका छौं ।

त्यस्तै; खेलकुदको क्षेत्रमा पनि खेलकुद मैदान बनाएका छौं । दुईवटा झोलुंगे पुल बनाएका छौं ।

खानेपानीको कुरा गुर्नपर्दा; RVWRMP संस्थासँगको सहकार्यमा पालिकाको ४ र ७ नम्बरमा एक घर, एक धाराको कार्यक्रम ल्याएका छौं । जसमा उक्त संस्थाको १५ प्रतिशत र पालिकाको ८५ प्रतिशत लगानी छ । यसरी वडा नम्बर ४ मा १ सय ६० घरधुरी र वडा नम्बर ७ मा १ सय ७० घरधुरीलाई खानेपानी पुगेको छ । यस्तै; सिंचाइको लागि पोखरी, कुलो बनाएका छौं ।

विद्युतको कुरा गर्दा; सुर्नया जलविद्युत आयोजनालाई शुरूमा ८५ लाख बजेट छुट्याएका थियौं । यसबाट करिब चार सय घर–परिवारले लाभ लिएका छन् । सलेनामा रहेको अर्को जलविद्युत आयोजनालाई पहिलो वर्षमा दुई लाख र अर्को वर्षमा १० लाख बजेट छुट्यायौं । यसमा प्रदेश सरकारले पनि सहयोग गरेको छ । अहिले यो हामीले बनाइरहेका छौं । २३ लाखको अर्को जलविद्युतको काम पनि भइरहेको छ ।

महिला, दलितहरूको सवालमा के–के गर्नुभयो ?

सबैभन्दा पहिले महिलाको कुरा गरौं; हामीले पालिकाभित्र रहेका एकल, आर्थिक अवस्था न्यून भएका महिलाहरूका लागि सीपमूलक तालिम सञ्चालन गरेका थियौं । कतिपयले त्यही तालिमबाट सिकेर आफ्नै व्यवसाय शुरू गर्नुभएको छ । त्यस्तै; दलितको कुरा गर्दा १३ सय दलित परिवारका घरधुरीको ४८ वटा समूह बनाएर बाख्रा वितरण, भैंसी वितरणका कार्यक्रम गरेका छौं ।

गर्न बाँकी काम के रहे त ?

हामीले सडकलाई प्राथमिकतामा राखेका छौं । खानेपानीको समस्या थियो यसको पनि सकेसम्म समाधान गर्ने प्रयास गरेका छौं । विद्युतको समस्या थियो, यसको लागि पनि काम भइरहेको छ । बैंकका लागि जिल्ला सदरमुकाम गोठालापानी जानुपर्ने बाध्यता थियो, अहिले यो समस्या हटेको छ । क्याम्पसलाई आंगिक बनाउँछौं भनेका थियौं त्यो पूरा भएको छ ।

हामीले हाम्रो घोषणा पत्रमा यिनै कुरा समावेश गरेका थियौं । त्यही अनुसार काम गरेका छौं । मलाई लाग्छ, हामीले बाचा गरे अनुरूप ९० प्रतिशत कामको शुरूवात गरिसकेका छौं, बाँकी काम पनि यही कार्यकालभित्र शुरू गर्नेछौं ।

भनेपछि सबै काम पूरा भए ?

हो, धेरैजसो भए । यद्यपि, मैले सोचेको के थियो भने– जनप्रतिनिधि आइसकेपछि महिलालाई हेर्ने दृष्टिकोण, दलित तथा अपांगता भएका व्यक्तिलाई गरिने व्यवहार फेरिन्छ । तर, यो समस्या अहिले पनि उस्तै छ ।

पहिले गाविस हुँदा महिला तथा बालबालिकाका क्षेत्रमा प्रतिशतका हिसाबले बजेट आउँथ्यो, अहिले त्यस्तो छैन । तर पनि जो टाठा–बाठा छन्, अगाडि गएर बोल्नसक्ने छन्, त्यस्ता व्यक्तिले मात्र योजना पाउने प्रवृत्ति अहिले पनि छ ।  जुन बजेट जुन ठाउँमा लगानी गर्नुपर्ने हो, जुन क्षेत्रमा लगानी गर्नुपर्ने हो, त्यहाँ नभई अर्कै ठाउँमा खर्च भइरहेको छ । यो मैले बुझेकी छु ।

विकास भनेर भौतिक पूर्वाधारलाई मात्र मान्ने गरिएको छ । अब ‘जनविकास’ कहिले हुने भन्ने कुरा सोच्नुपर्ने वेला भएको छ । यी र यस्तै कुरा परिवर्तन गर्न, सोच परिर्वतन गर्न सकिएन जस्तो लाग्छ ।

तपाईं न्यायिक समितिको संयोजक पनि हो । महिलाका कस्ता–कस्ता मुद्दा आए त अहिलेसम्म ?

हाम्रो पालिकामा महिलाको त्यस्ता खासै उजुरी आएका छैनन् । हामीकहाँ आउने भनेको मेलमिलाप गर्नसक्ने खालका मुद्दाहरू मात्र हुन् ।

रक्सी खाएर श्रीमान्‌ले कुटपिट गरेका, पारिवारिक कलह आदि घटना फाट्टफुट्ट आउने गरेका छन् । बढीजसो आउने भनेको जग्गा, साँध–सीमानाको विवाद हो । ४ वर्षको दौरानमा लगभग ८६ मुद्दा आएका छन् । जुन हामीले मेलमिलाप गराएर पठाएका छौं ।

महिला हिंसाको अर्को स्वरुप भनेको छाउपडी प्रथा पनि हो । तपाईंको पालिकामा यसको अवस्था कस्तो छ नि ?

छुवाछुत अझै पनि छ तर पहिले भन्दा कम छ । अहिले महिनावारी भएका महिला शौचालय प्रयोग गर्छन्, दुध–दही खान्छन् । घरभित्रै बस्छन् । यसो भनिरहँदा यो समस्या छैन भन्न खोजेको होइन । अझै सुधार गर्नुपर्ने कुरा धेरै बाँकी छन् । यद्यपि, पहिले र अहिलेको तुलनामा धेरै परिवर्तन भएको छ ।

राजनीति गर्न महिलाहरूलाई निकै चुनौती छ । कुनै योजना बनाउँदा महिलालाई नसोध्ने, कुनै कार्यक्रममा जाँदा अँध्यारो भयो, रात पर्‍यो भने विभिन्न किसिमका आरोप लगाउने प्रवृत्ति अझै छ । त्यसैले मेरो यो कार्यकाल चुनौती र खुशी दुवैमा बित्यो ।

यसलाई शून्यमा झार्नको लागि के गर्नुपर्ला ?

महिनावारी भएको महिलाले छुँदा गाईभैंसी बिग्रने, देउता रिसाउने कुरा झुट हो भनेर अझै धेरैले बुझेका छैनन् । उहाँहरूलाई सिकाउनुपर्छ, बुझाउनुपर्छ । समाजसेवी, बुद्धिजीवी वर्गलाई अझ बढी सचेत गराउनुपर्छ । यसको लागि जनचेतनामूलक कार्यक्रम गर्न आवश्यक छ । र, हामीले गरिरहेका पनि छौं ।

स्थानीय सरकारको कार्यकाल अब चाँडै सकिँदैछ । समग्रमा सुनाउनुपर्दा, ५ वर्षे कार्यकालको अनुभव कसरी सुनाउनुहुन्छ ?

जनप्रतिनिधिका रूपमा चुनिएर आएपछि मैले ‘म जनताको सेवक हो । मैले अब उहाँहरूको लागि काम गर्नुपर्छ’ भन्ने हिसाबले सोचेर काम शुरू गरेकी हुँ । कर्मचारी–जनप्रतिनिधि मिलेर काम गरिरहेका छौं । राजनीति गर्दै जाँदा महिलाहरूलाई निकै चुनौती छ । कुनै योजना बनाउँदा महिलालाई नसोध्ने, कुनै कार्यक्रममा जाँदा अँध्यारो भयो, रात पर्‍यो भने विभिन्न किसिमका आरोप लगाउने प्रवृत्ति अझै छ । त्यसैले मेरो यो कार्यकाल चुनौती र खुशी दुवैमा बित्यो ।

मेयर, कर्मचारीबाट केही त्यस्तो समस्या भयो ?

म अत्याचार सहेर बस्दिनँ । नराम्रो कुरा छ भने प्रतिकार गरिहाल्छु । कतिपय ठाउँका महिला उपाध्यक्ष/उपमेयरका दुःख मैले सुनेकी छु । तर, मलाई भने त्यस्तो कुनै समस्या भएन ।

अबको योजना के छ ?

उपमेयर भएर काम गर्दा धेरै कुरा बुझ्ने मौका पाएँ । अहिले शुरू गरेका कतिपय काम निर्माण हुन धेरै समय लाग्ने खालका पनि छन् । यिनै कामलाई निरन्तरता दिनको लागि अहिलेसम्म सिकेको अनुभवलाई फेरि जनतामाझ लिएर जाने इच्छा छ । अबको चुनावमा म मेयरको दाबेदार हो । यद्यपि, यसमा मेरो मात्र चाहना भन्दा पनि अरू धेरै कुराले प्रभाव पार्छन् । पार्टीले के भन्छ, जनताले के भन्छन्, त्यही अनुसार अघि बढ्छु ।

इन्द्रसरा खड्का

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

बिहीबार, १८ कार्तिक, २०७८

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved