• शनिबार, ८ बैशाख, २०८१
  • ०७:३६:५०
  • नेपालीको अभिमत

जनप्रतिनिधि

जनप्रतिनिधि र बुद्धिजीवीकै अबराेधले मेल्लेखलाई मदिरा निषेधित बनाउन सकेनौं - अध्यक्ष लोकबहादुर बोहोरा

इन्द्रसरा खड्का

सोमबार, ८ कार्तिक, २०७८

केही समय अघिदेखि नेपालमतले स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग छलफल शुरू गरेको छ । आफ्नो कार्यकालको अन्तिम वर्ष बिताइरहेका स्थानीय सरकारहरूको बितेका चार वर्ष कस्ता रहे ? जनचाहना अनुसार काम हुन सके/सकेनन् ? प्रतिबद्धताअनुसार काम भए/भएनन् ? खास समस्या र चुनौती कस्ता रहे ? पहिलो अधिकार सम्पन्न स्थानीय तहको अनुभव जनप्रतिनिधिले कसरी गरे ? लगायतका सवालमा केन्द्रित रही यो बहस चलाइएको हो ।

यसै सन्दर्भमा आजको छलफलमा हुनुहुन्छ अछामको मेल्लेख गाउँपालिकाका अध्यक्ष लोकबहादुर बोहोरा । प्रस्तुत छ, उहाँसँग हाम्रा साथी इन्द्रसरा खड्काले यिनै सेरोफेरोमा रहेर गरेको कुराकानीको मुख्य अंश–

अध्यक्षज्यू, आजकल केमा व्यस्त हुनुहुन्छ ?

पछिल्लो सरकार बनिसकेपछि हाम्रो पालिकामा केही योजना समावेश गर्न सकिन्छ कि भनेर म अहिले काठमाडौं आइपुगेको छु । केही समय अगाडि मात्रै मेल्लेख गाउँपालिकामा विद्युतीकरणको लागि यहाँबाट १ सय पोल पठाएको छु । हाम्रो बजेटले नभ्याउने भएकोले केन्द्र र प्रदेश सरकारसँग सहयोग मागेर सामान लिएको छु । यस्तै–यस्तै काममा व्यस्त छु ।

जनप्रतिनिधिको रूपमा काम गर्दा कस्तो लाग्यो ?

नेपाल संघीयतामा गएको र यसअन्तर्गत बनेको स्थानीय तहको पहिलो अध्यक्ष भएर काम गर्न पाउँदा ठूलो अवसर प्राप्त भएको अनुभव गरेको छु । यद्यपि; पहिलो भएकोले विधि, नियम, कानून लगायतका थिति बसाल्नुपर्ने चुनौती पनि उत्तिकै रहे । यी नै चुनौतीलाई सामना गर्दै आफ्ना क्रियाकलाप र योजनाहरू कार्यान्वयन गर्ने चरणमा अघि बढिरहेका छौं । अहिले शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा काम गरिरहेका छौं ।

अध्यक्ष भइसकेपछि के–के काम गर्नुभयो त ?

हामीले विभिन्न क्षेत्रमा काम गरेका छौं । सबैभन्दा पहिले शिक्षाको क्षेत्रमा गरेका कामबारे कुरा गरौं । हाम्रो पालिकाभित्र रहेका शिक्षाका भौतिक संरचना अत्यन्तै जीर्ण अवस्थामा थिए । विद्यार्थीलाई ओत लाग्ने ठाउँ थिएन । हामीले संघीय, प्रदेश र स्थानीय सरकारको संयुक्त पहलमा ४३ वटा विद्यालय रहेको पालिकामा झण्डै ५१ वटा चारकोठे पक्की भवन निर्माण गरेका छौं । आईएससीएजी पढ्नको लागि हजारौं खर्च गरेर नेपालका अन्य शहरहरूमा धाउनुपर्ने बाध्यता हाम्रो पालिकाका भाइबहिनीलाई थियो । त्यसको समाधानका लागि वडा नम्बर ७ को चौखुट्टेमा रहेको दुर्गा माविमा आईएससीएजी पढाइ शुरू भएको छ । वडा नम्बर ६ मा रहेको नन्देश्वरी माविमा तीन वर्षे सिभिल इन्जिनियरिङ कक्षा पनि शुरू गरेका छौं । संघीय सरकारमार्फत अहिलेसम्म शिक्षकको कोटा पूर्ति  हुन नसकेका ठाउँमा शिक्षाको गुणस्तर वृद्धिका लागि पालिकाले ६३ जना शिक्षक राखेको छ । हाम्रो पालिकाको वडा नम्बर १, २ र ३ भौगोलिक रूपमा अलि विकट मानिन्छ । त्यहाँका विद्यार्थीले प्लस टु पढ्न बाजुराको छतारामा जानुपर्ने समस्या छ । उनीहरूको समस्यालाई मध्यनजर गर्दै यही वर्षदेखि चण्डिकामा कक्षा ११ र १२ को पढाइ शुरू गर्ने गरी शिक्षकको व्यवस्था गरिएको छ । यो वर्षदेखि मेल्लेख गाउँपालिकामा अभिभावकविहीन बालबालिकाका लागि पालिकाले नै पढाइको जिम्मा लिने व्यवस्था गरेको छ । र, यसको लागि बजेट पनि विनियोजन गरिसकिएको छ ।

मैले चुनावमा हरेक जनताको घरदैलोमा पुगेर मत माग्दै गर्दा पहिलो कुरा रक्सी निषेधित पालिका घोषणा गर्नेछु भन्ने बाचा गरेको थिएँ तर सकिनँ । वडा नं. १, २, ३ र ६ लाई रक्सी निषेधित वडा घोषणा गरेर सिंगो पालिकालाई नै यस अन्तर्गत अघि बढाउन प्रयास गरेका थियौं । तर, पालिकाभित्रका केही जनप्रतिनिधि, बुद्धिजीवी लगायतको अवरोध/असहयोगका कारण यो काम गर्न सकेनौं । यो मैले अति नै चाहेर पनि गर्न नसकेको काम हो ।

अब कुरा गरौं स्वास्थ्यको । कोभिड–१९ को महामारीका वेला हामीले एमबीबीएस डाक्टरको लागि दुईपटक दर्खास्त आह्वान गर्‍यौं । तर, पालिकामा आएर सेवा दिने डाक्टर भेटेनौं । यसकारण हामीले यो वर्षदेखि एमबीबीएस डाक्टर पढ्न आफैं सहयोग गर्ने निर्णय गरेका छौं । यसको लागि पालिकाले ५० प्रतिशित खर्च बेहोर्ने गरेर छात्रवृत्ति दिने निर्णय गरेको छ ।

महिला, दलितहरूलाई शिक्षामा अगाडि बढाउनको लागि, जो आर्थिक समस्याका कारण पढ्न सक्ने अवस्थामा छैनन्, त्यस्तालाई उच्च शिक्षा हासिल गर्न सहयोग पुर्‍याउने उद्देश्यले छात्रवृत्तिको व्यवस्था गरेका छौं । यसको लागि कार्यविधि बनाउने तयारीमा छौं ।  वडा नम्बर २ मा रहेको ऋषिदहमा स्वास्थ्यसेवा विस्तार गरेका छौं । यसको लागि भौतिक संरचना पनि निर्माण भइसकेको छ । वडा नम्बर ३ मा वर्थिङ सेन्टर निर्माण भएर सञ्चालनमा आइसकेको छ । वडा नम्बर ४ को चौखुट्टेमा संघीय सरकारमार्फत गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माणको अवधारणा ल्याइएको छ । पहिले नै टेण्डर आह्वान गरिसकिएको थियो, अहिले भौतिक संरचना निर्माण भएर सेवा शुरू भइसकेको छ । एकजना एमबीबीएस डाक्टर र दुईजना स्टाफ नर्सबाट सेवा शुरू भइसकेको छ । यतिले पर्याप्त छैन, अरू स्वास्थ्यकर्मीको लागि पनि प्रयास गरिरहेका छौं ।

अब कृषितर्फ लागौं । हामीले कृषि र पशुपालनमा फरक ढंगले जानुपर्छ भन्ने सोचसहित योजना बनाएका छौं । नमूना कृषि फर्म भनेर वडा नम्बर ७ मा रहेको सुयडीमा किबी खेती रोपेका छौं ।

पशुपालनको सन्दर्भमा १, २ र ६ नम्बर वडालाई भैंसी पालन भनेर संघ, प्रदेश र स्थानीय सरकारबाट झण्डै एक करोडभन्दा बढी लगानी गरेका थियौं तर यसको उपलब्धि के–कति भयो भन्ने बारे समीक्षा गर्न बाँकी छ ।

बाख्रा पालनको सन्दर्भमा वडा नम्बर ६ र ७ लाई झण्डै ५० लाख बराबरको गत वर्ष मात्र प्रदेश सरकारले सहयोग गरेको थियो । यो समूहमार्फत अघि बढिरहेको छ । यसको पनि समीक्षा गर्न बाँकी छ । हामी हाम्रै कार्यकालमा यसको समीक्षा गर्नेछौं ।

यस्तै; ‘जनताको चुलो खाद्यान्न सहुलियत कार्यक्रम’ सञ्चालन गरेका छौं । यसको उद्देश्य भनेको धनगढीबाट मेल्लेख गाउँपालिकाका हरेक वडामा नुन, चामल, चिनी र तेल सहुलियत ढंगले पाइयोस् भनेर यो कार्य शुरू गर्‍यौं । यसको ढुवानी भाडा पालिकाले बेहोरेको छ । यसो हुँदा धनगढीमा जुन मूल्यमा सामान पाइन्छ त्यही दरमा पालिकाका नागरिकले पनि सामान पाउँछन् । तर यतिले मात्र पर्याप्त छैन ।

हामीले लकडाउनको वेला हाम्रो पालिकाका जनतालाई खाद्यान्न पर्याप्त रूपमा उपलब्ध गराउनुपर्छ भन्ने उद्देश्यले १८ सय ८६ क्वीन्टल चामल धनगढीबाट ल्याएर वितरण गरेका थियौं । धनगढीबाट यति चामलको ढुवानी भाडा मात्र १ वर्षमा करोडौं रुपैयाँ जनतालाई फाइदा हुँदो रहेछ । काठमाडौंमा एक केजी नुनको २० रुपैयाँ पर्छ भने मेल्लेख गाउँपालिकामा १२ देखि १५ रुपैयाँमा नुन पाइन्छ । डिपोमा प्रतिकेजी ९ रुपैयाँमा ल्याउँछौं भने वडामा १५ रुपैयाँमा पाइन्छ । यद्यपि, यो प्याकेजले मात्र पर्याप्त छैन । यसका लागि अझ नयाँ प्याकेज ल्याउने तयारी गरिरहेका छौं ।

अर्को कुरा; पालिकाको वडा नम्बर ३ मा रहेको रिठागाउँका बाढीपहिरो पीडितहरूका लागि पालिकाले १७ वटा दुई कोठे पक्की घर निर्माण गरी ‘तिहारको उपहार, बाढीपीडितलाई घरबार’ भन्दै हस्तान्तरण गर्ने तयारी गरेको छ ।

पहिले साँफेबगर नगरपालिका र मेल्लेख गाउँपालिकाको सिमानामा रहेको गाज्रीगाउँसम्म मात्र विद्युतको राष्ट्रिय लाइन पुगेको थियो । हामी निर्वाचित भइसकेपछि वडा नम्बर ५, ६, ७ र ८ मा राष्ट्रिय लाइन पुर्‍याएका छौं भने वडा नम्बर ३ र ४ मा विस्तारको अन्तिम चरणमा छौं । कार्यकालभित्र सम्भव भएसम्म सबै वडामा पुर्‍याइसक्ने गरी काम गरिरहेका छौं ।

अब कुरा गरौं सडकको । वर्षाको वेला त सडक सञ्चालनमा आउँदैनन् र तत्काल यो सम्भव पनि छैन । तर हिउँद याममा सबै वडाको वडा कार्यालयसम्म यातायातका साधन पुग्न थालेका छन् । सडक खनेर मात्र हुँदैन यसको गुणस्तर वृद्धि पनि गर्नुपर्छ भन्ने उद्देश्यका साथ मेल्लेख गाउँपालिका र संघीय सरकारको २४ करोड बराबरको बजेटमा हाम्रो पालिकाको सिमानादेखि प्रशासनिक भवनसम्म कालोपत्रे गर्ने काम पनि तिहारपछि शुरू हुँदैछ । त्यस्तै, पालिकाले आफ्नै भवनबाट सेवा दिन पनि शुरू गरिसकेको छ ।

हाम्रो पालिकाभित्र रहेका शिक्षाका भौतिक संरचना अत्यन्तै जीर्ण अवस्थामा थिए । विद्यार्थीलाई ओत लाग्ने ठाउँ थिएन । हामीले संघीय, प्रदेश र स्थानीय सरकारको संयुक्त पहलमा ४३ वटा विद्यालय रहेको पालिकामा झण्डै ५१ वटा चारकोठे पक्की भवन निर्माण गरेका छौं ।

संघीय सरकारले हरेक स्थानीय तहमा ग्राम उद्योग स्थापना गर्ने भन्ने निर्णय गएको वर्ष गरेको थियो । हामीले त्यो भन्दा पहिले नै यो सोच बनाएर झण्डै ८० लाख बराबरको भवन बनाएका थियौं । अहिले त्यो संरचना निर्माण भएर गारमेन्ट उद्योग सञ्चालनमा ल्याएर १० जनालाई रोजगारी दिएका छौं । यी सबै काम गर्दा चुनौती पनि धेरै छन्, ती चुनौतीसँग लड्दै काम गरिरहेका छौं । त्यस्तै; हाम्रो पालिकाका नागरिकले उत्पादन गरेका सामग्री पालिकाभित्र खपत भएका बाहेकलाई अन्य पालिकातर्फ निर्यात गर्ने हो भने आर्थिक वृद्धिदर पनि बढ्छ र रोजगारीको पनि ग्यारेन्टी हुन्छ भन्ने उद्देश्यले यो कार्य सञ्चालन गर्ने योजनामा छौं । सिस्नो प्रशोधनको काम पनि शुरू गर्ने योजनामा छौं । जनताले उत्पादन गरेका कोदो, मकै, यहाँ फल्ने रातो चामल, तेजपत्ता, टिमुर लगायतका खाद्यान्न नागरिकबाट पालिकाले किनेर अन्यत्र निर्यात गर्ने योजना बनाएका छौं । टिमुर, बोजो लगायतका खेतीहरू पनि गर्ने योजनमा छौं । यसो गर्दा रोजगारी पनि सृजना हुने भयो र आयमूलक पनि हुने भयो । यसले पालिकाको आर्थिक वृद्धिदर पनि बढ्छ । यसरी हामीले ग्राम उद्योगको सोच राखेका छौं ।

धेरैजसो पालिकामा बजेटको अभावले काम रोकिएको गुनासो पनि आइराख्छ, तपाईंको पालिकामा के छ ?

मान्छे सन्तुष्ट हुने प्राणी नै होइन । अभाव त हुन्छ नै । अभावमै मान्छेको जिन्दगी अघि बढ्ने हो । जुन दिन अभाव हुँदैन, मान्छे सन्तुष्ट हुन्छ नि, त्यो दिन भनेको मृत्यु भएको दिन हो । त्यसैले म के भन्छु भने– पालिकामा पर्याप्त बजेट छैन यो साँचो कुरा हो । हामीले सोचेको कामलाई अघि बढाउन सकिंदैन यो पनि सत्य हो । तर, सकारात्मक कामहरू अगाडि बढाउनको लागि सकारात्मक सोच राख्यौं भने सम्भव छ । आर्थिक अभाव होइन, हाम्रो नकारात्मक सोचले नै यो समस्या भएको हो । सबै पालिकाका जनप्रतिनिधि एक ठाउँमा भयौं र नागरिकलाई बुझाउन सक्यौं भने पैसाको अभाव हुँदैन ।

यति गर्दागर्दै पनि रोकिएका काम केही छन् कि ?

केही काम हामीले भोट माग्ने वेला गरेको बाचाभन्दा बढी भएका छन् भने केही कुरा घोषणापत्रमा लेखिएका भए पनि पूरा हुनसकेका छैनन् । मैले चुनावमा हरेक जनताको घरदैलोमा पुगेर मत माग्दै गर्दा पहिलो कुरा रक्सी निषेधित पालिका घोषणा गर्नेछु भन्ने बाचा गरेको थिएँ तर सकिनँ । वडा नं. १, २, ३ र ६ लाई रक्सी निषेधित वडा घोषणा गरेर सिंगो पालिकालाई नै यस अन्तर्गत अघि बढाउन प्रयास गरेका थियौं । तर, पालिकाभित्रका केही जनप्रतिनिधि, बुद्धिजीवी लगायतको अवरोध/असहयोगका कारण यो काम गर्न सकेनौं । यो मैले अति नै चाहेर पनि गर्न नसकेको काम हो ।

यस्तै; सबै जनताको घरदैलोमा खानेपानी पुर्‍याउने उद्देश्यले ‘एक घर, एक धारा’ निर्माण गर्ने भनेका थियौं यो पनि पूरा गर्न सकेनौं । यद्यपि, वडा नं. १, २ र ८ मा भने बनाइसकेका छौं । वडा नं. ६ को एउटा टोलभन्दा बाहेकका टोलमा पनि बनाएका छौं । तर, अरू ठाउँमा यो बनाउन सकेनौं । तैपनि, हामी जुन दिनसम्म हुन्छौं त्यतिञ्जेलसम्म जनताको लागि काम गरि नै रहेनेछौं ।

अछाम जिल्लालाई धेरैले ‘छाउपडी समस्या’का रूपमा हेर्छन् । के छ तपाईंको पालिकामा यसको अवस्था ?

यो सबै ठाउँको समस्या हो । जो दिनभर यही विषयमा भाषण गर्नुहुन्छ उहाँकै घरमा यो समस्या काठमाडौंमा पनि छ ।

हाम्रो पालिकामा पहिलेको जस्तो अहिले छैन । हामीले हाम्रो पालिकाको सबै वडामा गएर, वडा अध्यक्षलाई अगाडि लगाएर, प्रशासनको सहयोगमा छाउगोठ भत्काउने काम गर्‍यौं । तर, जबसम्म हामी सोचलाई भत्काउन सक्दैनौं, तबसम्म भौतिक संरचना मात्र भत्काएर हुँदैन भन्ने निष्कर्षमा पुग्यौं ।

कुराकानीका क्रममा ।

पालिकालाई छाउपडी गोठमुक्त घोषणा गर्ने सोचेका पनि थियौं । त्यही अनुसार वडा नम्बर १, २ र ३ छाउपडी गोठमुक्त घोषणा भइसकेका पनि छन् । अन्य वडामा पनि घोषण गर्ने तयारीमा थियौं तर पूरा हुन सकेको छैन । यसमा म के भन्छु भने हाम्रा बुढापाकाहरूको सोच भत्काउन अलि चुनौती नै छ । युवाहरूको सोच भने परिवर्तन भइसकेको छ । यो भन्दा पहिले हामीले चेतनामूलक कार्यक्रम अघि बढायौं तर यतिले मात्र पर्याप्त भएन भन्ने अनुभव भएको छ । यद्यपि, छाउपडी समस्या पहिलेको भन्दा धेरै हटेको छ ।

पालिकामा यति काम गरिसक्दा, तपाईं आफ्नो कार्यकालको समीक्षा कसरी गर्नुहुन्छ ?

सन्तुष्ट त हामी पूर्ण रूपमा छैनौं । यद्यपि, हामीले गर्न खोजेका क्रियाकलाप जनताले मन पराइदिनुभएको छ । शुरूमा कर्मचारीदेखि जनप्रतिनिधिसम्म कसरी अघि बढ्ने, के काम गर्ने भन्ने अलमलमा थियौं । त्यतिखेर जनताले जति आशा गरेका थिए त्यति गर्न सकिएन होला । तर, पछिल्ला दिनमा भने हामीले लय समातेर काम गरिरहेका छौं ।

अबको योजना के छ ?

यो अहिले भन्न सकिंदैन । समय जसरी अगाडि बढ्छ, आफू पनि त्यही अनुसार अघि बढ्ने हो । यद्यपि, जुन पार्टीको आए पनि पालिकाको लागि सकारात्मक ढंगले हेर्ने, समग्र जनतालाई एउटै डालोबाट हेर्ने, पार्टीभन्दा माथि उठेर जनताको सेवा गर्ने जनप्रतिनिधि हामीले रोज्नु आवश्यक छ । यसका साथै, युवा खालको पनि रोज्नुपर्‍यो र शिक्षा पनि हुनुपर्‍यो ।

इन्द्रसरा खड्का

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

सोमबार, ८ कार्तिक, २०७८

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved