• सोमबार, १ कार्तिक, २०७८
  • १२:४७:३६

नेपालगञ्जमा ४ जनाको मृत्यु भएपछि मुगु दुर्घटनामा मृतकको संख्या ३२ पुग्यो, २४ जनाको सनाखत

  • नेपालमत
  • बुधबार, २७ असोज, २०७८- ११:०१:००/ Wednesday 10-13-21

नेपालगञ्ज- मुगुमा मंगलबार बस दुर्घटनामा पर्दा घाइते भएका मध्ये ४ जनाको नेपालगञ्जमा मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

मृतक मध्ये २४ जनाको सनाखत भएको छ ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थलमा र ४ जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा २२ जना पुरुष र १० जना महिला छन्।

नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी गइरहेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार मुगुको छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा दुर्घटनामा परेको थियो।

जिल्ला प्रहरी कार्यालय मुगुले मृतक मध्ये २४ जनाको सनाखत भएको जनाएको छ ।

जसअनुसार दुर्घटनामा परी छायाँनाथ रारा नगरपालिका वडा नम्बर १ की २३ वर्षीया चन्द्रा मल्ल, वडा नम्बर ६ की १९ वर्षीया राममाया धामी,७ की १९ वर्षीया लग्न सेजुवाल, उनका २ वर्षीय छोरा, २१ वर्षीया अमृता शाही राणा, ५ वर्षीय आयुष राणा, २२ वर्षीय महेन्द्र शाही र २० वर्षीया मनदेवी बमको मृत्यु भएको छ ।

घटनामा परी सोही नगरपालिका वडा ५ का २९ वर्षीय अजय कार्की र ३२ वर्षीया कमला बीसी राउतको ज्यान गएको छ ।

त्यस्तै वडा नम्बर १० की १८ वर्षीया पूजा बुढा, वडा नम्बर ८ की ३३ वर्षीया प्यारी विक , ३५ वर्षीय दानबहादुर रावल र २२ वर्षीय सन्तोष बिकालु, २० वर्षीया सरिता खड्का, १८ वर्षीय अमर साउद र २२ वर्षीय सुनबहादुर विकको मृत्यु भएको छ ।

वडा नम्बर १२ का २२ वर्षीय छाता साउद, वडा नम्बर १४ का २२ वर्षीय कर्णसिंह बुढा, १९ वर्षीय शिव बुढा र २० वर्षीय रुपसिंह कार्की,  वडा नम्बर ११ का २२ वर्षीय प्रकाश बुढाको मृत्यु भएको छ ।

दुर्घटनामा मुगुको सोरु गाउँपालिका ३ का २५ वर्षीय मनरुप कुमाल र बाँके जिल्लाका २२ वर्षीय प्रदीप स्वर्णकारको पनि ज्यान गएको छ ।

दुर्घटनामा ज्यान गुमाएका अन्यको भने पहिचान थाहा पाउन प्रयास भैरहेको प्रहरीले जनाएको छ।


 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई nepalmatnews@gmail.com मा इमेल पठाउनु होला।