• शनिबार, ८ बैशाख, २०८१
  • ०६:४५:१८
  • नेपालीको अभिमत

अभिमत / ब्लग

आमा विनाको दशैँ के दशैँ !

इन्द्रसरा खड्का

बिहीबार, २८ असोज, २०७८

सैँ मनाउन स्वदेशमात्र हैन परदेशमा हुनेहरु पनि घर फर्किसके, कोही फर्कने तयारीमा होलान् ।

वर्षदिनको एक पटक आउने यो चाडमा सकेसम्म गाउँ फर्कनेहरु धेरै हुन्छन् । हुन त हरेक चाड वर्षको एक दिनमा नै आउँछन् । तर, दसैँ जस्तै अरु चाड बिशेष लाग्दैन र, हुँदैनन् पनि । यो बेला पढाइको सिलसिलामा विभिन्न शहरबजारमा गएकाहरु, मजदुरी गर्न भारत गएकाहरु गाउँ फर्कदा आहा कस्तो रमाइलो भएको होला । एकातिर धान भित्र्याउन कामको चटारो अर्कोतिर दसैँको रौनक आहा !

धेरै वर्षपछि छोरा बिदेशबाट आउँदा तल्लाघरे आमा खुसी भएकी होलिन् । पेटभरी खान, छोराछोरी पाल्न मुग्लान पसेका दाइ आउँदा माथ्लाघरे भाउजु मक्ख परेकी होलिन् । पढाइका लागि काठमाडौं पसेका छोराछोरी घर पुग्दा गाउँका काकाकाकी दंग परेका होलान् ।

सबैजना खुसी होलान् । गाउँघरको रौनक फरक भएको होला । वर्षौंपछि आफन्त घर फर्कदा यसै रमाइलो, उसै रमाइलो ।

मेरी आमा पनि भइदिएको भए यसै गरी दंग हुन्थिन् होला ।

कहिले आउँछौ तिमीहरु ? सबैजना घर पुगिसके, फोन गरेर भन्थिन् होला । हामी सबैजना दिदीभाइ काठमाडौंमा बस्छौँ । यतै पढ्छौँ । यतै काम गर्छौं । सुन्य त्यो घर, जहाँ महिला हुँदैनन् त्यो घरमा के खुसी, के रौनक । आमा बिनाको झुप्रोमा बसेका सानो भाइ र बुवामात्र । हुन त मेरा बालाई पनि छोराछोरी आउने आशामा त्यती नै खुसी लागेको होला । हाम्रो साने, मेरो कान्छो भाइ उसलाई दाइदिदी आउने आशाले मख्ख परेको होला । तर, आमा बिनाको त्यो घरमा पस्न मलाई भने खुसी छैन ।

दसैँ, खुसी र दशा आएको महिना हो मेरो लागि असोज महिना । हरेक वर्ष प्राय दसैँ हुने महिना असोज, हाम्री आमा हामीलाई सदाको लागि छोडेर गएको महिना असोज । अनि म जन्मिएको महिना असोज । मेरो जीवनमा खुसी हुन पनि र दुखी हुन पनि असोज नै भागमा परेछ । न म दुख र सुखको हिसाव लाउन सक्छु । त्यसैले मेरा लागि असोज के हो छुट्याउने तागत पनि छैन मसँग ।

दसैँ आयो घर जाने हैन ? घर जाँदासँगै जानुपर्छ है ? अनि, टिकट काटिसक्यौ ? टिकट पाउन कस्तो गाह्रो छ । आजभोली साथीभाइ आफन्तहरु भेटिदा सबैभन्दा पहिले गरिने कुराकानी यिनै हुन् । नहोस् पनि किन, आखिर सबैलाई दसैँ जो आएको छ ।

बारीमा झुलेका लहलह धानका वाला, बारीमा ढकमक्क फुलेको मखमलीले झनै दसैँको रौनक देखाउँछ । अझ अहिले काठमाडांैका बसपार्कमा टिकट काट्नेहरुको लाइन घर फर्कनेहरुको भिडले पनि दसैँ आएको आफै बताउँछन् ।

तर, यो मन पहिले जस्तै दसैँ भनेसी फुरुङ्ग हुन नसक्ने भएको छ । कहिले काँही त लाग्छ किन आउँछ दसैँ ? दसैँ आउन एक महिना पहिले नै खुसीले नाच्ने यो मन, जहाँ भएपनि घर फर्कने यो तन, आमाको यादमा रस न रंङ्गको भएको छ ।

बालापन सम्झाइदिने, गाउँघर सम्झाइदिने, अतित् सम्झाइदिने यो दसैँ, पीडालाई पनि सँगै ल्याएर थम्याइदिन्छ । अरु चाडबाड आउँदा त्यति याद आउँदैन । खोई किन दसैँले त गाउँ घर, परिवार, आफन्त सबै कुरा सम्झाइदिन्छ । एउटा सन्तानलाई आमाको अभावमा हरेक चाडबाड नरमाइलो नै हुन्छ । मनभित्रको पीडा र आमा नहुँदाका चाडबाड कति खल्लो हुन्छ उसलाई मात्र थाहा हुन्छ, जसको हुँदैन ।

हुन त सबैले सोचेको, चाहेको कहाँ हुन्छ र जीवनमा ? त्यस्तो व्यक्ति विरलै होलान् जसलाई कुनै पीडा छैन । भनिन्छ, हाँसो, आँसु, मिलन, बिछोड, खुसी, रोदनहरुको समिश्रण नै जीन्दगी हो । हरेकसँग दुःख सुखका कथा हुन्छन् । सहेर अघि बढ्नुको विकल्प हुँदैन ।

दसैँले विगत सम्झायो, विगतले आमा सम्झायो । आमाले गाउँघर सम्झायो । सम्झना नै त रहेछ सबैकुरा । उमेर बढ्दै जिम्मेवारी थपिदै जाँदा खुसीहरु पनि हराउँदै जान्छ कि जस्तो, खोई कस्तो कस्तो ।

अछाम त्यसै पनि विकट । अछामको पनि विकट गाउँ शोडषा । गाउँका महिलालाई जहिले कामको चटारो । विहान उठेर दाउरा स्याउला, घरको काम । खाना खान समेत कहाँ फुर्सद हुन्छ र ? आमालाई पनि जहिले यस्तै कामको हतारो हुन्थ्यो ।

दुधे बालकलाई घरमै छोडी दिनभर काम गर्दाको परिणाम मेरी आमालाई स्तन क्यान्सर भयो । दुध बच्चाले खान नपाउँदा भित्रभित्रै गानियो । छाती चेप्दै काम गर्दै गरेकी आमालाई के थाहा बच्चालाई दुध नचुसाउँदा यस्तोसम्म हुन्छ भन्ने ।

सुरुमा दुधको नाील थुनियो, छाती दुख्न थाल्यो । गाउँमा विष भयो भन्दै जडीबुटी तिर लागे । तर, के थाहा भित्रभित्र क्यान्सर भइसकेको रहेछ । सुरुमा थाहै भएन । थाहा पाइसक्दा ढिलो भइसकेको थियो । छोराछोरीलाई नियमित दुध चुसाउनुपर्छ भन्ने थाहा नपाउँदा, स्तन क्यान्सरबारे थाहा नपाउँदा ३३ वर्षको कलिलो उमेरमा आमाले ज्यान गुमाउनु पर्यो ।

अहो ! १० वर्ष भइसके छ, आमाबिनाको दसैँ मनाउन थालेको । वैंशमै आमालाई दैवले चुड्यो । अब त मेरो साने (कान्छो भाइ) ठूलो भइसक्यो । जति मलाई आमा नहुँदा चाडबाड खल्लो लाग्छ, उसलाई दसँैमा हामी घर नआउँदा उस्तै खल्लोे लाग्छ ।

उसलाई थाहा छैन । आमा नहुँदाको दुःख । हुन त बेला बेला भन्छ, हाम्री आमा कस्ती थिइन् है दिदी । जसलाई आमाको अनुहारको सम्झना समेत छैन । उसले आमालाई सोध्दा मसँग जवाफ हुँदैन । हुन त ढिलोचाँडो एकदिन सबैले त्यही बाटो जानु छ । तर पनि मनै त हो, कहाँ मान्दो रहेछ र !

दसैँमा छोराछोरी आउँदा आमा खुसी होउन्, आमाले पकाएको मिठोमसिनो छोराछोरीले खान पाउन्, आमाको मनको कुरा छोराछोरीले, छोराछोरीको कुरा आमाबुवाले सुन्न पाउन् । यो पो रमाइलो, यस्तो पो खुसी । तव पो दसैँ, नत्र के को दसैँ !

दसैँमा जति आमाबुवा भाइवहिनी हुँदाको रमाइलो हुन्छ नि, त्यो खुसीसँगै मिसीनुहुन्थ्यो हाम्रा ‘आबा’ (लुगा सिलाउने दर्जी) हामी लुगा सिउने दमाइलाई आबा र उहाँकी श्रीमतीलाई दमेनीआमा भन्थ्यौँ । उहाँहरुले हामीलाई रौतेला, रौतेली भन्नुहुन्थ्यो । अछामतिर प्राय सबै ठाउँमा यही चलन थियो । कतिपय ठाउँमा अहिले पनि छ ।

बाले किनेर ल्याएका लुगा दसैँ अघि नै तयार पारी सक्नुपर्दथ्यो । लुगा ल्याउने बित्तिकै दौडिदै आबालाई बोलाउनु जान्थ्यौँ । खबर पाउने बित्तिकै आबा कानमा मेसिन बोक्दै आउँथे । आबासँग अहिलेको जस्तो खुट्टाले चलाउने मेसिन थिएन । सानो हातले चलाउने मेसिन थियो । साथमा दमेनी आमा पनि आउँथिन् ।

आमाले आँगनमा ओच्छ्याएको पालमा आबा टुसुक्क बस्थे र दिनभरी आबाले दसैँको लुगा, आमाले लगाउने चोली तयार गर्थे । दमेनी आमा आबाले सिलाएको लुगामा टाँक, लगाउने, आइरन लगाउने गर्थिन् । साँझ जब लुगा तयार हुन्थे, अनि लगाउँदै मेरो दसैँको लुगा भन्दै साथीहरुलाई देखाउन जान्थ्यौं । यस्तै काम गरेवापत वर्षभरी आबाहरुलाई खलोदिने चलन थियो । अहिले भने यो चलन विस्तारै हट्दै छ ।

दसैँ आउनु अगावै, भान्छा पाक्ने सरसामानहरु जोडजाम गर्न बालाई हतार, आमालाई ओखलीमुसली गर्न हतार अनी, हामी भाइबहिनीलाई घर रंङ्गाउन रातोमाटो, कमेरो जोरजामको हतार । काम बढी भए पनि दसैँ आउने हर्षले भोकथकाइ आफै भाग्थ्यो ।

घरमा दसैँमा बोका काट्ने । नयाँ लुगा ल्याइदिने । दसैँ त मेरै लागि आएको हो जस्तो लाग्थ्यो ।

त्यस्तो दसैँ पो दसैँ, यस्ताे दसैं त के दसैँ ! आमा विनाको दसैँ त के दसैँ !

 

इन्द्रसरा खड्का

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

बिहीबार, २८ असोज, २०७८

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    ज्योतिषीय नजरमा नयाँ वर्ष २०८१

    ज्योतिष दर्शनका आधारमा खगोलीय मण्डललाई  काल्पनिक रूपमा प्रत्येक ३० डिग्री को फरकमा पर्ने गरी १२ भागमा विभाजन गरिएको छ । यसको पूर्ण परिक्रमा ३६० डिग्री...

  • नेपालमत

    नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा

    नेपाली कांग्रेस जनतालाई अधिकार सम्पन्न बनाउने आधुनिक इतिहासका सबै प्रमुख राजनीतिक आन्दोलन र रुपान्तरणको नेतृत्व गरेको मुलुकको प्रमुख दल हो । बीपी कोइराला, सुवर्ण शमशेर,...

  • नेपालमत

    आर्मीले भन्यो खुट्टासुट्टा भाँचिएला नि !

    १९ माघ २०६१ । रेडियोहरूका लागि समाचार र कार्यक्रम उत्पादन गर्ने संस्था ‘कम्युनिकेशन कर्नर’मा काम गर्थें । मेरो ‘डिउटी’ दिउसो दुईदेखि राति दश बजेसम्मको ‘इभिनिङ सिफ्ट’मा...

  • नेपालमत

    'प्राचीन नेपालले इतिहासको नयाँ र शानदार अध्याय लेख्‍नै बाँकी छ'

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको उपलब्धिका सारसङ्ग्रह प्रस्तुत गर्दै आगामी दिनमा कार्यशैली परिवर्तनसहित जनतामा आशा जगाउने र परिणाम दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री...

  • नेपालमत

    एफएम रेडियोमा कानुनको घनचक्कर

    नेपालका एफएम रेडियोहरु कानुनी जंजालमा जेरी झैं जेलिएका छन् । ऐन नियमहरुको जालोमा छन् रेडियोहरु । स्थायी सरकार मानिने कर्मचारीतन्त्रको परम्परागत सोँचका कारण यस्तो अवस्था...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved