• बिहीबार, १३ बैशाख, २०८१
  • १२:५३:५७
  • नेपालीको अभिमत

प्रविधि

‘फेसबुकले बालबालिका बिगार्‍यो  र प्रजातन्त्रलाई कमजोर बनायो’

नेपालमत

बुधबार, २० असोज, २०७८

काठमाडौं–फेसबुकले बालबालिका बिगारेको र प्रजातन्त्रलाई कमजोर बनाएको फेसबुकमा प्रडक्ट म्यानेजरकी रूपमा काम गरेकी ३७ वर्षीया फ्रान्सिस हाउगनले बताएकी छिन् ।

फेसबुककी एक पूर्वकर्मचारीले उक्त प्रविधि कम्पनीका वेबसाइट र एपहरूले ‘बालबालिकालाई हानि पुर्‍याउने, विभाजनहरूलाई बढाउने र प्रजातन्त्रलाई कमजोर बनाउने अमेरिकी विधायकहरूसँग बताएकी हुन् ।

उनले त्यसबारे जान्दाजान्दै पनि कम्पनीका वरिष्ठ कर्मचारीहरूले मुनाफालाई प्राथमिकतामा राखेको बताइन् । र, उनले अमेरिकी संसद् रहेको क्यापिटल हिलमा समेत त्यस विषयमै आलोचनात्मक बयान दिइन् ।

यता फेसबुकले भने श्रीमती हाउगनले आफ्नो ज्ञान नभएको क्षेत्रबारे बोलेको प्रतिक्रिया दिँदै आफ्ना सुरक्षाको अवस्थाको बचाउ गरेको छ । तर उसले एक विज्ञप्तिमार्फत् अब इन्टरनेटमा परिष्कृत नियमहरू ल्याउने समय आएको स्वीकारेको छ ।

मङ्गलवारको सुनुवाइका बेला रिपब्लिकन र डेमोक्र्याट सांसद्हरू उक्त कम्पनीमा परिवर्तन आवश्यक रहेको भन्ने विषयमा दुर्लभ रूपमा एकै ठाउँमा देखिएका थिए । उक्त विशाल प्रविधि कम्पनीमाथि छानबिन र नियमनको बढ्दो माग भइरहेका बेला यी अभिव्यक्तिहरू सार्वजनिक भइरहेका छन् ।

२‍‍.७ अर्ब मासिक सक्रिय प्रयोगकर्ता रहेको फेसबुक विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल हो । करोडौँ प्रयोगकर्ता सोही कम्पनीकै ह्वाट्सएप र इन्स्टाग्रामजस्ता अन्य उत्पादन चलाउँछन् ।

तर फेसबुक कम्पनीमाथि प्रयोगकर्ताका गोपनीयता संरक्षण गर्नेदेखि गलत सूचना प्रवाह रोक्न पर्याप्त काम नगरेको भन्दै आलोचना हुने गरेको छ । हाउगनले फेसबुक आफै नसुध्रिने भन्दै अमेरिकी संसद् कङ्ग्रेसको हस्तक्षेप आवश्यक रहेको बताइन् ।

हाउगनले पछिल्ला साताहरूमा फेसबुकका कैयौँ गोप्य दस्तावेज द वालस्ट्रीट जर्नल पत्रिकालाई दिएकी थिइन् । बिबिसी नेपाली सेवा

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved