• बुधबार, १२ बैशाख, २०८१
  • ०४:५४:१९
  • नेपालीको अभिमत

फिचर

...अनि घर छोडेर हिंडें

नेपालमत

बुधबार, १६ भदौ, २०७८

रिवार, समाजसँग त भागेर आएँ । तर, यहाँ भागेर होइन डटेर संघर्ष गर्नुछ, गरिरहेकी छु । एकातिर पढाइ, अर्कोतिर खान–बस्न गुजारा गर्नैपर्‍यो । गाउँमा हुँदा बजार नदेखेकी म ५ वर्ष बढी भयो शहरमा एक्लै संघर्ष गर्दैछु । एक वर्ष माइती नेपालमा बसें । खान–बस्नदेखि पढाइमा समेत माइती नेपालले सहयोग गर्‍यो । तर, कतिञ्जेल अरूको सहयोगमा बस्नु ? यही सोचेर त्यहाँबाट निस्कें ।

अहिले काम गर्दै, पढ्दै गरिरहेको छु । काठमाडौंमा सोचेजस्तो, चाहेजस्तो नहुने रहेछ । काम पाउनै मुश्किल । पाइहाल्यो भने पनि, पैसा नहुने । राम्रो जागिरको लागि राम्रै पढेलेखेको हुनुपर्‍यो ।

मेरो घर वीरगञ्ज हो । म अहिले २४ वर्षकी भएँ । १७ वर्षको उमेरमा घर छोडेर हिंडें । जबकि यो उमेर अरू वेलाभन्दा बढी अभिभावकको आवश्यकता पर्ने उमेर हो । घर छोड्नुको कारण थियो– विवाह । म मधेसी समुदायकी छोरी हुँ । हाम्रो समुदायमा धेरै ढिला गरे १५ वर्ष नभए १२/१३ वर्षमै छोरीको बिहे गरिसक्नुपर्छ भन्ने मान्यता छ ।

कक्षा ५ मा हुँदा चलेको बिहेको कुरा त जसोतसो टारें । कक्षा ६ मा पुगेपछि फेरि कुरा चल्यो । त्यसपछि हरेक वर्ष, महिना बिहेकै कुरा चल्न थाल्यो । मलाई बिहे गर्नै मन थिएन । यसबाट छुटकारा पाउन मैले घर छोड्नै पर्थ्यो ।

बुवा फर्निचरमा काम गर्नुहुन्छ । आमाको काँधमा घर र बारीको जिम्मा । मेरो एक भाइ र दुई बहिनी छन् । म कक्षा ५ मा पढ्थें । घरमा बिहेको कुरा चल्यो । मलाई सानैमा बिहे गर्न मन थिएन । “सानो उमेरमा बिहे गर्दा कम दाइजो दिए पनि पुग्छ । छोरीको उमेर जति बढ्दै गयो, पछि त्यति नै धेरै दाइजो चाहिन्छ,” बुवाआमाले भन्नुहुन्थ्यो ।

वीरगञ्जमा अहिले पनि मागेजति दाइजो दिनुपर्छ । मैले सानैबाट यस्ता कुरा सुन्दै आएकी थिएँ । पढा–लेखाहरू पनि दाइजोको कुरा गरिरहेका हुन्छन् । दाइजो लिइरहेका छन् । मलाई सानैदेखि यस्तो कुरा मन पर्दैन्थ्यो । यस्ता कुराको विरोध गर्न मन लाग्थ्यो । हुर्कंदै जाँदा दाइजोकै कारण दिदीबहिनीहरूले ज्यान गुमाउनुपरेको देखें । यस्तो देखेपछि मनमा दाइजो विरोधी भावना अझ मडारिन थाल्यो । मैले यस्तो सोच्नु समाज, परिवार र आफ्नै लागि पनि राम्रो थिएन । यो सब थाहा हुँदाहुँदै मैले आवाज उठाएँ ।

सानै छँदा आमाले भन्नुभएको थियो- छोरी भएर धेरै बोल्नु हुँदैन, आमाबुवाले जे भन्यो त्यही मान्नुपर्छ । तर, मलाई आमाको यो कुरा पटक्कै मन पर्दैनथ्यो । कक्षा ५ मा हुँदा चलेको बिहेको कुरा त जसोतसो टारें । कक्षा ६ मा पुगेपछि फेरि कुरा चल्यो । त्यसपछि हरेक वर्ष, महिना बिहेकै कुरा चल्न थाल्यो । मलाई बिहे गर्नै मन थिएन । यसबाट छुटकारा पाउन मैले घर छोड्नैपर्थ्यो ।

घरभित्रै थुनामा

मैले बिहे गर्न नमान्दा आमाबुवाले दिनहुँ गाली गर्न थाल्नुभयो । गाली मात्र होइन, विद्यालय जान पनि दिनुभएन । कुटपिट समेत गर्न थाल्नुभयो । आफ्नै आमाबुवाबाट यस्तो व्यवहार हुँदा मलाई अति नै नरमाइलो लाग्यो । ठूलो बुवाको मसँगैकी छोरीको बिहे भइसकेको थियो । ‘बिहे गर्न नमान्ने छोरी बदमास हुन्’ भन्दै मलाई ठूलो बुवाले बेस्सरी पिट्नुभयो ।

बिहे नगर्ने, आमाबुवाले भनेको नसुन्ने भन्दै कोठाभित्र थुनेर पिट्नुभयो । ४ दिनसम्म कोठाभित्रै थुनेर राखियो । ‘बिहे नगरे परिवारको बेइज्जत हुने’ भन्दै विष दिएर खान भनियो । तर, मैले खाइनँ । मलाई त जसरी हुन्छ पढ्न मन थियो, विष खाएर मर्न मन थिएन । त्यो विष मिल्काइदिएँ । आमाले पनि ठूलोबुवा र गाउँलेहरूको कुरा सुन्नुहुन्थ्यो । बा–आमा र घरमै यस्तो व्यवहार भएपछि त्यो घरमा बस्नै मन लागेन ।

कसैले सहयोग गरेन

म न्यायको खोजीमा लागें । धेरै पत्रकार, महिला अधिकारकर्मीलाई भेटें तर कहीं कतैबाट न्याय पाइनँ । समाजबारे बोल्छु, लेख्छु भन्नेहरूबाट नै सहयोग नपाउँदा नरमाइलो लाग्यो । म आफ्नो समस्या लिएर प्रहरीकहाँ पनि गएँ । प्रहरीले उजुरी माग्यो । मलाई उजुरी गरेर आमाबुवालाई पक्राउ गर्ने मन थिएन । मलाई त घरमै बसेर पढ्ने वातावरण मात्र चाहिएको थियो ।

नाम बिर्सें । त्यतिखेरको एसपी सर हुनुहुन्थ्यो, मेरो कुरा सुनेपछि उहाँ विना बर्दी हाम्रो घरमा पुग्नुभयो । आमाबुवासँग कुरा गर्नुभयो । तर, बुवाले कसरी थाहा पाइसक्नुभएछ, उहाँ प्रहरी हो भन्ने । मलाई फेरि गाली गर्नुभयो । घरमा बस्न सक्ने वातावरण नभएपछि म वीरगञ्जमै रहेको माइती नेपालमा बसें । करिब ९ महिना बसेपछि मलाई वीरगञ्ज बस्न मन नै लागेन । अनि माइती नेपालकै सहयोगमा २०७२ सालमा काठमाडौं आएँ । ७ वर्ष भयो मैले घर छोडेर हिंडेको ।

मधेसी भन्दै हेप्दा

मैले हिम्मत कहिल्यै हारिनँ । जस्तो समय आउँछ सामना गर्छु भन्ने आँट सानैबाट थियो । अहिले पनि छ । माइती नेपालबाट निस्केपछि म बानेश्वरमा रहेको होस्टेलमा बसें । त्यहाँ बस्न मासिक ७ हजार तिर्नुपर्थ्यो । यसका लागि मैले काम खोज्नुपर्‍यो । काम सजिलै नपाउने । एक ठाउँमा काम फेला पारें– रिसेप्सनमा । तलब ७ हजार थियो । म काली छु, बोल्दा आफ्नै लवज आउँछ । तर, नेपाली नै बोल्छु । मलाई सोध्नेहरूले ‘नेपाली कि मधेसी ?’ भनेर सोध्छन् । कस्तो अप्ठेरो प्रश्न ! उनीहरूलाई मैले कसरी बुझाऊँ– म नेपाली हुँ र मधेसी पनि हुँ भनेर !

त्यतिवेला बाआमादेखि साह्रै मन दुखेको थियो । लाग्थ्यो– अब त्यो गाउँ फर्केर जानु छैन । ती आमाबुवाको माया पनि मारिदिऊँ । तर, अहिले बुझ्दै जाँदा यसमा आमाबुवा, ठूलोबुवाको कुनै दोष देख्दिनँ । दोष त केवल हाम्रो समाजको थियो । सोचको थियो ।

गाउँमा गएर चेतना दिनुछ

त्यतिवेला बाआमादेखि साह्रै मन दुखेको थियो । लाग्थ्यो– अब त्यो गाउँ फर्केर जानु छैन । ती आमाबुवाको माया पनि मारिदिऊँ । तर, अहिले बुझ्दै जाँदा यसमा आमाबुवा, ठूलोबुवाको कुनै दोष देख्दिनँ । दोष त केवल हाम्रो समाजको थियो । सोचको थियो । त्यही समाजमा जन्मेका, हुर्केका अनपढ मेरा बाआमाले त्यो भन्दा पर सोच्न पनि सक्दैन थिए । अब मलाई मास्टर्स सकेर गाउँमै फर्कन मन छ ।

बिहे मात्र सबै कुरा होइन । छोरीले पनि केही गर्न सक्छन् भन्ने देखाउनुछ । बालविवाह र दाइजोबारे बाआमाजस्तै गाउँलेहरूलाई पनि बुझाउन मन छ । यो कुरीति विरुद्ध आवाज उठाउन मन छ । पढीलेखी भविष्यमा केही गर्न मन भएका म जस्तै दिदीबहिनीहरूलाई बाटो देखाउन मन छ । अब मलाई मेरै गाउँ फर्किन मन छ ।

(इन्द्रसरा खड्कासँगको कुराकानीमा आधारित)

  • सामाजिक सुरक्षाका कारण परिचय, पूरा ठेगाना र तस्वीर गोप्य राखिएको छ । -सम्पादक

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved