• शुक्रबार, ७ बैशाख, २०८१
  • १७:०४:१८
  • नेपालीको अभिमत

कारोबार

बडादशैंले राष्ट्रिय एकता र खुसी ल्याउने नेताहरुको अपेक्षा

नेपालमत

शुक्रबार, २९ असोज, २०७८

काठमाडौं - बडादशैंको अबसरमा राष्ट्रपती, प्रधानमन्त्री लगायत नेताहरुले शुभकामना दिँदै यो पर्वले नेपालीहरु वीच एकता, खुसी र उमंग ल्याउने विश्वास व्यक्त गरेका छन् ।

विद्यादेवी भण्डारी, राष्ट्रपति

स्वदेश र विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धिका साथै सबैमा बडा दशैंले नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास छ । वर्षाको हिलोमैलोपछि सुरम्य शरद् ऋतुमा मनाइने दसैँ पर्व शक्तिको उपासना, कृषि औजार तथा हतियारको पूजा गरी मनाइने नेपालीहरूको मौलिक सांस्कृतिक चाड हो । यस पर्वको कृषिप्रधान नेपाली समाजको जीवनपद्धतिसँग समेत अभिन्न सम्बन्ध रहेको छ”, सन्देशमा भनिएको छ, “यस प्रकारका चाडपर्वहरूबाट नेपाली समाजको मौलिक पहिचानका रूपमा रहेको जातीय, भाषिक, भौगोलिक, सामाजिक र सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास लिएको छु ।

नन्दबहादुर पुन, उपराष्ट्रपति

समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न बडादसैँले सबैलाई प्रेरित गर्ने छ । हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भागौलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र हो । हाम्रो देश विविधतायुक्त भाषा, धर्म, संस्कार–संस्कृतिले अत्यन्त भरिपूर्ण छ । संविधानले सबै धार्भिक, सांस्कृतिक, भाषिक समुदायलाई आफ्नो धर्म, संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गर्न पाउने अधिकार प्रत्याभूत गरेको छ । बडादसैँले राजनीतिक स्थायित्व, संविधानको पालन, दिगो विकास, राष्ट्रिय एकता, आर्थिक सामाजिक रूपान्तरणसहितको समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न सबैलाई प्रेरित गर्ने अपेक्षा लिएको छु ।

शेरबहादुर देउवा, प्रधानमन्त्री

बडादसैँलगायतका सांस्कृतिक पर्वहरूले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्‍याउँदै आएका छन् । विविधतायुक्त विशेषताबीचको एकता हाम्रो मौलिक पहिचान भएकाले सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताको संरक्षण र विकास गर्नु साझा दायित्व हो । यसले हाम्रा मूल्य, मान्यता र संस्कारहरूलाई थप बलियो बनाउन सक्छ भन्ने मेरो गहिरो विश्वास छ । यस समयमा बडादसैँ पर्व मनाइरहँदा स्वास्थ्यका मापदण्डहरूलाई पूर्णरूपमा पालना गर्दै आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विकास गर्ने अवसरकार रूपमा मनाउन म सम्पूर्ण नेपालीमा विशेष अनुरोध गर्न चाहन्छु ।

पुष्पकमल दाहाल, अध्यक्ष, नेकपा (माओवादी केन्द्र)

दसैँ, तिहार, नेपाल सम्वत् र छठलगायतका चाडपर्वको अवसरमा हार्दिक मङ्गलमय शुभकामना छ । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक नेपालमा विभिन्न पर्वका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्य छन्, यिनै आफ्नै पहिचानयुक्त सांस्कृतिक धरोहरका कारण नेपाल आदिकालदेखि नै स्वतन्त्र, अविभाज्य र एकताबद्ध राष्ट्र बन्न सफल भएको हो । कोरोना भाइरसका कारण अझै सहजरूपमा चाडपर्व मनाउने अवस्था नभएको सन्दर्भमा स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डको पालना गरी चाडपर्व मनाउन सबैमा अपिल गर्दै पुनःएकपटक सु–स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

 

 

 

 

 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved